काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

  २०८१ असार १० गते १८:५४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरिन् ।

महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी  १ अर्ब ५० करोड रुपैयाँ रहेको बजेट प्रस्तु गर्दै उपप्रमुख डंगोलले बताइन् ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ०.७९ प्रतिशत हो ।

यस्तै, कार्यालय सञ्चालन र प्रशासन सञ्चालनका लागि १४.४४ प्रतिशत अर्थात् ३ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।