‘१५ प्रतिशत ब्याजमा कर्जा दिँदा पनि लघुवित्तले ठग्यो भन्छन्’

  २०७९ माघ १८ गते १६:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र सकारात्मक अवस्थामा छैनन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ । वित्तीय संस्थाहरुले ऋणीलाई लिएको ऋण असुल गर्न पनि हम्मे–हम्मे परिरहेको छ । नाफा घटिरहेको छ भने गैर बैंकिङ सम्पत्ति बढिरहेको छ । वित्तीय संस्थाको खराब कर्जामा पनि वृद्धि भइरहेको छ ।

लघुवित्तहरुको नाफा र लघुवित्तले सेयरधनीलाई दिने लाभांशको विषयमा पनि सर्वसाधारणदेखि नियामक नेपाल राष्ट्र बैंकले पनि बेला बखत प्रश्न उठाउँछ । बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा पनि उद्योगी व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् भने लघुवित्तको औचित्यतामाथि पनि प्रश्न उठिरहन्छ । यी विविध विषयमा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्सालसँग कुराकानी गरेका छौं ।

बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, लघुवित्त संस्थाहरुको बाँकी छ, लघुवित्त संस्थाहरुको दोस्रो त्रैमास कस्तो आउँछ ?

अधिकांश लघुवित्त वित्तीय संस्थाहरु समस्यामा छन् । आधा जति लघुवित्त संस्था घाटामा जान्छन् । पहिलो त्रैमासमा पनि केही लघुवित्त घाटामा गएका थिए । त्यो संख्या दोस्रो त्रैमासमा बढ्छ ।

यसरी घाटामा जाने स्थिती कसरी आयो ?

रिकभरि कम भएको छ । अहिले व्यवसाय सञ्चालन हनु नसकेर व्यापार कम भएको छ । अधिकांश मान्छेहरुको दैनिकी अफ्ठ्यारोमा चलिरहेकाले कर्जा तिर्न नसक्ने अवस्थामा छन् । खराब कर्जाको दर बढेपछि जोखिम कम गर्न बैंक तथा वित्तीय संस्थाले प्रोभिजन राख्नुपर्छ । समय र बजार सापेक्ष लघुवित्तको ब्याजदर अनुकुल छैन । लघुवित्त संस्थाले विगत २ वर्षदेखि १५ प्रतिशत मात्रै ब्याजदर लिइरहेका छन् । लघुवित्तले १३/१४ प्रतिशतमा सापटी ल्याएर १५ प्रतिशतमा लगानी गर्दा लागत बढेको छ । निक्षेप धेरै भएका केही पुराना संस्थाहरु भने बैंकबाट सापटि ल्याउनु नपरेको कारण नाफामा छन् ।

यो किसिमको सकस कहिलेसम्म रहला ?

राष्ट्र बैंकले लघुवित्त संस्थालाई आधार दर सार्वजनिक गर्न भनेको छ । त्यसैको आधारमा लगानी गर्न पाइन्छ भन्ने आशावादी छौं । राष्ट्र बैंकले लघुवित्तको आधारदर कति हुन्छ भनेर अफिसियल्ली जानकारी लिने गरेको भएपनि अब सार्वजनिक रुपमा सर्वसाधारणलाई माघदेखि जानकारी दिन निर्देशन दिएको छ । लघुवित्तको खर्च वा लागत कति हुन्छ भनेर सबैले थाहा पाउनु हुन्छ । त्यसैको आधारमा ब्याजदर निर्धारण गर्न पाउँछौं भन्ने आशा छ ।

बैंक तथा वित्तीय संस्थाहरुको खराबकर्जा बढेको छ, लघुवित्तहरुको स्थिति पनि त्यस्तै हो ?

