महँगो किने मात्र राम्रो हुन्छ भन्ने हाम्रो मानसिकता छ : अध्यक्ष पोद्दार

  २०७९ माघ २० गते १३:१०     विकासन्युज

सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) नेपाल सन् १९९२ मा स्थापना भएको हो । संघले स्थापना भएको ३ वर्षपछि अर्थात् सन् १९९५ देखि सूचना प्रविधिमा भएका नवीनतम सामाग्रीका बारेमा जानकारी गराउने उद्देश्यले क्यान इन्फोटेक गर्दै आएको छ । क्यान महासंघ माघ २४ गतेदेखि २९ गतेसम्म २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ आयोजना गर्ने तयारीमा छ । जुन सूचना प्रविधि सम्बन्धी प्रत्येक वर्ष मुलुककै ठूलो प्रदर्शनीका रुपमा लिइएको छ । यसै विषयमा रहेर विकासन्युजका सीआर भण्डारीले कम्प्युटर एशोसियसन महासंघका अध्यक्ष रञ्जीत कुमार पोद्दारसँग कुराकानी गरेका छन् ।

कम्प्युटर एशोसियसन महासंघ (क्यान)को इन्फोटेक २०२३ को तयारी कति पुग्यो ?

क्यान इन्फोटेक २०२३ इन एसोयिसट वीथ डिस होमको अन्तिम चरणमा पुगेको छ । सबै स्टलहरु बुक भइसकेका छन् । माघ २४ गतेदेखि भृकुटीमण्डपमा पूर्ण तयारी भइसकेको छ । बाहिरको ४/५ वटा ह्याङ्गर मात्रै बुक हुन बाँकी छन् ।

प्रत्येक वर्ष इन्फोटेक मेला गर्दै आउनु भएको छ, यसपटकको क्यान इन्फोटक विगतका वर्षभन्दा कसरी फरक हुन्छ ?

प्रत्येक इन्फोटेकमा नयाँ–नयाँ चिज मात्रै राख्ने गरिएको छ । किनभने टेक्नोलोजी बेस इभेन्ट भएको हुँदा टेक्नोलोजीले हरेक पल फड्को मारेको हुन्छ । क्यानले वर्षेनी गर्ने इन्फोटेक मेला हेर्दा उस्तै प्रकृतिको देखिन्छ । तर, त्यो भित्रको टेक्नोलोजी परिवर्तन भइसकेको हुन्छ । त्यसैले प्रत्येक वर्ष नयाँ प्रविधि, नयाँ सफ्टवेयर लगायत प्रविधि राखिएको हुन्छ ।

क्यान इन्फोटेक १९९५ देखि सानो ब्लु बर्डबाट सुरु भएको हो । विगत वर्षदेखि हालसम्म यो निरन्तर हुँदै आएको छ । सन् २०२१ मा कोरोना महामारीका कारण गर्न सकिएन । सूचना प्रविधिको विकास कहाँ, के, कसरी भएको छ भन्ने कुरालाई जानकारी गराउने उद्देश्यले निरन्तर हुँदै आएको छ । विगतभन्दा अहिले चुनौति धेरै छन् । थोरै समयमा ठूलो इभेन्ट गर्ने आँट गरेका छौं ।

यस्ता इन्फोटेक मेला गर्दा के फाइदा हुन्छ ?

यस्ता इन्फोटेक मेला गर्दा सचेतना बढ्छ । प्रविधि कति विकास भएको छ भन्ने खुलस्त हुन्छ । सर्वसाधारणले देख्न चाहेका सबै समावेश गरिएको हुन्छ । महासंघको आम्दानी पनि हुन्छ । एउटै छातामुनि १८० वटा स्टलमा फरक–फरक किसिमका प्रविधिहरुका बारेमा जानकारी पाइन्छ ।

साधारणतः प्रदर्शनीको लागि मात्रै इन्फोटेक मेला गरिएको हुन्छ । कारोबार धेरै हुँदैन । केही व्यवसायीहरुले कारोबार पनि गर्छन् । कति कारोबार हुन्छ भन्ने तथ्याङ्क यकिन हुँदैन । कतिपय अवलोकनकर्ता खरिद गर्ने उद्देश्यले आउँछन् । उनीहरुले बिक्री गर्न अनुरोध गरेपछि मात्रै बिक्री गरिने हो । यो एउटा प्रचारप्रसार गर्ने थलो मात्रै हो । ग्राहकहरुलाई खरिद गर्ने ठाउँसम्म पुर्याउन यसले सहयोग गर्छ ।

