१४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

  २०७९ माघ २२ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो ।

विभागले चालु आवमा सिमेन्ट, टिएमटी छड, रङ, एचडिपीई पाइप, सिपीभीसी पाइप, यूपीभिसी पाइप, जस्मिन हाईजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । ‘अघिल्ला वर्षको तुलनामा पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह लिने उद्योगको सङ्ख्या राम्रो हुँदै गएको छ,’ उनले भने ।

चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको सङ्ख्या बढेको उनको भनाइ छ । सिमेन्ट, छड, एलपिजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पिभिसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिन्ह अनिवार्य गरेको छ ।

विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको छ महिनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित गरेको छ । प्राविधिक समितिबाट पारित भएको वस्तु तथा उद्योगको गुणस्तर परिषद्मा पठाउने गरिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीको अध्यक्षतामा बस्ने गुणस्तर परिषद्को बैठक बस्न नसक्दा सो अवधिमा एउटा पनि गुणस्तर पारित नभएको विभागले जनाएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको छ ।

विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्सटाइल प्रयोगशाला छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.