सिटिजन्स बैंक आफ्नै ब्राण्डमा उत्कृष्ट बन्छ, प्रतिफल डबल डिजिटमा दिन्छौं : सीईओ पोखरेल

  २०७९ माघ २२ गते १३:२७     विकासन्युज

सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोस्रो कार्यकालका रुपमा गणेशराज पोखरेल नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाललाई सफल रुपमा निर्वाह गरेर दोस्रो कार्यकाल सुरु गरेका पोखरेलले चार वर्षको अवधिमा बैंकलाई एक किसिमको सफलतामा पुर्याएका छन् । यो अवधिमा उनले बैंकको निक्षेपमा २६ प्रतिशत, कर्जामा २३ प्रतिशतको वृद्धि गरेका छन् भने ८ अर्ब रुपैयाँ रहेको पुँजी बढेर १४ अर्ब पुगेको छ । दोस्रो कार्यकालमा बैंकलाई थप उचाइमा पुर्याउने उनको योजना छ । एग्रेसिभ ग्रोथभन्दा पनि क्वालिटी ग्रोथलाई प्राथमिकता दिइरहेको सिटिजन्स बैंकको अर्को महत्वपूर्ण उपलब्धि र स्ट्रेन्थ हो संस्थागत अभ्यास र टीम वर्क । पछिल्लो समय डिजिटल बैंकिङ र नेटवर्क विस्तारमा प्राथमिकता दिइरहेका सीईओ पोखरेलसँग उनको आगामी चार वर्षको व्यवसायिक योजना, बैंकको बिजनेस र वर्तमान बैंकिङ अभ्यास लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

तपाईं सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिृकतको रुपमा पहिलो कार्यकाल सकेर दोस्रो कार्यकाल सुरु गर्दै हुनुहुन्छ, आफ्नो पहिलो कार्यकालको समीक्षा कसरी गर्नु हुन्छ, आफुलाई मूल्यांकन कसरी गर्नु हुन्छ ।

मैले वि.स २०७५ साल पुस १ गतेबाट सीईओको रुपमा जिम्मेवारी पाएको थिएँ । त्यतिखेर बैंकको निक्षेप ६५ अर्ब थियो । अहिले बढेर पुसमा १६१ अर्ब पुगेको छ । त्यतिखेर ५९ अर्ब कर्जा थियो । अहिले १४२ अर्ब रुपैयाँ पुगेको छ । बैंकको पुँजी ८ अर्बको थियो, अहिले १४ अर्ब पुगेको छ । यो राम्रै ग्रोथ भएको मैले महसुस गरेको छु । यो चार वर्षको अवधिमा सेयरधनीलाई ५१ प्रतिशत लाभांश वितरण गरेका छौं । गत आर्थिक वर्षको नाफाबाट पनि ९ प्रतिशत लाभांश वितरण गरेका छौं । सेयरधनी पनि बैंकको प्रगति देखेर खुसी हुनुहुन्छ । चार वर्षअघि ग्राहक ४ लाख ३९ हजार थिए । अहिले १५ लाख बढी पुगेको छ । ब्राण्डिङमा पनि राम्रो काम भएको छ । सूचना प्रविधिमा राम्रो काम भएको छ । त्यतिखेर ७४ हजार कार्डहरु थियो । अहिले तीन लाख बढी कार्डको संख्या पुगेको छ ।

हामी दत्तचित्त भएर काम गरिरहेका छौं । मोबाइल बैंकिङका ग्राहकको संख्या ८९ हजार थियो अहिले बढेर ६ लाख बढी पुगेको छ । यी सूचकहरुले बैंकको राम्रै प्रगति भएको देखिन्छ । कम्प्लायन्स संस्थाको मुटु हो । यसले संस्थालाई दीर्घकालीन बनाउन भूमिका पुग्छ । यो संस्थामा काम गर्ने कर्मचारीहरु खुसी हुनुहुन्छ । कर्मचारी साथीहरुलाई काम गर्नका लागि सहज वातावरण सिर्जना गरेका छौं । डिजिटल बैंकिङमा धेरै काम भएका छन् । यति धेरै लगानी गरेर हामीलाई रोजगारी दिएका सेयरधनीहरुको पनि हामीप्रति आशा छ । उहाँहरुलाई पनि उचित प्रतिफल दिएर खुसी बनाउन पनि हामी लागिरहेका छौं । नेटवर्कमा पनि राम्रै विस्तार भएको छ । म बैंकको सीईओ हुँदा ८१ वटा शाखाहरु थिए । अहिले १८२ वटा पुगेका छन् । म ड्राइभर सिटमा मात्रै छु, यसमा सबै साथीहरुको महत्वपूर्ण भूमीका छ । मैले संस्थालाई सिस्टममा चल्ने बनाएको छु । सबै विभागहरुलाई उत्तिकै जिम्मेवार बनाएको छु । एउटा राम्रो संस्थागत अभ्यासको उदाहरण सिटिजन्स बैंकमा पाउनुहुन्छ । हामी समूहगत रुपमा काम गर्छौं । हामी क्वालिटी सर्भिसमा ध्यान दिन्छौं ।