क्यान महासंघको स्पोन्सर, टिकट बिक्री भएको रकमबाट नै सम्पूर्ण खर्च धानेको हुन्छ । भृकुटीमण्डपमा ६ दिनको इभेन्ट गर्दा ३० लाख रुपैयाँ भाडा तिर्नुपर्छ । स्टल वा ह्याङ्गर जडानमा मात्रै ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । विद्युतमा १० लाख रुपैयाँ हुन्छ । यस्तै, प्रचारप्रसारको लगायत सबै जोड्ने हो भने करोडौं खर्च हुन्छ । त्यो सबै स्पोन्सरबाट आएको रकमले धान्ने हो ।

अवलोकनकर्ताले शुल्क तिरेर प्रवेश गर्नु हुन्छ, शुल्क तिरेवापत उनीहरुलाई के फाइदा हुन्छ ?

मेलामा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १ सय रुपैयाँ तोकिएको छ । यो शुल्क १० वर्षदेखि लिँदै आएको हो । मेला नि:शुल्क गर्यो भने भीड मात्रै हुन्छ । तर, शुल्क तोकियो भने आवश्यक मान्छेहरु मात्रै गएर ज्ञान लिएर फर्किनुहुन्छ । पे वेल मोबाइल वालेटबाट टिकट खरिद गर्दा २५ रुपैयाँ मात्रै शुल्कको व्यवस्था गरिएको छ । इन्फोटेकमा १८० वटा स्टलबाट आफूलाई चाहिने ज्ञान लिनु नै धेरै फाइदा हुन्छ ।

यसबाट इन्टरनेटका प्याकेज, नयाँ–नयाँ ल्यापटप, नयाँ मोबाइल, कलेजहरुका विद्यार्थीले उत्पादन गरेका प्रविधिहरु, कलेजमा पढाई हुने प्रविधि सम्बन्धी शैक्षिक गतिविधि बारेमा जानकारी लिन सकिन्छ । आईटीसम्बन्धी विषय पढ्दै गरेका विद्यार्थीहरुले भविष्यमा कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने जानकारी लिन सक्छन् । यहाँ २०/२५ वटा स्टार्टअपहरुलाई राम्रो स्थान दिईएको छ । केहीलाई नि:शुल्क र केहीलाई सानो रकम मात्रै लिएका छौं ।

पछिल्लो समय युट्युब र सामाजिक सञ्जाल वा गुगलबाटै सूचना प्रविधि सम्बन्धी आवश्यक सामाग्री हेर्न मिल्छ, भौतिक रुपमा उपस्थित नै किन हुनुपर्यो ?

यो त प्रविधिले फड्को मारेको हो । आज त्यहि प्रविधि विकास नभएको भए इन्फोटेकमा जानै पर्ने बाध्यता हुन्थ्यो । अनलाइनमा नै भएको कुरा इन्फोटेकमा छ भने किन जाने भन्ने पनि छन् । विगत वर्षभन्दा अवलोकनकर्ताको संख्या घटेको पनि छ । विश्वव्यापी नै अवलोकनकर्ताको संख्या घटेको देखिन्छ । अनलाइनवालाहरुले इन्फोटेकमा राखिएका सामाग्रीहरु बिक्री गरिरहेका छन् भने अझै विश्वास बढ्छ । भोलिका दिनमा यहि इभेन्ट गर्नुपर्छ भन्ने जरुरी छैन ।

अनलाइन देखेको र भौतिक रुपमा देखेको कुरामा धेरै फरक हुन्छ । अनलाइनमा स्क्रिन वा फोटो मात्रै हेरिन्छ । इभेन्टमा आइसकेपछि चलाएर अनुभव गर्न पाइन्छ । मलाई कस्तो चाहिएको छ, त्यो यहाँ छ की छैन, यसले मेरो काम गर्छ क गर्दैन रु इभेन्टमा आइसकेपछि हेर्न, छुन र चलाउन पाइन्छ ।

अहिलेसम्म सूचना प्रविधिमा के उत्पादन गरेर निर्यात गरिरहनु भएको छ ? 