पहिलो त्रैमासमा लघुवित्तको खराब कर्जा ३ प्रतिशतको हाराहारीमा थियो । अहिले एभरेज ४ प्रतिशतको हाराहारीमा छ । तर, यथार्तमा याे फरक पर्न सक्छ । किनभने बैंक तथा वित्तीय संस्थाहरुमा व्यक्तिलाई समस्या परेको हुँदा नवीकरण गर्न समय थप दिएको हुन्छ । त्योबेला जोखिम देखिन्छ । वाणिज्य बैंकहरुको साढे २ प्रतिशत र लघुवित्त संस्थाहरुको ४ प्रतिशत खराब कर्जा दर छ । भित्र बढी पनि हुन सक्छ । सरकार र राष्ट्र बैंकले दिएका तथ्याङ्कभन्दा यथार्थ फरक हुन्छ । गत वर्ष ६/७ प्रतिशतको आर्थिक मुल्यवृद्धि भएको थियो । तर, बजार १०/१२ प्रतिशतको असर भएको हुन्छ । संसारभरि मन्दीका कारण आर्थिक गतिविधि वा व्यापार व्यवसाय कम हुँदा असर गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको वास्तविक वित्तीय विवरणमा भएको खराब कर्जा र यथार्तमा फरक हुन्छ भन्न खोज्नु भएको हो ?

एउटा व्यापारीले पैसा तिर्न नसकेपछि समय माग्दा डकुमेन्ट मिलाउँदा नवीकरण नगरेको हुन्छ । त्यसले जोखिम बढेको हो । मान्छे समस्यमा पर्नु भनेको पैसा तिर्ने क्षमतामा कमी आउनु हो । भोलिका दिनमा साे व्यक्तिले पैसा तिर्छ की तिर्दैन भन्ने कुनै ग्यारेन्टी हुँदैन । भोलि झनै समस्या आउन सक्छ । जसले गर्दा तथ्याङ्क र यथार्तमा फरक हुन सक्छ भन्न खोजेको हो । तथ्याङ्क लुकाएको भन्न खोजेको होइन ।

पछिल्लो समय ऋणीहरुले कर्जा नतिरिरहेको बेला बैंकहरुले धितोलाई लिलामीमा राख्ने र अरुले पनि त्यो धितो किन्न नसक्ने अवस्था छ, जसले गर्दा गैर–बैंकिङ्ग सम्पत्ति बढेको छ, लघुवित्तमा पनि अवस्था त्यस्तै हो ?

लघुवित्त संस्थामा धितोमा २० प्रतिशत मात्रै कर्जा प्रवाह हुन्छ । ८० प्रतिशत कर्जा बिना धितो प्रवाह हुन्छ । धितोमा कर्जा कम भएपछि लिलाम पनि कम हुन्छ । त्योपनि सानासाना कर्जामा मात्रै धितो हुन्छ जस्तो विजय लघुवित्तले १० वर्षदेखि धितो लिलाम गरेको छैन । धितोमा कर्जा दिएपछि लघुवित्त पनि लिलाम गर्न सक्छन् । तर, यसले राम्रो सन्देश दिँदैन । लघुवित्तमा तुलनात्मक रुपमा धितोमा कर्जा कम जाने भएकोले गैर बैंकिङ्ग सम्पत्ति बढ्ने भन्ने हुँदैन ।

बैंक तथा वित्तीय संस्थाको काम भनेको ऋण र बचतको नै हो, यसरी धितो धमाधम लिलाम हुने र त्यो धितोहरुले खरिद नगर्दा गैर सम्पत्तिकै बैंक बन्ने हुन् कि भन्ने बुझाइ पनि धेरैको छनी ?

लघुवित्त संस्थाहरुमा त्यो समस्या छैन । संस्थाहरुले धितो लिएर लिलाम गरेको छैनन् । बैंक तथा वित्तीय संस्थामा पनि त्यस्तो नहनुपर्ने हो । अहिलेको यो समस्या सर्टटर्म हो । किनकी अर्थतन्त्रको सिद्धान्तमा मन्दी, जोखिम लगायतअन्य संकट सामान्य हुन् । फेरी केही समयपछि रिकभरी भएर विस्तारै सुधार हुन्छ । सिद्धान्तमा पढेका कुराहरु व्यवहारमा लागू गरिरहेका छौं । अर्थतन्त्रको चक्र निरन्तर चलिरहन्छ । सधैं यस्तै स्थिती रहिरह्यो भने भविष्यमा पक्कै गाह्रो हुन्छ ।