अहिले अन्य बैंकहरुको पुँजी ठूलो भइसकेको छ । ३२ वटा बैंक २१ वटामा झरेका छन् । सिटिजन्स बैंक २० औं नम्बरमा इजाजत लिएको बैंक हो । अहिलेसम्म यो बैंक कायमै छ । हाम्रो बजारमा एक किसिमको ब्राण्ड छ । सिटिजन्स बैंक र यसको ब्राण्डिङ र लोगो महत्वपूर्ण छ । पुँजीमा सानो बैंक भएपनि हाम्रो बजारमा राम्रो ब्राण्डिङ छ । बजारमा सिटिजन्स बैंकको आफ्नै इमेज छ । बैंकको साइजमा सानो भएकोले अब यस विषयमा पनि बहस गर्नु पर्छ । हामीले अबको ४ वर्षमा १५/१७ प्रतिशतको ग्रोथ गरेपनि अहिलेका ठूला बैंकको पुँजी अनुसारको बैंक पुग्छौं । तर, त्यो अवस्थामा ठूला बैंक झनै ठूला हुन्छन् । यो साइजको विषयलाई पनि प्राथमिकताका साथ हेर्नु पर्छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा अधिकांश बैंकहरुको नाफा घटेको छ, खराब कर्जा बढेको छ, यो स्थिति कसरी आयो ?

अहिले स्थिति सहज छैन । खराब कर्जा बढेर नाफा घटेको हो । ब्यापार व्यवसाय राम्रोसँग चलेको छैन । कोभिडपछिको अर्थतन्त्र सुधार हुन सकेको छैन । रिकभरीको समस्या छ । सिटिजन्स बैंकको नाफा पनि ३२ प्रतिशतले घटेको छ । २१ बैंकमध्ये १९ बैंकको खराबकर्जा बढेको छ । व्यापार व्यवसाय राम्रो नभएकै कारण रिकभरी हुन सकेन । बजारबाट पैसा नउठ्दा नाफामा हिट गरेको हो । बैंकहरुको वितरणयोग्य नाफा ठूलो मात्रामा घटेको छ । कतिपय बैंकहरुको वितरणयोग्य नाफा लाखमा मात्रै छ भने कतिपयको घटेको छ । पैसा रेगुलेटर रिजर्वमा गएर बसेको छ । खराबकर्जा अझै बढ्ने देखिएको छ । नीतिगत कारणले प्रोभिजन बढेको हो । यो एउटा साइकल हो । ब्यापारिक सिद्धान्त हो । सधैं नाफा कमाउनु पर्छ भन्ने छैन । हाम्रो समुदाय समस्यामा पर्ने र बैंकहरु मोटाउने भन्ने हुँदैन । तर, पछिल्लो समय बैंकहरुको नाफा घटिरहेको छ । रिटर्न अन इक्विटी (आरओई) घट्दै गइरहेको छ । औसत १२ प्रतिशत मात्रै आरओई छैन । बैंकहरुले कमाए । लुटे भन्ने मानसिकता गलत हो ।

फिगरमा हेर्दा पुँजीको आधारमा बैंकहरुको आम्दानी बढी छैन । यो पनि एउटा व्यवसाय हो । यो एउटा पारदर्शी व्यवसाय हो । अन्य व्यवसाय जस्तो जिस्किने व्यवसाय बैंकिङ होइन । कमाउने ठाउँ पनि बैंकिङ होइन । बैंकको पैसा गलत ठाउँमा प्रवाह नहोस्, जुन प्रयोजनका लागि पैसा लिइएको हो, त्यसमै त्यो पैसा प्रयोग भयो भने अर्थतन्त्र विस्तारै सही ठाउँमा आउँछ । बैंकबाट प्रवाह भएको पैसा सही क्षेत्रमा गएको छैन भन्ने बहस पनि उठ्छ । यस विषयमा पनि हामीले सजग बन्नु पर्छ ।

अब बैंक तथा वित्तीय संस्थाको नाफा यसरी नै घट्दै जाने हो, तपाईंको बुझाइ के छ ?

