दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै

  २०८० जेठ २३ गते १५:४९     विकासन्युज

काठमाडौं । दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा  रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ ।

अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको  बताए । ’दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको  छ’, उनले भने, ’दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।’

नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता  प्रमुख समस्या रहेको गुनासो गरे ।

कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ ।

यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ’सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ’, उनले भने, ’प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना  छन् ।’

सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए ।

टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । ’टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन् । यसका साथै टीकापुर अस्पतालमा हरेक साताको दुई दिन खोप लगाइन्छ’, उनले भने, ’यो अभियानमा यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि पुनः खोप लगाइने भएको छ ।’

खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएकाले शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने बताइएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे  । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.