भ्रूणमा गैरकानुनी कारोबार

  २०८१ असार २ गते २०:०८     इन्द्रसरा खड्का

काठमाडौं । हरेक दम्पतीलाई सन्तानको रहर हुन्छ । जब दम्पती आफू आमाबुवा बन्छन्, तब आफ्नो दाम्पत्य जीवन सुखमय बनेको अनुभव हुन्छ । एक समय यस्तो थियो, जुनबेला प्राकृतिक रूपमा मात्र दम्पतीले बच्चा जन्माउन सक्थे । यदि बच्चा भएन भने महिलामा दोष थुपारिन्थ्यो । महिला आफैं पनि भाग्यलाई सराप्दै आँसु बगाउनुको विकल्प हुन्थेन ।

तर, आजभोलि प्रविधिले यस्तो बनाइदियो कि प्राकृतिक बाहेक अन्य विकल्पबाट पनि बच्चा जन्माउन सकिन्छ । यस्तै, एउटा प्रविधि हो इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) अर्थात ट्स्ट्युवेवी ।

विश्वभर धेरै दम्पतीले यो प्रविधिबाट पनि बच्चा जन्माएर आमाबुवा बन्ने अवसर पाइरहेका छन् । नेपालमा पनि आजभोलि स्वाथ्य क्षेत्रमा यो व्यवसाय निकै फस्टाएको छ । आजभोलि काठमाडौंका गल्लीगल्लीमा आईभीएफ सेवा दिन अस्पताल अथवा क्लिनिकहरू खाेलिएका छन्

यसरी देखिने सबै इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) भने आधिकारिक होइनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र १५ वटा क्लिनिक/अस्पतालले यो सेवा सञ्चालनको लागि अनुमति लिएका छन् । तर, उपत्यका मात्र होइन उपत्यका बाहिरका अन्य सहरमा पनि छ्याप्छप्ती आईभीएफ सञ्चालनमा आइरहेका छन् ।

यसमा सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन । स्वास्थ्य सम्बन्धी कुनैपनि व्यवसाय अथवा कम्पनी दर्ता गर्दा स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्छ । तर, कतिपय स्वाथ्य व्यवासायीहरूले भने मनोमानी रुपमा संस्था सञ्चालन गरिरहेका छन् । यसले आम सेवाग्राहीमाथि जोखिम निम्त्याइरहेको छ । सेवाग्राहीमाथि खेलवाड भइरहेको छ ।

गैरकानूनी आईभीएफ सेन्टर

कुनै पनि संस्था वा कम्पनी सञ्चालन गर्दा दर्ता गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा अझ बढी संवेदनशील रहनुपर्छ । तर, पछिल्लो सयम दम्पतीहरूमा देखिएको बाँझोपन समस्या समाधानका लागि भन्दै  सञ्चालन भइरहेका आईभीएफ सेन्टर भने गैर कानूनी किसिमले सञ्चालन भइरहेका छन् ।

काठमाडौं उपत्यकामा तपाईंले देखेका सबै आईभीएफ सेन्टर आधिकारिक होइनन् । स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना सञ्चालनमा आएका आईभीएफ कानुन विपरित मानिन्छ । यस्ता आईभीएफमा गुणस्तरीयतामाथि अहिले सर्वत्र बहस हुन थालेको छ ।

यी हुन् अनुमति लिएका आईभीएफ सेन्टर

स्वास्थ्य मन्त्रालयका अनुसार १५ वटा संस्थाले अनुमति लिएका छन् । अनुमती लिएर सञ्चालनमा रहेका आईभीएफ सेन्टरमा हार्दिक आईभीएफ, नेश्नल आईभीएफ जमल, सुभश्री आईभीएफ प्रा.लि काठमाडौं, इन्दिरा आइभीएफ सेन्टर, काठमाडौं फर्टिलिटी सेन्टर काठमाडाैं, होप फिर्टलिटी सेन्टर बबरमहल, एन्जल फर्टिलिटी किल्निक महारजगञ्ज, नेपाल इन्टरनेश्नल फर्टिलिटी पुल्चोक, क्रियटर्स आईभीएफ नेपाल सातदोबाटो र मनमोहन आईभीएफ सेन्टर प्रालि रहेका छन् ।

