यी हुन् २ लाख रुपैयाँ कममा पाइने मोटरसाइकल, कुन कम्पनीको सस्तो ?

  २०७९ माघ २२ गते १८:२६     विकासन्युज

काठमाडौं । छोटो समयमा लामो दुरीको यात्रा सहज तरीकाले गर्न सकिने सवारी साधन मध्येको एक हो ‘मोटरसाइकल’ । पछिल्लो समय सडकमा दुई पाँग्रे सवारी साधनको चाप बढ्दो छ । ग्राहकलाई लक्षित गर्दै विभिन्न कम्पनीले नयाँ तथा आकर्षक मोडलका मोटरसाइकल पनि खरिदबिक्री गरिरहेका छन् । ती मोटरसाइकलको कम मूल्य, राम्रो माइलेज र पिकअप जस्ता विशेषताको आधारमा पनि ग्राहकलले मोटरसाइकल खरिद गर्ने गर्छन् ।

बजारमा लाखौं मूल्य पर्ने मोटरसाइकलहरू उपलब्ध छन् । सडकमा गुड्ने सवारी साधनमध्ये एक हिस्सा मोटरसाइकलले ओगटेको देखिन्छ । सहज तरिकाले आवागमन हुने भएकाले पनि दुई पाँगे्र सवारी साधन अधिकांशको रोजाइमा पर्छ । कतिपय बाइक सिटी राइड र कति अफरोडको लागि प्रयोग हुन्छन् । महँगो बाइक चढेर राइडमा जाने युवाको जमात पनि पछिल्लो समय बढ्दै गइरहेको छ ।

महँगो मात्रै होइन, बजारमा सबैको लागि उपयुक्त हुने थोरै रकमले पनि चिटिक्क परेका मोटरसाइकल बिक्री गर्ने कम्पनी धेरै छन् । तर, पहिलाको तुलनामा सवारी साधनको मूल्यमा केही वृद्धि भएको छ । मोटरसाइकल आधिकारिक वितरकले विभिन्न मोडलका बाइकको नाम तथा फिचर र मूल्यसहित आफ्नो वेबसाइटमा समावेश गरेर राखेका हुन्छन् ।

दुई पाँग्रे सवारी आवश्यकताका साथै कतिपयका लागि सवारी सोखको विषय पनि हुन् । हामीले टिभिएस, हिरो र बजाज लगायत कम्पनीले उत्पादन गर्ने मोटरसाइकलको मूल्य र विशेषताका लगायतका विषयमा चर्चा गरेका छौं ।

स्ट्राइकर १२५

दुई पाँग्रे सवारी निर्माता कम्पनी टिभिएसले पनि विभिन्न विशेषता भएका मोटरसाइकल उत्पादन गर्दै आएको छ । जसमध्येको एउटा मोडल हो स्ट्राइकर १२५ । यो बाइक टिभिएस कम्पनीको उत्पादन गर्ने दुई पाँग्रे सवारीमध्ये सबैभन्दा कम मूल्यको बाइक पनि हो । टिभिएस स्ट्राइकर १२५ बाइकको मूल्य अहिले नेपालमा १ लाख ९६ हजार ९ सय रुपैयाँ पर्छ ।

१२५ सिसीको यो मोटरसाइकलमा ४ वटा गियर बक्स छ । शहरी क्षेत्रका लागि यो मोटरसाइकल उपयुक्त रहेको बताइएको छ । यो मोटरसाइकल सस्तो र हेर्नमा पनि आकर्षक भएकोले अधिकांशको रोजाइमा पर्छ ।

रेडियन

टिभिएस कम्पनीको अर्को मोडलको मोटरसाइकल हो रेडियन । यो मोटरसाइकल १०९.७ सिसी र एयर कूल्ड इन्जिन रहेको छ जसले पावर उत्पादन गर्छ । यस बाइकमा १० लिटरको इन्धन अट्ने क्षमताको ट्याङकी छ । सबैको लागि उपयुक्त हुने सो मोटरसाइकल सिटी राइडटको लागि उपयुक्त मानिन्छ । यो बाइक नेपालमा पनि उपलब्ध छ । जसको मूल्य एक लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ ।

एचएफ डिलक्स

हिरो कम्पनीको एचएफ डिलक्स नामक यो बाइक पनि सिटी राइडको लागि उपयुक्त मानिन्छ । यो एक सय सीसीको बाइक हो । यसको डिजाइन सामान्य छ । सेल्फ स्टार्टको सुविधा रहेको यो बाइकमा एनालग स्पिडोमिटर जडान गरिएको छ । यो बाइकले अन्य बाइकको जस्तो धेरै पेट्रोल खपत गर्दैन । इन्धन ट्याङ्की क्षमता ९.६ लिटर छ भने यसको वजन ११० केजी रहेको छ । हिरोको एचएफ डिलक्स मोडलको यस बाइकको मूल्य एक लाख ८३ हजार रुपैयाँ रहेको छ । यो बाइक तीन वटा कलरमा उपलब्ध छन् ।

स्प्लेण्डर प्लस

हीरो कम्पनीको अर्को मोडलको बाइक हो स्प्लेण्डर प्लस । यो बाइक पनि मूल्यका हिसाबले एकदमै सस्तो छ । । हेर्दा सानो भए पनि यो बाइकमा धेरै विशेषताहरु छन् । अहिले नेपालमा यो मोटरसाइकलको मूल्य एक लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ । हिरोको स्प्लेण्डर प्लस ९७.२ सीसीको छ । यो बाइकमा ११ लिटर पेट्रोल अट्छ । सो बाईक तीन वटा कलरमा पाउन सकिन्छ ।

स्प्लेण्डर ईस्मार्ट ११०

हिरो कम्पनीको स्प्लेण्डर ईस्मार्ट ११० बाइक पनि अधिकांशले प्रयोग गर्ने मध्यको एक हो । यो बाइकको ग्राउन्ड क्लियरेन्स १६५ र उचाइ १० मिलिमिटर छ । १०९.१५ सिसीको यो बाइकमा ८.५ लिटर पेट्रोल अट्छ । यो बाइकको लुक्स पनि स्मार्ट छ । जसका कारण आरामदायी यात्रा तय गर्न सकिन्छ । स्प्लेण्डर ईस्मार्ट ११० ४ वटा कलरमा उपलब्ध छ । यसको मूल्य नेपालमा १ लाख ८३ हजार ५ सय रुपैयाँ पर्छ ।

प्लाटिना १०० ईस

बजाज कम्पनीको प्लाटिना १०० ईस मोडलको यो बाइक हेर्दा आकर्षक देखिन्छ । १०२ सीसीको यो बाइक ११ सय मिलिमिटर अग्लो छ । जसको कर्ब वजन १ सय ८ केजी रहेको बताइएको छ । इलेक्ट्रिक स्टार्टको सुविधा रहेको यो बाइको डिजाइन पनि आकर्षक छ । बजाज कम्पनीले सार्वजनिक गरेको मूल्य सूची अनुसार यो बाइकको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ । यो बजाज कम्पनीको सबैभन्दा सस्तो मूल्यको बाइक हो । यो बाइकमा ११.५ लिटर पेट्रोल अट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.