व्यापार व्यवसाय बढ्ने र मान्छेहरुसँग पैसा हुँदै गएपछि त्यो कर्जा तिरेर लिलाममा गएको सम्पत्ति फेरि फिर्ता लैजान सक्छ । अहिले आशावादी बनौं । सबै बिग्रीन्छ भन्ने हुँदैन । पछिल्लो समय आत्महत्याको केसहरु बढ्दै गएका छन् । अब आत्महत्याको संख्या बढ्दै जान्छ की भन्ने अनुमान गरिएको छ । यस्ता घटनालाई सरकारले सम्बोधन गरेर न्यूनिकरण गर्नुपर्छ । त्यस्ता घटना दोहोर्याउनुभन्दा पनि पाठ सिकेर आगामी दिनमा थप घटना हुनबाट रोक्नु पर्छ । कतिपय केसहरु बैंकको कर्जा तिर्न नसकेर यस्तो स्थिती आयो भन्दैछन् । अहिलेको अर्थतन्त्रको समस्या केही समयको लागि मात्रै हो ।

पछिल्लो समय बैंकको ब्याजदर उच्च भएका कारण ऋण तिर्न नसकेर आत्महत्या र व्यवसायीहरु आन्दोलित हुनु परेको छ, तपाईंहरुको मनलाग्दी ब्याजले व्यवसायीलाई पेलेकै हो ?

होइन । अहिलेको समस्याको प्रभाव र अन्तरदेशीय प्रभाव हामीलाई पनि पर्छ । नेपालले मात्रै छुट्टै तरिकाले चल्छु भनेर हुँदैन । राष्ट्र बैंकले बैंकदर बढाउँदा हामीले पनि बढाउनुपर्ने बाध्यता आएको हो । यदि ब्याजदर सस्तो भयो भने पैसा बाहिर जाने समस्या बढ्छ । निक्षेपकर्तालाई पनि प्रोत्साहन गर्न र पैसा बाहिर जान नदिनलाई ब्याजदर बढाएको हो । बैंकले निक्षेपमा १२ प्रतिशत दिएको छ भने कर्जामा १६ प्रतिशतलिनु स्वभाविक हो । बैंकहरुले ४/५ प्रतिशतको मार्जिन राख्नु ठिकै हो ।

खर्च अनुसार आफ्नो लागत निर्धारण गर्नु ठिकै हुन्छ । निक्षेपकर्ताले १३ प्रतिशतसम्म ब्याज पाएका छन् । त्यसैले बैंकले ग्राहकलाई पेल्नेभन्दा पनि पैसा नै महँगो भएको हो । नेपालमा मात्रै होइन, अमेरिका, बेलायत लगायतका देशमा पनि ब्याजदर बढेको छ । अमेरिकामा कुनै बेला १ प्रतिशत ब्याजदर थियो भने अहिले ७/८ प्रतिशत पुगेको छ । बेलायतमा १२/१३ प्रतिशत पुगेको छ । नेपालको ब्याजदर अन्य देशको तुलनामा कम हो । यस्तो अवस्थामा जहिले पनि ब्याजदर बढ्छ । बरु सबै पक्षले यसलाई नियन्त्रण गर्नुपर्छ । बैंकहरुको स्प्रेड वा मार्जिन कति लिएका छन् भन्ने कुराहरुलाई ध्यान दिन जरुरी छ । मार्जिन वा स्प्रेड धेरै छ भने घटाउन आवश्यक छ । तर, ब्याजदर बढी भयो भन्नु उचित होइन । १६/१७ प्रतिशत ब्याजदर १३ प्रतिशत निक्षेपमा दिएको हो । १३ प्रतिशत निक्षेपमा दिएपछि ऋण कति प्रतिशतमा दिनु पर्छ ? स्वभाविक रुपमा ३/४ प्रतिशत थप हुन्छ । यो पनि सबैको हुँदैन । कुनै कुनै प्रडक्टको मात्रै हुन्छ ।