यस्तै, नर्भिक आईभीएफ सेन्टर प्रालि, ह्याम्स अस्पताल काठमाडौं, बातसल्या आईभीएफ प्रालि काठमाडौं, बरदान फर्टिलिटी काठमाडांै, स्नेहा फर्टिलिटी काठमाडौं रहेका छन् । बाँकी २१ वटा सञ्चालनको प्रक्रियामा रहेका छन् ।

कुनैपनि व्यक्तिले आईभीएफ सेन्टर सञ्चालनमा ल्याउन आवश्यक उपकरण, दक्ष विशेषज्ञ र आवश्यक भवन हुनुपर्छ । तर, दर्ता गरेरै सञ्चालनमा आएका कतिपय आइभीएफ सेन्टर पनि मापदण्ड विपरित रहेको गुनासोहरू आइरहेका छन् ।

स्त्रीरोग, प्रसूति तथा निःसन्तान विशेषज्ञ डा.भोला रिजाल अनुमति नै नलिएर सञ्चालन गर्नु कानुन विपरित रहेको सुनाउँछन् । उनले राजनीति र पैसाको आडमा नेपालमा स्वास्थ्य जस्तो संवेदनशील संस्था गैर कानुनीरुपमा सञ्चालनमा आउनु स्वास्थ्य क्षेत्रका लागि ठूलो चुनौती रहेको बताए ।

‘सेवा दिनु राम्रो हो । तर, कानून विपरित सेवा दिने छुट कसैलाई छैन,’ उनी भन्छन्, ‘उपत्यका मात्र होइन काठमाडौंमा सञ्चालनका लागि अनुमति लिएर बाहिर शाखा सञ्चालन गरिरहेको पाइएको छ, एउटा सेन्टरको अनुमति लिएर अर्को ठाउँमा सञ्चालन गर्न पाँइदैन ।’.

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)का निर्देशक डा.श्रीप्रसाद अधिकारी काठमाडौंमा सञ्चालनका लागि अनुमति लिएकाहरू उपत्यका बाहिर पनि सञ्चालन गरिरहेको बताउँछन् । उनी पनि यो स्वास्थ्यमाथि नै खेलवाड भइरहेको सुनाउँछन् । यसमा स्वास्थ्य मन्त्रालयको ध्यान जानु पर्ने उनको भनाइ छ ।

टेर्दैनन् मन्त्रालयको निर्देशन

उसो त स्वास्थ्य मन्त्रालयले पनि पहल भने नगरेको होइन । अवैधानिक रुपमा सञ्चालनमा आएका आइभीएफलाई बन्द गर्न सूचना नै निकाल्यो । तर, मन्त्रालयले गरेको प्रयासमा आईभीएफ सञ्चालकहरूले वास्ता गरेका छैनन् । पटक–पटक अवैध रुपमा सञ्चालनमा ल्याएका आईभीएफ सेन्टर बन्द गर्दा पनि अटेरी गरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी अनुमतति नलिई सञ्चालन गर्नु कानुन विपरित भएको बताउँछन् । उनी यस्तो कार्य गर्ने कसैलाई छुट नभएको बताउँछन् । दर्ता बाहेक अहिले कति आईभीएफ सञ्चालनमा छन् भन्ने तथ्यांक मन्त्रालयसँग पनि छैन । थापा यसमा अब सेवाग्राहीले न सचेत हुनु पर्ने बताउँछन् ।

आईभीएफका भ्रामक विज्ञापन

कानुन अनुसार कुनैपनि औषधीउपचारको विज्ञानप गर्न मिल्दैन । विज्ञापन गर्नै पर्ने भए सम्बन्धित निकायको स्वीकृति लिनुपर्छ । तर, कानून विपरित सञ्चालनमा आएका अथवा अवैधानिक रुपमा सञ्चालनमा आएका आईभीएफ सेन्टरले भ्रामक विज्ञापन गरिरहेका छन् । विभिन्न अनलाईन मिडिया र सामाजिक सञ्जालमा यस्ता सस्ंथाहरूका विज्ञापन देखिन्छन् ।