बैंकिङ इन्ड्रस्टीमा अब नाफाको आश धेरै नगर्दा हुन्छ । बैंक धेरै रेगुलेटेड बिजनेस हो । ४ प्रतिशतको स्प्रेडमा काम गरिहरेका छौं । १० प्रतिशतको रिटर्न बैंकले दिन्छन् भने त्यो बैंक धेरै राम्रो हो । बैंकहरु पनि घट्दै गइरहेका छन् । भोलि कुनै नीतिगत परिवर्तन भए भने भन्न सकिन्न तर अब धेरै नाफा हुन्छ भन्ने देखिँदैन । हिजोका दिनमा धेरै बैंकले उच्च रिटर्न दिए । अहिले विभिन्न शुल्क तथा कमिसनमा नीतिगत कडाइ छ । स्प्रेडमा क्याप छ । बैंकिङ उद्योगमा रहेको २.२९ प्रतिशतको खराकर्जा उठेर अलिकति केही सहज हुन्छ होला तर अब धेरै बिजनेस गरेर धेरै नाफा हुन्छ जस्तो मलाई लाग्दैन ।

बैंकका सेयरधनीहरु बढी लाभांश दिनु पर्यो भनेर तपाईंहरुलाई दबाब दिनुहुन्छ, उद्योगी व्यवसायीहरु ब्याजदर कम हुनु पर्छ भनेर बैंकविरुद्द आन्दोलन गर्छन्, यो बिचमा बैंकरहरुलाई काम गर्न कत्तिको सहज, असहज छ ?

यसैमा त कलाकारिता छ । यसमा नै हो सीप चाहिने । इमोश्नल इन्टेलिजेन्ट चाहिने यसैमा हो । ‘सेल्फ अवेरनेस’ चाहिन्छ । कसरी उत्तेजना कन्ट्रोल गर्ने, उनीहरुलाई म्यानेज गर्नैका लागि म्यानेजर राखेको हुन्छ । नीतिगत फ्रेमवर्कमा रहेर काम गर्ने र यी विभिन्न विषयहरुमा बसेर काम गरेर नतिजा ल्याउने हो । अस्तिसम्म बैंकले लुटे भन्ने धेरैको बुझाइ थियो । अहिले बैंकको पुँजी अनुसार नाफा ठीकै हो भन्ने पनि छ । आम्दानी घट्न पनि सक्छ तर खर्च झन बढ्दै जाने अवस्था छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्नका लागि नै म्यानेजर राखिएको हुन्छ । यो विषयमा मूल्यांकन अझै आवश्यक छ ।

बैंकिङलाई एउटा पारदर्शी र विश्वसनिय व्यवसायका रुपमा लिइन्छ, सर्वसाधारणले आँखा चिम्लेर आफुसँग भएको पैसा बैंकमा राख्छन् तर बैंकहरुले पछिल्लो समय ग्राहकबाट अतिरिक्त शुल्क लिएको भन्दै राष्ट्र बैंकले फिर्ता गर्न लगायो, अब बैंकहरुको नियतमाथि पनि प्रश्न गर्ने बेला आएको हो ?

यसलाई जसरी बुझ्दा पनि हुन्छ । बैंक एउटा सिस्टम र अनुशासनमा बस्छ । बैंकहरुले ग्राहकको सहमतिमै प्रिमियम बढाएका थिए । तर, राष्ट्र बैंकले त्यसमा प्रश्न उठाएपछि सबै बैंकले लिएको प्रिमियम फिर्ता गरे । बढी प्रिमियम लिएको भएपनि रिटर्न ११ प्रतिशतभन्दा बढी देखिएन । प्रिमियम बारे सबै स्पष्ट भए । यो गर्नु हुन्न भन्ने बैंकले बुझे । यो सन्देशले ठीकै गर्छ जस्तो लाग्छ ।

सहमतिमै प्रिमियम बढाएपनि बैंकहरुले गल्ति गर्यौं भन्ने महसुस गरेका छन् या छैनन् ?