अहिले हामीले सफ्टवेयर मात्रै उत्पादन गरेर निर्यात गरिरहेका छौं । स्वेदशमा नै आउट सोर्सिङका कामहरु भइरहेका छन् । नेपालमा नै बसेर बाहिरका कामहरु गरिरहेका छन् । नेपालमा प्रयोग हुने सफ्टवेयर विदेशमा पनि प्रयोग भइरहेका छन् ।

हरेक नेपालीलाई डिजिटलाइज गर्न क्यान महासंघले कस्तो भूमिका खेलेको छ ? 

हरेक नेपाली डिजिटल बन्दैछन् । सरकारका हरेक कामकारवाहीहरु डिजिटल माध्यमबाट भइरहेका छन् । सहर वा केन्द्रमा मात्रै डिजिटल गरेर हुँदैन । क्यान महासंघ ७४ जिल्लामा पुगेको छ । ति सबै जिल्लामा सचेतना दिने काम भइरहेको छ विस्तारै सबै प्रविधिमैत्री बन्दैछ । एउटा मोबाइल छ भने अन्य केही आवश्यक पर्दैन ।

केही ठाउँमा वालेट प्रविधि चलाउन नसक्ने हुन सक्छन् । सबै ठाउँमा प्रविधिको पहुँच नपुगेको हुन सक्छ । त्यो ठाउँमा क्यान महासंघले सचेतना फैलाउने काम गरिरहेको छ । हामीले सबै जिल्लामा शाखा सञ्चालन गरेका छौं । जनमानसमा प्रविधिको जानकारी र प्रयोग गराउन जिल्लाका साथीहरुले काम गरिरहनु भएको छ ।

क्यान महासंघले सातै प्रदेशमा इन्फोटेक गरिरहेको छ । मधेश प्रदेशमा फागुन ४ गतेदेखि, सुदूरपश्चिम प्रदेशमा फागुन १३ गतेदखि, गण्डकी प्रदेशमा फागुन २६ गतेदेखि, बागमति प्रदेशमा चैत २ गतेदेखि, प्रदेश नम्बर १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा पनि चाँडै गर्ने तयारी छ । सूचना प्रविधिलाई जनतामाझ लैजान आवश्यक छ । बुटवलबाट सुरु भएर धरान, हेटौडा लगायत सबै ठाउँमा क्यान महासंघले इन्फोटेक गरिरहेको हुन्छ ।

सूचना प्रविधिका सामाग्रीहरु सर्वसुलभ छैनन्, सस्तो लागतमा किन पाईंदैनन् ?

यस विषयमा सर्वसाधारण नै आफै सजग हुनुपर्छ । किनभने ग्राहकलाई के चाहिएको छ रु कुनै कुरा खरिद गर्दा के को लागि हो रु मैले यसमा के चलाउने हो रु भनेर ग्राहक आफैं सजग हुन जरुरी छ । जस्तो एउटा ल्यापटप ३० हजार रुपैयाँबाट सुरु हुन्छ । नर्मल चलाउने हो भने ३० हजारको खरिद गरे पुग्छ । त्यहि ल्यापटप ३ लाखभन्दा पनि बढी पर्छ । मैले महँगो किने भने राम्रो हो भन्ने हाम्रो मानसिकता छ । यसमा परिवर्तन गर्न जरुरी छ । यदि ३५ हजारको ल्यापटपले काम हुन्छ भने महँगो किन्नु भएन । यदि त्यो ल्यापटपले पुग्दैन भने महँगो किन्नु पर्यो ।

काम कति गर्ने हो त्यहि अनुसारको सामाग्री खरिद गर्नु पर्यो । के चलाउने र कति वर्ष चलाउने हो त्यो स्पष्ट हुनु पर्यो । आज किनेर १० वर्ष टिक्छ भन्ने हुँदैन । प्रविधि ३/४ वर्षमा परिवर्तन भइसकेको हुन्छ । आज एउटा ल्यापटप किनेको छ भने केही वर्ष पछि त्यसका हार्डवेयर र सफ्टवेयर परिवर्तन भइसकेको हुन्छ । आवश्यकताका आधारमा किन्नुपर्छ ।

