नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ

  २०७९ फागुन १९ गते ११:१४     विकासन्युज

निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी ।

दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ?

यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं ।

दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ? 

कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन ।

फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ?

असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ ।

भिडियो  :  हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ

पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ?

आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने ।

शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ ।

मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ?

सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन ।

आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ?

पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं ।

हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं ।

सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ?

हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं ।

विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ ।

बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ?

साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ ।

दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ?

असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं ।

मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ?

मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.