घरजग्गा बेचेर पुँजी वृद्धि गर्दै नेपाल इन्स्योरेन्स, स्वीकृतिका लागि पुग्यो प्राधिकरण

  २०७९ चैत १४ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग सहमति मागेको हो । कमलादीको जग्गा भने मुख्यालय बनाउन आवश्यक हुने भन्दै बिक्रीमा राखेको छैन ।

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले दुई साताअघि नै जग्गा तथा सेयर बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । जग्गा तथा भवन बेच्नुपूर्व बीमा प्राधिकरणको सहमति लिनुपर्ने नीतिगत व्यवस्था भएकोले स्वीकृतिको लागि प्राधिकरणमा प्रस्ताव गरिएको उनले विकासन्युजलाई बताए ।

सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने प्रस्ताव आएमा स्वीकृत दिने बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । तर अहिलेसम्म उक्त प्रस्ताव प्राधिकरणमा नगएको उनले बताए ।

‘चारै ठाउँको जग्गा बेच्नु पर्दैन, बेच्न राख्ने बित्तिकै सबै बिक्छ भन्ने पनि हुँदैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो- ‘जुन जग्गामा राम्रो मूल्य आउँछ, त्यो बेच्छौं, आवश्यक पर्दा कुमारी बैंकको सेयर पनि बेच्न सकिन्छ ।’ कम्पनीले कुमारी बैंकको सेयर पनि बिक्री गर्ने निर्णय गरेको छ । उक्त सेयर बेचेर करिब १० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ ।

स्वाप नमिलेपछि मर्ज हुन सकेन
नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स तीन वटैलाई आपसमा मर्ज हुन बीमा प्राधिकरणले लिखित निर्देशन दिएको थियो । प्राधिकरणमा भएको उपस्थितिमा तीन कम्पनीका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल पनि भएका थिए । उक्त बैंठकमा तीन वटै कम्पनीको सेयर स्वाप रेसियो बराबरी गर्ने प्रस्ताव आईएमई र प्रुडेन्सियलले गरेका थिए । तर नेपाल इन्स्योरेन्सले आफूसँग भएको अचल सम्पत्तिको मूल्याङ्कनका आधारमा नेपाल इन्स्योरेन्सको १०० बराबर अन्य दुई कम्पनीको ७० देखि ७५ मात्र हुने दावी गरेपछि मर्जको कुरो मिलेको थिएन ।

नेपाल इन्स्योरेन्समा नेपाल बैंकको १५ प्रतिशत सेयर छ । नेपाल बैंकमा ५१ प्रतिशतभन्दा बढी सरकारको लगानी छ । यसरी सरकारी लगानी रहेको कम्पनीको सम्पत्तिको मूल्याङ्कन पारदर्शी रुपमा नगरी मर्जमा जान नसकिने नेपाल बैंकमा प्रतिनिधिले अडान लिएपछि तीन कम्पनीबीच मर्ज हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.