लघुवित्त संस्थाको ब्याजदर बढी भयो भनेर जुलुस निकालेका छन् । तर, लघुवित्त संस्थाहरु घाटामा छन् । १५ प्रतिशतमा सापटी लिएर १५ प्रतिशतमा कर्जा प्रवाह गर्दा पनि लघुवित्तले ठग्यो, बढी पैसा असुल्यो भनिरहेका छन् । त्यसकारण हामी यथार्थपरक हुनुपर्छ । कति नाफा राखेको छ, मार्जिन कति छ, खर्च कति छ भनेर हेर्नुपर्छ । आधार दरसँग तुलना गर्नुपर्छ । अहिले बैंकहरुको स्प्रेड दर पनि ४ प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले अटोमेटिकल्ली नाफा घटाउन खोजिरहेको छ । सीमामा रहेर वाणिज्य बैंकले नाफा गर्न खोजिरहेका छन् न की ठग्न खोजेको । भोलिका दिनमा निक्षेपकर्तालाई ब्याज कम दिने बित्तीकै कर्जाको ब्याजदर स्वतः घट्छ । माघदेखि १ प्रतिशत ब्याजदर घटिसकेको छ । एकैचोटी १५ प्रतिशतबाट १० प्रतिशतमा आउँछ भन्ने पनि हुँदैन । राम्रो हुँदै गयो भने फागुनमा अझै १ प्रतिशत घट्न सक्छ । एउटा पक्षलाई मात्रै हेरेर ठूलो मुद्धा बनाउनु हुँदैन ।

उद्योग व्यवसाय बैंकको ब्याजदरले मात्रै अप्ठ्यारोमा परेका होइनन् । मसँग पर्चेचिङ क्षमता नै छैन । म होटलमा गएर किन्न र बस्न सक्दैन । मेरो आफ्नो क्षमताले भ्याएको छैन भने बैंकदर बढ्यो/घट्योसँग सम्बन्धित हुँदैन । व्यवसाय राम्रोसँग चलेको छ भने ब्याजदर बढ्दा केही फरक पर्दैन । ऋण सहज रुपमा तिर्न सकिन्छ । व्यापार नै हुँदैन भने व्याजदर ५ प्रतिशत भएका बेला पनि डुब्छन् । अहिलेको समस्या व्यापार नभएर नै हो । बैंकको व्याजदर मात्रै कारण होइन । ग्लोबल्ली रसिया र यूक्रेन युद्धले असर गरिरहेको छ । व्यापार–व्यवसाय राम्रो भयो भने १५ प्रतिशत व्याजदरले केही समस्या हुँदैन ।

राष्ट्र बैंकले लघुवित्तको व्याजदरमा सीमा तोकेको छ, त्यो सीमा हटाउन राष्ट्र बैंक कत्तिको सकारात्मक छ ?

राष्ट्र बैंकको अहिलेसम्मका निर्णय हेर्दा आधार दरमा लागू गर्नेमा हामी आशावादी छौं । यदि आधार दर प्रकाशन गरेपछि क्याप हट्छ भन्नेमा विस्वस्त छौं ।

व्यवसायी चलेन, समस्यामा पर्याै भनेर कतिपय व्यवसायीले आत्महत्या गर्ने अवस्था आएको छ, अधिकांश लघुवित्त नोक्सानमा छन् भन्नु भयो, यो समस्याको समाधान कसरी गर्न सकिन्छ ?

