राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जान्छ : गभर्नर अधिकारी

  २०७९ माघ १९ गते ८:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

यस्तै, गभर्नर अधिकारीले निजी क्षेत्रका सबै समस्या सम्बोधन गर्न सकिने अवस्था नरहेको बताए । निजी क्षेत्रले सीमा भन्दा बढी आशा गरेको हुँदा सबै समस्या समाधान नहुने उनले बताए ।

‘मौद्रिक नीतिका आफ्नै सीमा छन् तर ती सीमाभन्दा निजी क्षेत्रका आशा निकै बढी छन्, कतिपय मौद्रिक उपकरण छोटो समयका लागि कार्यान्वयनमा ल्याइएका छन्, अर्थतन्त्रको अवस्था सहज हुँदा कसिलो मौद्रिक नीति खुकुलो हुँदै जान्छन्,’ गभर्नर अधिकारीले भने ।

‘समग्र आर्थिक सन्तुलनका लागि आन्तरिक उत्पादन बढाउन पर्ने आवश्यकता रहेको उनले बताए । जसका लागि आयातमा निर्भर उपभोग तथा राजस्व प्रणाली, अर्थतन्त्रमा ठूलो योगदान रेमिटेन्सको रहनुजस्ता अवस्थाका कारणले बाह्य क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।

विगतमा बाह्य क्षेत्रमा देखिएको प्रभाव अनपेक्षित रहेको उनको भनाइ छ । अहिले तरलता अभाव समस्या विस्तारै कम हुँदै गएको गभर्नर अधिकारीले बताए । कुनै उद्योगी व्यवसायी बैंक वित्तीय संस्थाबाट पीडित भएको भए त्यसको जानकारी राष्ट्र बैंकलाई दिन पनि गभर्नर अधिकारीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.