डा. अर्याल पद मुक्त, बहालवाला मुख्यसचिव निलम्बनमा परेको पहिलो घटना

  २०८१ असार ९ गते १६:५८     विकासन्युज

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्याललगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्स सेल्स प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मा लगायतविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

उनीहरुविरुद्द मुद्दा दायर भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः निलम्बनमा परेका हुन् । कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्तो राष्ट्र सेवक सो मुद्दा किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ । यही व्यवस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा १७ मा समेत उल्लेख छ ।

बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो पहिलो घटना हो । उनी निलम्बनमा परेपछि वरियताका आधारमा लिलादेवी गट्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएकी छन् ।