समय एकदमै प्रबल छ । समय चक्रलाई तपाईं हामी कसैले टार्न सक्दैनौं । नीतिहरुमा केही सहज बनाउन सकिन्छ । अहिले हामी बाँचौं र बचाऔं भन्नेमा काम गरिरहेका छौं । राष्ट्र बैंकले पनि केही नीतिमा खुकुलो र केहीमा कडाइ गरेको छ । अनियन्त्रित लगानी भएको थियो । कर्जाको ग्रोथ धेरै भएपछि राष्ट्र बैंकले कडाइ गर्याे । पहिला २० प्रतिशत ग्रोथ थियो भने अहिले १२ प्रतिशतमा झरेको छ । त्यसकारण समय नै सबैभन्दा महत्वपूर्ण हो । नीति पनि मुद्धा अनुसार समायोजन पनि गर्नुपर्छ । तपाईं हामी पनि संयमित हुनुपर्ने बेला छ । सरकार र राष्ट्र बैंकको नियन्त्रणले मात्रै समाधान हुने स्थिती छैन । यो बाहिरी परिवेश हो भनेर बुझ्न जरुरी छ ।संयमित भएर खर्च कटौति गर्न सक्यो भने अबको ६ महिना वा १ वर्षभित्र सुधार हुन्छ । राष्ट्र बैंक र अर्थमन्त्रालयले कोर्डिनेशन मात्रै गर्ने हो । सबैको भूमिका रहन्छ । यस्तै, उद्योगी व्यवसायीलेसहयोगी भूमिका खेल्नुपर्छ । अहिले कर्जा तिर्न नसकेपनि समय माग गर्न सकिन्छ । यो वर्ष नाफा नभएअर्काे वर्ष नाफा कमाएर चुक्ता गर्छाै भन्न सक्नुपर्छ ।

पब्लिक वा ब्यक्तिगत दैनिक खर्च पनि कटौति गर्नुपर्छ । पहिला धेरै गरिन्थ्यो भने अहिले कम गर्नुपर्याे । विदा भ्रमण जानु हुन्थ्यो भने यसपटक नजानुस् । जीवन संघर्षशील छ । सधैं सजिलो हुँदैन । आज सजिलो छ, भोलि असजिलो हुन्छ । समय सापेक्ष हुनु पर्छ, आत्तिनु हुँदैन । चल्नै नसक्ने अवस्था पनि हुनु हुँदैन । अलिअलि चल्ने अवस्था वा बच्ने अवस्था छ भने खुशी हुनसक्नुपर्छ । कर्मचारी पाल्न र स्थिर रहन सक्यो भने मात्रै अर्काे वर्ष नाफा कमाउन सकिन्छ भन्नेमा विश्वस्त हुनुपर्याे । हिजोका दिनमा मैले यति नाफा कमाएको थिए, आज पजि प्रतिशत नाफा कमाउनै पर्छ भनेर चिन्तित हुनु हुँदैन । यो वर्ष नाफा भएन भनेर सेयरधनीहरुलाई पनि बझाउन सक्नुपर्छ ।

यस्तो अवस्थामा लाभांश बढी हुनु पर्यो भनेर सेयरधनीबाट दबाब पनि आउँछ ?

अहिलेसम्म सेयरधनीहरुले ठूलो दबाब दिनु भएको छैन । तर, एउटा संस्थाको सीईओ भइसकेको हुनाले नाफामा हुनुपर्छ भन्ने दबाव स्वभाविक हुन्छ । किनकी कम्पनीको जिम्मा लिएर व्यवस्थापन गरिरहेको हुन्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा दबाव हुन्छ । तर, अहिलेको अवस्था दवाव हुनुहुँदैन । स्वभाविक रुपमासेयरधनीहरुले रिटर्न पाउनुपर्याे । गत वर्षको जति प्रतिफल दिनैपर्छ भन्ने गरेका छन् ।

पाँच दर्जनभन्दा बढी लघुवित्त संस्थाहरु छन् तर एजीएम क्लियरेन्सका लागि एक दर्जन मात्रै राष्ट्र बैंक पुगेका छन्, लघुवित्तहरुले साधारणसभा गर्न नचाहेका हुन् ?

यसमा विभिन्न कारणहरु छन् । राष्ट्रिय स्तरका लघुवित्त संस्थाहरुले एनएफआरएसमा रिपोर्टिङ गर्नुपर्ने भएकाले ढिला भएको हो । लघुवित्त संस्थालाई त्यो ढाँचामा गर्न सकस परेको हो । केही हाम्रा पनि कमी कमजोरी छन् । त्यसमा सुधार गर्ने राष्ट्र बैंकको आशय हो । त्यो सुधार गर्नुपर्दा पनि ढिला भएको हो । तर, नपठाएको भन्ने होइन । थोरै लघुवित्तले मात्रै पठाउन बाँकी छ । केही लघुवित्तले स्वीकृति पाएर साधारण सभा गरिरहेका छन् । केही प्रक्रियामा र केही पठाउने तयारीमा छन् । विगतमा पुस मसान्तभित्र प्राय सबै लघुवित्त को साधारण सभा सम्पन्न हुन्थ्यो । अहिले धेरैको भएको छैन । तर, नपठाउने र नगर्ने भनेको होइन । प्राविधिक अवरोधले ढिला भएको हो ।

