नेपाल टेलिकम २० औं वर्षमा प्रवेश : साढे ८ अर्ब नाफा, २ करोड इन्टरनेट डाटा ग्राहक

  २०७९ माघ २२ गते ८:४६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) १९ औं बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको छ । दूरसञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक सेवा उपलब्ध गराईरहेको कम्पनी आजदेखि २० औं वर्षमा प्रवेश गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले वि.सं. १९७३ मा ओपन वायर म्यग्नेटो सिस्टम प्रयोग गरेर दूरसञ्चार सेवा सुरु गरेको थियो । वि.सं.१९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं.१९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं.१९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा उपलब्ध हुन थालेको थियो ।

वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस’को नामबाट चिनिन्थ्यो । वि.सं.२०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो । यस विभागलाई वि.सं.२०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो ।

यसअघि नेपाल दूरसञ्चार संस्थान रहेको थियो । पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएपछि आफ्ना व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको हो । सरकारको पूर्ण स्वामित्व रहेको संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । देशको सहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् १९१६ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइनको स्थापना गरेको थियो भने सन् १९१७ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो । कम्पनीले सन् १९५५ मा मात्रै सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा उपलब्ध गराएको थियो ।

सन् १९८३ मा आएर कम्पनीले पहिलो पटक डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना गरेको थियो । झण्र्ड २० वर्ष अर्थात् सन् १९९९ मा जीएसएम मोबाइल सेवा र सन् २००० मा इन्टरनेट सेवा शुरुवात गरेको हो ।

कम्पनीले मंसिर मसान्तसम्म २ करोड १३ लाख २५ हजारभन्दा बढीग्राहकलाई भ्वाइस सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १ लाख ६ हजार, सीडीएमए सेवाका ४ लाख ३७ हजार र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार रहेका छन् ।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार ११४ रहेका छन् भने एफटीटीएच डाटाका ग्राहक २ लाख ११ हजार ५७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । गत असोजसम्म दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ ।

कम्पनीले मंसिर मसान्तसम्म कुल २ करोड ६ लाख १८ हजार ६ सयभन्दा बढी ग्राहकलाई इन्टरनेट डाटा सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ८६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजाररहेका छन् । यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता १५ हजार ४५७ छन् ।

गत आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको ४४ अर्ब ३७ अर्ब रुपैयाँ कूल राजश्व रहेको छ । जसमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ ।

देशका सबै स्थानमा दूरसञ्चार सेवाको पहुँच पुर्याउन र डिजिटल डिभाइड न्यूनीकरण गर्न दूरसञ्चार पूर्वाधारहरु निर्माण कार्यलाई तीव्रता दिएको छ । समिक्षा अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित गरिसकेको छ । हाल थ्रीजी सेवा उपलब्ध भइरहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवा पुर्याउन अध्ययन भइरहेको कम्पनीले बताएको छ । फोरजी विस्तार कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीका अनुसार फाइबर नेट ६८ जिल्लामा पुगेको छ ।

कम्पनीले मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ मा कुल ५५ किमी र सुदूरपश्चिम प्रदेशमा कुल २०१  किमी अप्टिकल फाइबर नेटवर्क सञ्चालनमा ल्याएको छ । हालसम्म १ हजार १४४ किमी फाइबर नेट विस्तार कार्य सम्पन्न भइसकेको कम्पनीले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसा १० जीबीपीएस ब्याकबोन नेटवर्कलाई पूर्ण रुपमा विस्थापित गरी १०० जीबीपीएस ब्याकमोन नेटवर्क सञ्चालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.