निर्देशक डा. श्रीप्रसाद अधिकारी यसरी विज्ञापन गर्नुमा नै आपत्ति जनाउँछन् । कतिपय संस्थाले हाम्रो आईभीएफ सस्तो भनेर विज्ञापन गर्ने गरेका छन्, सुरुवातमा प्रवेश शुल्क सस्तो राख्ने र पछि बिरामी प्रवेश गरिसकेपछि अनेक तरिकाका शुल्क लिने अभ्यास छ, यो ठूलो ठगी हो,’ उनले भने ।

‘२ लाखमामा सबै काम हुन्छ भनेको र तर पछि ९ लाखसम्म लिएको गुनासा पनि आइरहेका छन्,’ उनी भन्छन्,‘ यसलाई अनुगमन गरेर कति लिन मिल्ने, कति नमिल्ने भन्ने विषयमा दर तोक्नुपर्छ ।’ एउटा संस्थाले हाम्रोमा सतप्रतिशत सफलता मिल्छ भन्ने सूचनाहरूपनि दिरहेको पाइन्छ । तर, यसरी भन्न नमिल्ने उनको भनाइ छ ।

सफलतादर ३० देखि ३५ प्रतिशतमात्र

नेपालमा सेवा दिने आईभीएफ सेन्टरहरूले सतप्रतिशत सफलता दाबी गरिरहेको बेला विश्वमा भने आईभीएफको सफलतादर ३० देखि ३५ प्रतिशत मात्र रहेको विज्ञहरूको दाबी छ । बबरमहलमा रहेको होप फर्टिलिटीका सञ्चालक तथा निःसन्तान विशेषज्ञ डा.स्वस्ती शर्मा आईभीएफ प्रणालीका सबै केसमा सफलता मिल्न गाह्रो हुने बताउँछिन् । करिब १२/१३ वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएकी उनी आफुले प्रयास गरेका सबै केस सफल नभएको बताउँछिन् ।

‘हामीकहाँ आइसकेपछि सबै काम सफल हुन्छ भन्ने हुँदैन,’ उनी भन्छिन, ‘कतिपय केसमा हामी फेल भएका छौं, यसो हुँदा उहाँहरूले नै गाली गर्नुहुन्छ, मिहिनेत गर्दा पनि सफलता मिल्दा नरमाइलो लाग्छ, त्यसैमाथि उनीहरूले सामाजिक सञ्जालमा लेखेका कमेन्टले झन मन खिन्न बनाउँछ ।’

डा. श्रीप्रसाद अधिकारी विश्वमै सफलतादर ३० देखि ३५ प्रतिशतमात्र रहेको बेला नेपालका आईभीएफले सतप्रतिशत नै दाबी गर्नु अस्वभनीय भएको बताउँछन् । उनी यस्ता गलत भ्रामक विज्ञापन तत्काल रोक्नुपर्ने बताउँछन् ।

नेपालमा कतिपय आईभीएफ सेन्टरले भारतको चेन आईभीएफ सेन्टर भन्दै दाबी गरिरहेको छन् । विज्ञापनमा भारतका दक्ष चिकित्सकद्धारा उपचार गरिने पनि भनिएको पाइन्छ । तर, भारतका चिकित्सक आएर नेपालमा चेकजाँच गर्न पाउँदैन यस्ता कुराको अनुगमन कडा गरिनुपर्छ । यसमा ध्यान नदिने हो भने भोलि अवस्था जटिल आउने डा. अधिकारी बताउँछन् ।

विश्वसनीयताका आधार खै ?

साधरणतया पुरुषको शुक्रकिट महिलाको डिम्बसँग निषेचित हुन्छ र गर्भासयमा गएर गर्भ बस्छ । यसरी प्राकृतिक रुपमा गर्भधारण हुन नसक्ने अवस्थामा कृत्रिम विधि अपनाइन्छ । जसअन्तर्गत महिलाबाट निकालिएको डिम्ब र पुरुषबाट निकालिएको शुक्रकिटलाई बाह्यरुपमा निषेचित गराई फेरि भ्रूणलाई लिएर पाठेघरमा राखिने कृत्रिम प्रक्रियालाई आईभीएफ अथवा टेस्टट्युव वेवी भनिन्छ ।