लघुवित्त संस्थाहरुले ग्राहक सदस्यबाट मनलाग्दी शुल्क लिएको भन्ने राष्ट्र बैंकले खोट देखाएको छ, त्यसै कारण रोकिएको हो ?

मनलाग्दी शुल्क लिएको छैन । कर्जा लिएपछि बीचमा नवीकरण गर्दा के गर्ने भन्ने प्रश्न थियो । एउटा पक्षको बुझाई नवीकरण गरेपछि सेवा शुल्क लिने र अर्काे पक्ष छोटो समयमा लिनु हुँदैन भनिरहेका छन् । प्रक्रियागत हिसावले नयाँ ऋण दिँदा तोकेको सेवा शुल्क लिने नै हो । कसैको धेरै लिएको देखिएको छ । त्यसलाई सुधारको प्रक्रियामा पनि छन् । तर,नियतवस ठग्ने भन्ने उद्देश्य लघुवित्तको होइन । फेरी १५ प्रतिशत भन्दा बढी ब्याज लिनै पाईंदैन । त्यो सिस्टमले अनुमति नै दिँदैन । तर, बजारमा ३५/३६ प्रतिशत ब्याज लिएको भन्ने हल्ला मात्रै हो ।

बैंक तथा वित्तीय संस्थाको नियत व्यवसायीलाई मार्ने राखेको हुँदैन । नियम कानुनमा बसेर ब्याजमा ऋण दिएको मात्रै हो । कसैले राम्रो व्यवसाय गरेर फलिफाप भएको छ । उनीहरुले धन्यवाद दिन्छन् । कसैको ब्यापार घाटा भएर तिर्न नसकेर घरबार नै बेच्नु पर्ने स्थिती आएको छ । उसले संस्थालाई गाली गर्छ । तैले गर्दा मलाई डुबाइस भन्छ । अब पैसा दिनु राम्रो की नराम्रो त ? राम्रोसँग प्रयोग गर्याे भने त्यो राम्रो र दुरुपयोग भयो भने नराम्रो । अहिले अधिकांशले ऋण लिएर राम्रो गर्न सकिरहेका छैनन् । उनीहरुले लघुवित्तका कारण डुब्यौं भनिरहेका छन् ।

अनुत्पादक क्षेत्रमा लगानी नगर्न नियामकले निर्देशन दिएको छ तर, संस्थाहरुले त्यहि क्षेत्रमा लगानी गर्न रुचाउने, त्यसैबाट मात्र नाफा देख्ने, अहिले घरजग्गा क्षेत्र संकटमा पर्दा बैंक तथा वित्तीय क्षेत्र नोक्साान गए भन्ने पनि छनी ?

अनुत्पादक क्षेत्रमा लगानी गरेर मात्रै अप्ठ्यारो भएको होइन । घरजग्गामा धेरै उत्पादन छैन । यसमा धेरै मूल्य तलमाथि मात्रै भइरहन्छ । लगानी गरेपछि १ को २ हुन्छ भनेर लगानी गरेको हुन्छन् । त्यसैले राष्ट्र बैंकले घरजग्गालाई कडाइ गरिरहेको छ । तर, होटल व्यवसाय उत्पादनमुलक क्षेत्र हो । त्यो त चलेको छैन । होटल व्यवसायले कर्जा तिर्न सकेका छैनन् । उत्पादनमुलक क्षेत्रमा पनि लगानी गरेर नहुँदो रहेछ । किनभने परिवेश हो । नेपालमा पर्यटन नआउनु, अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई जहाज नआउनु बैंकको कारण हो ? नेपालमा पर्यटकहरुको चाप छैन्, व्यवसाय छैन, ब्यापार छैन । गाउँघर सबै बाँझो बनेको छ । कोही पनि उत्पादन गरिरहेका छैनन् । मान्छेहरु सबै सहरमा छन् । विदेश गइरहेका छन् । रेमिट्यान्स भन्दा अरु केही स्रोत छैन । यी सबै तत्वले असर गरेको हो ।

लघुवित्त संस्थाको ब्याजदरमा प्रिमियम तोक्न जरुरी छ ?