हामीले यसलाई गलत गर्यौं भन्दैनौं । सहमतिमै काम गरेका हौं । सहमतिमै गरे पनि गर्नु हुने रहनेछ भन्ने हामीले बुझेका छौं । बैंकहरुले कोरोनामा पनि त धेरै छुट दिएका थिए । त्यसलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याजविरुद्द आन्दोलन गरिरहेका छन्, यो विषयलाई बैंकरहरुले कसरी हेरिरहनु भएको छ ?

हामी पनि उहाँहरुको सदस्य हो । हाम्रा पनि आफ्नै किसिमका दुःख र दर्दहरु छन् । एउटै संस्थामा भएका सदस्यहरुलाई समान व्यवहार गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो । यो पनि एउटा व्यवसाय हो । यसमा पनि लगानीकर्ताहरु छन् । यसबाट पनि धेरैको दैनिकी चलाउने समूह छ । मान्छेहरुले यसमा लगानी गरेर दालभात खाइरहेका छन् । यो व्यवसाय समस्यामा पर्यो भने त्यो वर्गलाई पनि समस्या पर्छ भन्ने विषय बुझ्न आवश्यक छ ।

अहिले बैंकका लिलामीका सूचनाहरुले पत्रपत्रिका भरिभराउ छन्, बैंकको काम भनेको पैसाको कारोबार हो । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु पैसाको कारोबारभन्दा पनि घरजग्गाको बिक्रीमै अभ्यस्त भएका हुन् कि भन्ने बुझाइ आम जनमानसमा छ नी ?

धितो पनि बिक्री गर्नु पर्छ । ऋण व्यवस्थानको पनि साइकल हुन्छ । कर्जा असुलको एउटा प्रक्रिया हुन्छ । हामीले सर्वसाधारणको पैसा चलाइरहेका हुन्छौं । कर्जा खराब भयो भने सर्वसाधारणको पैसा डुब्छ । त्यसका लागि पनि हामीले खराबकर्जालाई रिकभरीका लागि एउटा प्रक्रियामा लैजानु पर्ने हुन्छ । हामीले दिएको पैसा फर्किनु पर्छ । जनतालाई पनि पैसा फर्काउनु पर्छ । यसलाई एउटा व्यवसायको प्रक्रियाको रुपमा मात्रै बुझ्नु पर्छ । ऋण लिइसकेपछि ऋण तिर्नु पर्छ । दिएको ऋण असुल भएन भने हाम्रो वित्तीय स्वास्थ्य पनि बिग्रदै जान्छ । त्यो अवस्था आउन नदिनका लागि पनि यो काम गर्नु परेको हो ।

अहिले बैंकहरुबीच मर्जरको लहर छ, सिटिजन्स बैंकका प्रतिस्पर्धी बैंकहरु धमाधम मर्जरमा गए, अहिले सिटिजन्स बैंक साइजमा पुछारमा आयो, अब ती बैंकहरुसँग प्रतिस्पर्धाका लागि मर्जरमा जानु पर्छ भन्ने बोध तपाईंहरुलाई भएको छैन ?

