२०८१ असार २६ गते १७:१४ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
वि.सं २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । समीक्षा अवधिमा विदेशी मुद्रा २७.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति जेठसम्म १४ अर्ब ७२ करोड पुगेको छ । गत २०८० असारसम्म ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ कायम छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.