घरको बीमा उपमहानगरले गरिदिने, क्षतिपूर्ति कम्पनीले तिर्ने

  २०८० जेठ २४ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त क्षेत्रका निजी घर तथा भवनहरुको बीमा गरिदिने भएको छ । महानगरले स्थायी बसोवास गर्ने परिवारका हकमा विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरुको १५ लाखसम्मको बीमा गरिदिने भएको हो ।

जसको लागि नेपालगञ्ज उपमहानगरपालिका र बीमा कम्पनीहरुले एक आपसमा सम्झौता गरेका हुन् । जसअन्तर्गत बीमा गरिएको घर तथा भवनहरुको संख्या नेपालगञ्ज उपमहानगरले बीमा कम्पनीलाई उपलब्ध गराउने छ ।

उपमहानगर विपद्को कारण क्षति भएको सम्पूर्ण भवन भत्केको नष्ट भएको भवनहरुका जोखिमग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत १५ लाख रुपैयाँसम्मको बीमा गरिदिने भएको हो । तर १५ लाख रुपैयाँभन्दा बढीको बीमा गर्नु गराउनु परेमा बाँकीको प्रिमियम घरधनी स्वयम्ले नै तिर्नुपर्ने छ । अर्थात उपमहानगरले १५ लाखसम्मको प्रिमियम दिने छ भने बाँकीको प्रिमियम सम्बन्धित घर तथा भवनधनीले बीमा कम्पनीहरुलाई दिनु पर्ने निर्देशिकामा उल्लेख छ । यता व्यवसायीक भवनको हकमा भने घरधनी स्वयमले नै अनिवार्य बीमा गर्नुपर्ने छ ।

बीमा गरिएको भवन ध्वस्त भएमा के हुन्छ ?

यदि बीमा भएको भवन संरचना विपद्का कारण ध्वस्त भएमा वा भत्किएको अवस्थामा बीमा कम्पनीले बीमा गरेको रकम भवन संरचनाको बीमितलाई उपलब्ध गराउने छ । यो बीमा सुविधा लिन नेपालगञ्ज उपमहानगरपालिकामा स्थायी बसोबास भएका नागरिकहरुको हकमा विपद् घटेको घटनाका कारण कुनै व्यक्तिको मृत्यु भएमा त्यस्ता व्यक्तिको नजिकको हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।
नेपालगञ्ज महानगरले विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि, २०८० अन्तर्गत स्यानीयवासीको घर बीमा गरिदिन लागेको हो । जुन तत्काल शुरु हुनेछ ।

बीमितको पहिचान र बीमा गरिने भवनको संख्या निर्धारण

सामान्यतः यो बीमा दुई क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि ल्याइएको हो । ‘विपद् दुर्घटना बीमा’ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका भित्र निर्माण भएका घरहरु यस बीमा वापतको लाभ प्राप्त गर्न योग्य हुनेछन् । ‘जोखिम ग्रस्त क्षेत्र आवास बीमा’ अन्तर्गत नेपालगंज उपमहानगरपालिकाको भौगोलिक सीमा भित्रका जोखिम ग्रस्त क्षेत्रहरुको पहिचान गरी सो क्षेत्रमा रहेका निजी भवनहरुको संख्या बीमा कम्पनीलाई उपलब्ध गराईनेछ । उक्त संख्या नै कूल बीमितको संख्या हुनेछ ।

जोखिम ग्रस्त क्षेत्रको पहिचान नेपालगञ्ज उपमहानगरका विपद् व्यवस्थापन समितिले गर्नेछ । त्यस्तै, बीमित हुनको लागि स्थानीय विपद् व्यवस्थापन समितिले तोकेको संख्याभित्र रही वडास्तरीय उक्त समितिको सिफारिसमा नेपालगञ्ज उपमहानगरपालिका स्थानीय विपद् व्यवस्थापन समितिले छनौट गर्नेछ ।

घर छनौट गर्दा घरधनीको नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा वा जग्गाको किता नं. खुलेको बहाल विटौरी समेतको कागजात र घर निर्माण भएको बडा कार्यालयको सिफारिस भएको हुनु पर्ने कार्यविधिमा उल्लेख छ ।