नेपालमा यसरी बच्चा जन्माउनु पर्ने दम्पतीको सख्या ५ प्रतिशतमात्र छ । यो खासै जटिल प्रक्रिया होइन । तर, यसमा विश्वास गर्न सकिने गतिलो आधार नरहेको विज्ञहरूको दाबी छ । यसमा भ्रूणको ठूलो चलखेल हुनसक्ने कतिपयको दाबी छ ।

डा. अधिकारी यो विषयमा कसैको ध्यान नगएको बताउँछन् । उनका अनुसार भु्रणको गैरकानुनी कारोबार पनि हुने गरेको छ ।

निम्तिन सक्छ जोखिम

अहिले सञ्चालनमा आएका आईभीएफ सेन्टरलाई कसरी नियमन गर्ने भन्ने विषयमा प्रष्ट कानुन छैन । स्पष्ट कानुन नहुँदा यसले भोलि ठूलो जोखिम निम्त्याउन सक्ने स्वास्थ्यका जानकारहरू बताउँछन् ।

जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी आईभीएफ प्रणाली कानूनी रुपमा, आचारसंहिता र प्रविधिको हिसावले अत्यन्त जटिल प्रक्रिया रहेको बताउँदै यसलाई बलियो कानुन बनाएर मात्र सञ्चालनमा ल्याउनु पर्ने बताउँछन् ।

‘यहाँ श्रीमान श्रीमतीको मात्र कुरा हुँदैन, श्रीमानको बिर्य नै रहेन भने अर्को मान्छेको बिर्य स्वीकार गरेर श्रीमान श्रीमतीको ओभम निकालेर त्यसमा फर्टिलाइजेशन गराएर पाठेघरभित्र राखिदिने गरेका छन्, यस्तो कुरा कानुनमा कतै लेखिएको छैन, भोलि यसले जटिल रुप लिन सक्न सक्छ, यस विषयमा अहिले स्वास्थ्यमन्त्रालय नै हेरेर बसेको छ,’ उनी भन्छन्, ‘भोलि जटिलता आयो भने, मन्त्री÷सचिव लगायतको नै भागाभाग पर्छ ।’

अमेरिकामा एउटा आईभीएफ सेन्टर सञ्चालन गरिरहेको डाक्टरले सेवा लिन आउने सेवाग्राहीलाई बिर्यको आवश्यकता परे आफ्नै राखेर डलर चार्ज लिइरहकोक विषयले एकताका निकै चर्चा पाएको थियो । पछि एक सय बच्चा जन्मिसकेपछि सबै बच्चाको अनुहार झण्डै डाक्टरको अनुहारसँग मिल्दोजुल्दो भएपछि सेवाग्राहीले उजुरी गरे । सेवाग्रहीले उजुरीगरेपछि अनुसन्धान गर्दा ती डाक्टरले सबैलाई झुक्याएर आफ्नै बिर्य प्रयोग गर्ने गरेको तथ्य फेला परेको थियो ।

नेपालमा पनि यस्तै अवस्था आउन सक्ने बताउँछन् । यो विषयमा मन्त्रालय अनविज्ञ रहेको उनको भनाइ छ । ‘अहिले नै ध्यान नदिए सहकारी पीडित, मिटरव्याजी पीडितजस्तै यस्ता पीडित पनि नआउलान् भन्न सकिँदै, सञ्चालनमा आएका आईभीएफमा गुणस्तर कत्तिको कायम छ, आईभीएफ गरेर भ्रूणहरू साँटिरहेको छ कि ? के गरिरहेको छ भन्ने विषयमा नियमन गर्न जरुरी छ,’ उनले भने ।

नेपालमा सबैभन्दा पहिले आईभीएफ प्रणालीबाट जन्माइको बच्चा ओममणी तामाङ हुन् । उनी अहिले २१ वर्षका भए । फर्टिलिटी सोसाइटी अफ नेपालका अनुसार अहिले नेपालमा यो प्रणालीबाट १० देखि १२ हजार बच्चा जन्मिसकेका छन् ।

जनस्वास्थ्यविदहरू नेपालमा आइभीएफ सेन्टर आवश्यक भएपनि कानूनी प्रक्रिया र अनुगमन नभएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.