यस्तो बन्यो चन्द्र ढकाल नेतृत्वको टीम

  २०७९ चैत ३० गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । चैत २८ गते सुरु भएको महासंघको निर्वाचनको प्रक्रिया आज सम्पन्न भएको हो । महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा रामचन्द्र संघई पहिलो चरणबाट बाहिरिएका थिए भने दास्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्रवेश गरेका थिए । अन्ततः उमेशलाले अञ्जनलाई समर्थन गरेपछि अञ्जन महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
यो सँगै चन्द्र ढकाल नेतृत्वको टीम तयार भएको हो ।

जिल्ला नगरको उपाध्यक्षमा बैद्य

चन्द्र ढकाल नेतृत्वको जिल्ला नगर उपाध्यक्ष सुरुकृष्ण बैद्य बनेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघईका समूहबाट प्रतिस्पर्धामा उत्रिएका उनले ४३ मत प्राप्त गर्दै दिनेश श्रेष्ठ र अरुणराजलाई पराजित गरेका हुन् । दिनेश श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाएका हुन् ।
बैद्य नेतृत्वको जिल्ला नगर सदस्यहरुमा १८ जना उम्मेदवार विजयी भएका छन् । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् ।

एसोसिएट नेतृत्वको जिम्मा ज्योत्सनालाई

एसोसिएटतर्फको उपाध्यक्ष पनि संघईको टीमबाट विजयी भएका छन् । उमशेलाल र अञ्जनका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गर्दै ज्योत्सनाले जिल्ला नगरको नेतृत्व गर्ने अवसर पाएकी हुन् । श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन् । यस्तै, एसोशिएटतर्फ १९ जना सदस्य हुने व्यवस्था अनुसार १९ जना सदस्यहरु निर्वाचित भएका छन् ।

वस्तुगतमा ढकाल

महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । उनले ६१ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् । यस्तै, उनी उपाध्यक्ष रहेको वस्तुगत सदस्यहरुमा १४ जना निर्वाचित भएका छन् ।
यी हुन् विजयी उम्मेदवार

को हुन् अध्यक्ष ढकाल ?

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायीका रुपमा परिचित छन् । महासंघको दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

महासंघको ५७ औं साधारण सभाबाट आज अध्यक्षमा निर्वाचित ढकाल, आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् ।

त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपका हिस्सेदारी छ ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाँैं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् ।

औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ ।

सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ ।

२०७२ को भूकम्प र कोभिड–१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् ।

पाँच प्रतिवद्धता

महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने प्रतिवद्धता गरेका छन् । उनले लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने पनि प्रतिवद्धता गरेका छन् ।
यस्तै, उनले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.