नेपालगञ्ज क्षेत्रका घर तथा भवनको बीमा गर्नको लागि नेपालगञ्ज उपमहानगरपालिका र बीमा कम्पनीहरुबीच शनिबार एक कार्यक्रमबीच बीमा सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत बीमा गर्ने घर तथा भवनहरुको संख्या नेपालगञ्ज उपमहानगरपालिकाले बीमा कम्पनीलाई उपलब्ध गराउने छ ।

यदि बीमा भएको भवन संरचना विपद्का कारण ध्वस्त भएमा वा भत्किएको अवस्थामा बीमा कम्पनीले बीमा गरेको रकम भवन संरचनाको बीमितलाई उपलब्ध गराउने छ । यो बीमा सुविधा लिन नेपालगञ्ज उपमहानगरपालिकामा स्थायी बसोबास भएका नागरिकहरुको हकमा विपद् घटेको घटनाका कारण कुनै व्यक्तिको मृत्यु भएमा त्यस्ता व्यक्तिको नजिकको हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

उपमहानगरले १५ लाख रुपैयाँसम्मको भवनको बीमा गरिदिने छ । विपद्को कारण क्षति भएको सम्पूर्ण भवन भत्केको नष्ट भएको भवनहरुका जोखिम ग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत बीमा गरिने भवनको बीमाङ्क रकम प्रतिभवन १५ लाख रुपैयाँसम्म कायम गरेको हो । उक्त १५ लाखभन्दा बढी मूल्यको बीमा गर्नु गराउनु परेमा उपमहानगरले १५ लाखसम्मको प्रिमियम दिने छ भने बाँकीको सम्बन्धित घर तथा भवनधनीले बीमा कम्पनीहरुलाई दिनु पर्ने छ । व्यवसायीक भवनको हकमा भने घरधनी स्वयमले नै अनिवार्य बीमा गर्नुपर्ने छ ।

कुन कुन क्षतिको सुरक्षा प्रदान दिन्छ ?

यसरी बीमा गरिएको भवनको बीमा दावीमा नेपाल प्राधिकरणको दावी सम्बन्धी शर्त लागू हुने कार्यविधिमा जनाइएको छ । यो कार्यविधि बमोजिम गरिने जोखिम ग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत बीमाले भूकम्प, आगलागी, बाढी/डुवान, जमिन धसिने वा भासिने, हावाहुरी, चट्याङ्ग, असिनापानी, हवाइ दुर्घटना जस्ता विपदका जोखिम विरुद्ध सुरक्षा प्रदान गर्नेछ ।

ऋण लिएर बीमा, दावीमा औसत शर्त

व्यक्तिगत बीमितले भवन धितोमा राखी बैंक मार्फत ऋण लिएर पनि बीमा गर्न सक्नेछन् । यो अवस्थामा बीमा रकम बजार मूल्य अनुसार कायम गर्न सक्नेछ । बजार मूल्य अनुसार बीमा गरेमा थप बीमाशुल्क भुक्तानी गर्ने दायित्व समेत बीमित स्वयंको हुनेछ । यस्तो अवस्थामा परेको दावीमा औसत शर्त लागु हुनेछ ।त्यस्तै, बीमा सुविधा मौन विशेषताका भवन (प्रयोगमा नरहेको वा निर्माणाधीन अवस्थामा रहेका भवन) हरुमा समेतल लागू हुनेछ तर बीमाङ्क रकम र बीमा शुल्कमा परिवर्तन हुँदैन ।

के समेट्दैन यो बीमालेखले ?

बीमालेख अन्तर्गत गैरकानूनी तरिकाले उडेको उडानबाट, खतरनाक खेलहरु जस्तै– घोडादौड, बन्जी जम्पीङ्ग, प्याराग्लाईडिङ्ग, मोटरसाईकल रेस, बीमितले कुनै प्रचलित कानुन उल्लङ्घन गरेको कारणबाट, पूर्व निर्धारित युद्ध, हुलदंगा अतिक्रमण, क्रान्ति भएको कारणबाट भएको क्षति भएको अवस्थामा बीमक (कम्पनी) ले दावी भुक्तानी दिने छैन ।

