सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बित, प्राथमिक पुँजीकोष ३४ प्रतिशतले ऋणात्मक

  २०७९ माघ २२ गते ११:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबारबाट उक्त लघुवित्तको व्यवस्थापकीय काम सम्हाल्ने छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ ।

‘विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ’, राष्ट्र बैंकले सूचनामा भनेको छ ।

पछिल्लो समय संस्थाको बचत क्रमिकरूपमा घट्दै गएको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैंक ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

सूचना भनिएको छ ‘लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ ।’

साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.