प्रिमियममा नेकोलाई पछ्याउँदै तेश्रो स्थानमा उक्लियो हिमालयन एभरेष्ट, प्रिमियर र सानिमा जिआईसीबीच टक्कर

  २०७९ माघ १९ गते १८:१९     विकासन्युज

काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अन्य कम्पनीहरुभन्दा मर्जरपछि बनेका नयाँ कम्पनीहरु बीमाशुल्क आर्जनमा आक्रामक देखिएका हुन् ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा व्यवसायबाट कूल २० अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएका छन् । सञ्चालित १८ कम्पनीहरुले कूल १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिनाको तुलनामा २५.६८ प्रतिशतले बढी हो । गत मंसिरसम्ममा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।

जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता नै रहेको छ । कम्पनीले पुससम्ममा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन एक महिनाको तुलनामा ७२.१७ प्रतिशतले बढी हो । प्रतिशतको आधारमा पनि कम्पनीले सबैभन्दा बढी वृद्धि गरेको तथ्यांकले देखाउँछ ।

त्यस्तै, दोश्रोमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक महिनामा २०.९० प्रतिशतले बढाएर १ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जसलाई साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछ्याउँदै तेश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन मंसिरको तुलनामा ३६.७९ प्रतिशतले बढी हो ।

यसअघि तेश्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स चौथोमा झरेको छ । यद्पि कम्पनीको व्यवसाय भने १५.७३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

१८ कम्पनीमध्ये ९ कम्पनीहरु अर्ब क्लबमा छन् । गत मंसिरमा करोडको क्लबमा रहेका एनएलजी, प्रिमियर र सानिमा जीआईसी यो पटक भने अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । यीमध्ये सानिमा जीआईसी हालै मर्जरपछि बनेको कम्पनी हो, जसले समीक्षा अवधिमा २२.२९ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । गत मंसिरसम्ममा ८३ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब एक करोड ६४ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।

त्यस्तै, सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्स्योरेन्सले ६ महिनामा ४९ करोड ४० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १९.४५ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.