डेढ अर्ब बढी ऋण लिँदै प्रभु मनि ट्रान्सफर, कति गर्यो आम्दानी ?

  २०८० माघ ३ गते १२:१९     विकासन्युज

काठमाडौं । रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको प्रभु मनि ट्रान्सफरले एक अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन गरि सो मात्राको कर्जा सुविधा लिन लागेको हो ।

उक्त कर्जा सेवा लिनको लागि संस्थाले केयर रेटिङ्ग नेपालमार्फत रेटिङ्ग गराएको छ । केयर रेटिङ नेपालले प्रभु मनिको दीर्घकालीन बैंक सुविधालाई दिएको रेटिङ्ग परिमार्जन गरेको छ भने अल्पकालीन बैंक सुविधालाई पुनः पुष्टि गरिदिएको छ । कम्पनीको कमजोर वित्तीय जोखिमलाई ध्यानमा राखेर उक्त रेटिङलाई परिमार्जन गरिदिएको केयर रेटिङ्ग नेपालले जानकारी गराएको छ ।

परिमार्जित रेटिङ्ग अनुसार प्रभु मनिले एक अर्ब ४४ करोड ७७ लाख रुपैयाँसम्मको दीर्घकालीन बैंक सुविधाको लागि केयर एनपी बी को रेटिङ्ग पाएको छ । त्यस्तै, १५ करोड रुपैयाँसम्मको अल्पकालीन बैंक सुविधालाई कम्पनीले केयर एनपी एफ फोर को रेटिङ्ग पाएको छ । यसअघिको तुलनामा उक्त दीर्घकालीन बैंक सुविधा २७ लाख रुपैयाँले बढेको हो भने अल्पकालीन बैंक सुविधा एक अर्ब ५९ करोड ५० लाख रुपैयाँले घटेको हो ।

जुलाई १६, २००२ मा स्थापित प्रभु मनि ट्रान्सफर प्रभु ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी हो । कम्पनीले नेपाल भित्र र बाहिरबाट नेपालका विभिन्न ठाउँहरुको नेटवर्क मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । नेपाल बाहिरको रकम ट्रान्सफरको लागि कम्पनीले २५ कम्पनी/ बैंक/वित्तीय संस्थासँग र देशभित्रका ६ हजार बैंकिङ एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्टसँग साझेदारी गरेको छ ।

हाल मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, युएई, अमेरिका लगायतका देशहरुमा नेपाली रकम ट्रान्सफर गर्दै आएको मनि ट्रान्सफरले आर्थिक वर्ष २०२३ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जुन हालसम्मकै घटी हो । कम्पनीले आव २०२२ मा ४४ करोड १० लाख, आर्थिक वर्ष २०२१ मा ५४ करोड ८० लाख र आर्थिक वर्ष २०२० मा ७० करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।