मैले आफ्नो चार वर्षको व्यवसायिक रणनीतिक योजनामा मर्जरको विषय उल्लेख गरेको छैन । किनकी मर्जरको विषय सीईओ तहबाट हुने कुरा पनि होइन । यो नितान्त सञ्चालक समितिबाट हुने काम हो । हामीसँग २ लाख सेयरधनीहरु हुनुहुन्छ । त्यसको विधि विधान हुन्छ । बोर्डले हामीसँग निर्णय लिनु भयो भने प्रतिस्पर्धामा जानु पर्छ भन्ने हो । हामीले विकास बैंकहरुलाई पनि गाभ्यौं । हामी ज्वोइन्ट भेन्चरमा इन्ट्रेष्ट छौं । त्यस विषयमा छलफल पनि भइरहेको छ । ज्वोइन्ट भेन्चरले विदेशी विज्ञहरु, विदेशी प्रविधि, पुँजी र सीप पनि भित्रिन्छ । यसले हामीलाई राम्रो सहयोग पुग्छ । सिटिजन्स बैंक ज्वोइन्ट भेन्चरको पक्षमा हो । राम्रो विकास बैंक पायौं भन्ने लिने भन्ने हाम्रो उद्धेश्य हो । अझैं पनि त्यसमा अभ्यास हुन्छ । वाणिज्य बैंकसँग मर्ज गर्ने विषय पनि नआएको होइन । यसअघि विभिन्न संस्थासँग छलफल पनि भएको हो । ती संस्था अर्कैंसँग मर्जरमा गइसकेका छन् । अब हामी प्रतिस्पर्धामा जानु पर्छ भन्नेछ । तर, मर्जर गर्ने कि ज्वोइन्ट भेन्चरमा जाने भन्ने विषय टुङ्गोमा छैन । हामी मर्जरका लागि खुल्ला नै छौं । एउटा अवधारणा बनाएर अगाडि बढ्छौं ।

बोर्डलाई बैंकको सीईओको रुपमा सल्लाह दिँदा मर्जर भन्नु हुन्छ या ज्वोइन्ट भेञ्चर ?

हुन त यो काल्पनिक जवाफ हुन्छ होला । पहिला कुन साइजमा बस्ने भनेर सोच बनाउनु पर्छ । हामी आफ्नै ब्राण्डमा स्थापित भएर अगाडि बढ्न चाहन्छौं । अहिले नै यो रोज्ने भन्दा हतारो हुन्छ होला ।

तपाईंले सुरुमा आफ्नो पहिलो कार्यकालमा बैंकले गरेको ग्रोथ सुनाउनु भयो, अब दोस्रो कार्यकाल पनि सुरु गरिसक्नु भएको छ, अबको चार वर्षपछि सिटिजन्स बैंकको ग्रोथ कस्तो हुन्छ, बैंक कुन पोजिसनमा हुन्छ ?

वार्षिक १५ प्रतिशतको ग्रोथ गर्ने मेरो रणनीति योजनामा राखेको छु । मौद्रिक नीतिले अर्थतन्त्रको ग्रोथ कुन रेञ्जमा लिएर जान्छ, त्यसले पनि केही निर्धारण गर्छ । कर्जा लगायतका इण्डिकेटरमा के कस्ता नीति बनाउँछ भन्ने नीतिले पनि प्रभाव पार्छ । यो एउटा गाइडलाइन हो । ३ सय अर्बको निक्षेप र कर्जा, २१ अर्बको पुँजी पुर्याउने लक्ष्य छ । प्रत्येक वर्षमा डबल डिजिटमा लाभांश दिन सकिन्छ भन्ने हाम्रो योजना छ । बैंकलाई पूर्ण रुपमा प्रविधिकैत्री बनाउँछौं ।

अहिले बैंक तथा वित्तीय संस्था एक किसिमको सकसममा छन्, यो सकस कहिलेसम्म रहला जस्तो लाग्छ ?

नेपालको अर्थतन्त्रमा भविश्यवाणी सही सावित हुन गाह्रो छ । बैंकिङ क्षेत्र एग्रेसिभ ग्रोथ भएर पनि बिग्रेको होकि जस्तो लाग्छ । अहिले केही थामिएको छ । रेमिट्यान्समा सुधार आइरहेको छ । निक्षेप कर्जाको तुलनामा बढेको छ । सरकारले गर्ने खर्चमा वृद्धि भयो भने अर्थतन्त्र सहज होला जस्तो लाग्छ । सरकार पनि एक किसिमको जोसमा छ । सबैले जोस जाँगरले काम गर्नु भयो भने पक्कै पनि सुधार हुन्छ । सुधार हुँदै गएको छ आशा गरौं छिट्टै अर्थतन्त्र सकारात्मक अवस्थामा फर्किनेछ ।

One comment on "सिटिजन्स बैंक आफ्नै ब्राण्डमा उत्कृष्ट बन्छ, प्रतिफल डबल डिजिटमा दिन्छौं : सीईओ पोखरेल"

  • Bishnu Mani Gautam says:

    Very good interview about citizen bank and banking industry wish you successful tenure to the newly appointed CEO and entire citizen bank team. Hope bank will maintain sustainable growth, better quality and higher return to the stake holders

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.