बीमाशुल्क, व्यवस्था र भुक्तानी

नेपालगञ्ज उपमहानगरपालिकाले विपद् सामूहिक दुर्घटना बीमा र निजी आवसको बीमाशुल्क बीमा कम्पनीसँग सम्झौता वा समझदारी गरे अनुसार हुनेछ । आगामी वर्षहरुमा जोेखिम विश्लेषण तथा विपद् क्षतिको अध्ययन गर्न निश्चित विशेष जनसंख्याको लागि सोही रकमबाट थप बीमा हुन सक्ने प्रावधानलाई प्राथमिकता दिँदै बीमा गर्न सकिने छ । बीमा गरिने सम्पूर्ण पोलेसी रकम नेपालगंज उपमहानगरपालिकाले बीमा कम्पनीलाई डेबिट नोट अनुसार भुक्तानी प्रदान दिने छ । रकम भुक्तानी भएको २४ घन्टाभित्र रसिद काट्नु पर्ने छ ।

यो कार्यविधि अन्तर्गत गरिने दुवै प्रकारका बीमाको तथ्याङ्क संकलन, बीमालेखको जारी गर्ने कार्यमा सहजीकरण, बीमालेखको नियमितता, प्रभावकारिता र दावी फर्छ्यौट कार्यमा सहजीकरण गर्नको लागि नेपालगंज उपमहानगरपालिकामा एक अनुगमन समिति रहनेछ । उक्त समितिमा उपमहानगरपालिकाका नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, उपमहानगरका पूर्वाधार विकास समिति र वातावरण तथा विपद समितिका संयोजकहरु, नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी बाँके शाखामन अध्यक्ष, प्राविधिक शाखा र वातावरण तथा विपद व्यवस्थापन शाखाका अध्यक्ष, सदस्य र सदस्य सचिवहरु रहेका छन् ।

बीमितलाई ३५ दिनभित्रै रकम, स्थानीय सरकारबाट दिइने

बीमा गरिएका व्यक्ति तथा निजी भवनहरुको हानी नोक्सानी भई दावी परेमा सोको क्षतिपूर्ति बीमा कम्पनीले तिर्नेछन् । बीमा गरिएको व्यक्तिको हकवालाले घटना भएको मितिले ३५ दिनभित्र बीमा कम्पनीलाई सम्बन्धित बडा कार्यालयको सिफारिस सहित लिखित जानकारी दिनुपर्नेछ । त्यस्तै, घर बीमाको हकमा, बीमक कम्पनीले बीमितबाट जानकारी पाएको तीन दिनभित्र क्षति मूल्याङ्गनको लागि बीमा समितिबाट इजाजत प्राप्त सर्भेयर खटाईसक्नु पर्नेछ वा दावी नलाग्ने भए बीमितलाई सर्वे प्रतिवेदन पेश गरेको १५ दिनभित्र लिखित जानकारी दिनु पर्नेछ । त्योभन्दा ढिला भएमा कारण सहित निवेदन दिनु पर्नेछ ।

कम्पनीले खटाएको सर्भेयरले क्षतिको निरीक्षण गरिसकेपछि प्रतिवेदन तयार गर्नका लागि बीमितले दावी फाराम भरी विभिन्न कागजात सर्भेयरलाई दिनु पर्नेछ । सर्भेयरले कागजात पाएको १५ दिनभित्रसर्भे प्रतिवेदन बीमक कम्पनीलाई बुझाउनु पर्नेछ । सर्भेयरले प्रतिवेदन बुझाएको ३५ दिनभित्र कम्पनीले सोझै बीमितले पाउने सम्पूर्ण रकम भुक्तानी गर्नु पर्नेछ वा सोभन्दा बढी समय लाग्ने भएमा सर्वेको प्रतिवेदनका आधारमा पेश्की रकम उपलब्ध गराउनु पर्ने छ । बीमितले आवश्यकता बमोजिमको कागजात बुझाएको ३५ दिन भित्र बीमकले स्थानीय सरकार मार्फत वा सोझै सम्झौता रकम भुक्तानी गर्नु पर्नेछ ।

यो कार्यविधिमा उल्लेख नभएका विषयहरुमा बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९ र नेपालगंज उपमहानगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.