१० वटा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी : पोलिसी रोक्नेदेखि १० लाखसम्म जरिवाना लाग्ने

  २०७९ माघ १८ गते २०:०१     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा विवरण पेश नगरेको भन्दै विभिन्न १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । समयमा विवरण पेश नगरेका ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटालाई बुधबार पत्रचार गर्दै समयमा विवरण बुझाउन प्राधिकरणले चेतावनी दिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएका १० कम्पनीलाई चेतावनी दिइएको प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए ।

‘बीमा कम्पनीहरुले आफ्नो कारोबारको चौमासिक विवरण पेश गर्नुपर्ने हुन्छ, त्यो नगरेको कारणले जीवन र निर्जीवन गरी १० वटा कम्पनीलाई पहिलो पटक सचेत गराइएको हो,’ प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए ।

उनकाअनुसार समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फबाट राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले आफ्नो कारोबारको चौमासिक विवरण बुझाएका छैनन् ।

प्राधिकरणले पहिलो पटकका लागि यी १० कम्पनीलाई पत्राचार गर्दै चेतावनी दिइएको र पटक पटक दोहोरिएमा नगद जरिवानासमेत हुन सक्ने निर्देशक लाल बताउँछन् ।

‘अब पनि सुध्रिएन भने सम्पत्ति शुद्धिकरणमा १० लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ,’ उनले विकासन्युजसँग भने ।

बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले प्रत्येक चार/चार महिनामा कति कारोबार गरे, कुन कुन पोलिसी जारी गरे, शंकास्पद कारोबार भएमा कस्ता कस्ता भए लगायतका सबै विवरण बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेमा कम्पनीहरुलाई नगद जरिवानादेखि पोलिसी जारी गर्न नपाउनेसम्मको कारवाही हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.