सञ्चय कोषले लिलाम गर्दै कोहिनूर हाउजिङ्गको जग्गा र आवासीय भवन

  २०७९ माघ २० गते १३:२७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको ऋण नतिरेपछि कोहिनूर हिल हाउजिङ्ग प्रालिको सम्पत्ति लिलाममा बिक्री गरिने भएको छ । कोहिनूर हिल हाउजिङ्ग प्रालिको ललितपुर इमाडोल स्थित कोषको नाममा दृष्टिबन्धक रहेको कूल क्षेत्रफल १०–९–२–० जग्गा र निर्माणाधीन आवासीय भवनहरू लिलाम बिक्री गर्न लागेको हो ।

कोहिनूर हिल हाउजिङ प्रालि व्यवसायी सुधिर बस्नेतको हो । उनले लिएको ऋण चुक्ता नगरेपछि सञ्चय कोषले कोहिनूरको नाममा रहेको चल अचल सम्पत्ति लिलाम गरेर असुल गर्न लागेको हो ।

सञ्चय कोषले लिलाममा राखेको सम्पत्ति खरिद गर्न इच्छुकलाई १५ दिनभित्र बोलपत्र प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

सञ्चय कोषले ऋणीलाई पटक–पटक म्याद थप गर्दापनि ऋण चुक्ता गर्न भनेको थियो । तर, ऋणीले सम्झौतामा भएका सर्तहरु उलंघन गरेकाले चलअचल सम्पत्ति लिलामीमा राखेको कोषले बताएको छ । यदि ऋणीले अझै कोषलाई बुझाउनुपर्ने रकम लिलाम अवधिभित्र बुझाएमा लिलाम प्रक्रिया अन्त्य गर्ने बताएको छ ।

सञ्चय कोषले कोहिनूर हिल हाउजिङ्गलाई २३ करोड ७० लाख रुपैयाँ कर्जा दिएको थियो । उक्त ऋणको साँवा, ब्याजलगायत गरी कूल ९० करोड रुपैयाँभन्दा बढी पुगेको अनुमान सञ्चय कोषको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.