रिफर्मेस सामाग्री विश्वाव्यापी रुपमा नै बिक्री भइरहेका हुन्छन् । जस्तो कुनै सामान एकचोटी आएर बिग्र्यो भने कम्पनीले बनाएर पुनः सस्तो मूल्यमा बिक्री गर्छ । यस्ता सामाग्री नेपाल सरकारले ब्याण्ड गरेको छ । ल्याउन नपाउने सामाग्री बिक्री भइरहेका छन् भने सरकारले नै रोक्नपर्छ । यदि सरकारले त्यस्ता रिफर्मेस सामाग्री चिन्दैन भने क्यान महासंघ हातेमालो गर्न तयार छ ।

अहिलेको परिपक्ष्यमा सूचना प्रविधिमा कस्तो परिवर्तन भएका छन् ?

सूचना प्रविधिमा नयाँ एआई आएका छन् । हिजोका दिनमा टूजी मोबाइल फोन थिए । अब फाइभजी नेपाल टेलिकमले लञ्च गरिरहेको छ । हाम्रो इभेन्टमा पनि टेलिकम आएको छ । यसरी नयाँ प्रविधि आइरहेका छन् ।

सूचना प्रविधिको भविष्य कस्तो छ ?

सूचना प्रविधिको भविष्य ठूलो छ । यो अब कहिले पनि घट्दैन । बढ्दै जान्छ । हिजोका दिनमा किबोर्ड मोबाइल प्रयोग गथ्र्यौं भने अहिले धेरै किसिमका आएका छन् । भोलिका दिनमा आवश्यक पर्ने सबै प्रविधि आउँछन् । प्रविधि प्रयोग गरेर घरबाटै अफिसको काम गर्न सकिएको छ । घरबाटै शिक्षा लिन सकिएको छ । हिजोका दिनमा यस्तो सुविधा थिएन । आज सम्भव भएको छ । अझै यस्ता थुप्रै प्रविधि आउँछन् जुन कल्पना पनि गर्न सकिँदैन ।

सरकारले विदेशमा रहेका नेपाली कामदारलाई मोबाइल फोन ल्याउन रोक लगायो, पुनः खुला गर्यो, यसले तपाईंहरुलाई कति असर गर्छ ?

यसले हाम्रो व्यापार व्यवसायमा कुनै असर गर्दैन । आजका दिनमा डलर सञ्चिती घट्दैछ । विदेशमा बसेका नेपालीहरुले मेहेनत गरेर पठाएको रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । उहाँहरुको योगदानलाई कदर गरेर मोबाइल फोन ल्याउन दिनुपर्छ । बरु जसको रेमिट्यान्समा योगदान छैन उसलाई मोबाइल ल्याउन रोक लगाउँ । बरु ३ दिनको लागि विदेश घुम्न गएकालाई विदेशबाट २ वटा मोबाइल ल्याउन दिनु हुँदैन । यसरी २र४ दिनका लागि विदेश घुम्न गएर मोबाइल फोन ल्याउने हो भने मात्रै हाम्रो व्यापारलाई घाटा हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेला कस्तो असर परेको छ ? 

यसको असर अहिले चारैतिर छ । अहिले व्यापार व्यवसाय पनि बढेको छैन । सुस्ताएको छ । हिजोका दिनमा ८ प्रतिशत ब्याजमा कर्जा दिइन्थियो भने आज यो १६ प्रतिशत पुगेको छ । दैनिक खर्च  पनि बढेको छ । आम्दानीको स्रोत छैन । व्यापार व्यवसाय सञ्चालन भएको भए १५ प्रतिशत ब्याज पनि तिर्न सकिन्छ । तर, पहिला भन्दा व्यापार घटेर खर्च मात्रै बढेको छ । सूचना प्रविधि व्यवसायीहरुको ७० प्रतिशत व्यापार घटेको छ । व्यापार व्यवसाय नभएपछि केही कम्पनीले नवीकरण नै गरेका छैनन् । उनीहरुको लाइसेन्स पनि खारेज भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.