मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता, निलम्बन गरेर गड्तौलालाई जिम्मेवारी दिइँदै

  २०८१ असार ९ गते १५:५४     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो  । जसअनुसार अन्तशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो ।

प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्ने गरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।

उनीविरुद्द भ्रष्टाचारको मुद्दा दर्ता भएपछि सरकारले उनलाई निलम्बन गरेर लिलादेवी गट्तौलालाई मुख्यसचिवको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.