आधार दर र प्रिमियम गरेर कर्जाको रेट निर्धारण हुनुपर्छ । बजारले नै ब्याजदर निर्धारण गर्नुपर्छ भन्ने हाम्रो माग हो । सम्भवतः राष्ट्र बैंकले त्यही लाइनमा नै निर्देशन दिन्छ होला ।

लघुवित्त बैंकर्स संघको साधारणसभामा लाभांशको दरमा राष्ट्र बैंककै प्रतिनिधिले पनि प्रश्न उठाए, लघुवित्तको लाभांश दर बढी भएको हो ?

एउटा संस्थालाई स्पेसिफिक भएर हेर्नुपर्छ । ७६ प्रतिशत लाभांश कुन संस्थाले कसरी दियो भनेर तथ्याङ्क केलाउनु पर्छ । अहिलेका स्थितीलाई पहिलाको स्थितीसँग तुलना गर्नु हुँदैन । अहिले ब्याजदर महँगो छ नाफा कम । विगत ५ वर्षदेखि सेयरधनीलाई नाफा वितरण नगरेको संस्थाले ७६ प्रतिशत लाभांश दिएको हो । बैंकको मुद्दतीमा १३ प्रतिशत ब्याज छ । ५ वर्षमा एकमुष्ट वितरण गर्दा एक वर्षको १५ प्रतिशत मात्रै हुन्छ । त्यो कसरी अत्याधिक भयो ? त्यसैले हामीले स्पेसिफिक भएर हेर्नुपर्छ भनेका छौं । लघुवित्तको नाफा बैंकको तुलनामा बढी छ । किनभने लघुवित्तको पूँजी थोरै छ । सानो व्यापार गर्दा प्रतिशतमा धेरै देखिन्छ तर रकम सानो हुन्छ । जस्तो ठेला गाडामा ब्यापार गर्ने व्यापारीले १ हजारको सामान किन्यो भने दिनमा १५ सय कमाउँछ । त्यो भनेको १५० प्रतिशत नाफा कमाएको देखिन्छ । महिनाभरि ५ हजार प्रतिशत हुन्छ भने वर्षभरि त कति हो कति प्रतिशत देखिन्छ । प्रतिशतमा धेरै देखिए पनि भोलुम ठिक्क हुन्छ ।

सेयर बजारमा राम्रा भनिएका वाणिज्य बैंकको सेयर मूल्य थोरै छ तर, लघुवित्त संस्थाहरुको उच्च छ, यस्तो अवस्था किन आयो ?

एउटा वाणिज्य बैंकको २० अर्ब भन्दा बढी पोर्टफोलियो छ । बजारमा सप्लाई गर्याे भने खर्बको मार्केट पुँजीकरण हुन्छ । तर, लघुवित्त संस्थाको एक करोड छ । बैंकको १० अर्बको सप्लाइ छ भने लघुवित्तको सप्लाई ३० लाखको मात्रै छ । जहाँ अभाव हुन्छ त्यसको भ्यालु माथि हुन्छ । त्यसको मूल्य बढी हुन्छ । फेरी सानो संस्थाको नाफा बढी छ । रिटर्न पनि बढी दिन्छन् । जब सप्लाइ थोरै हुन्छ त्यसको डिमाण्ड धेरै हुन्छ ।

कतिपयले लघुवित्तको अस्तित्व माथि प्रश्न उठाएका छन्, लघुवित्त आवश्यक छन् वा छैनन् भनेर प्रश्न उठाएका छन्, यो विषय कस्तो लाग्छ ?

लघुवित्तको अस्तित्व माथि उठाउनेसँग हामी छलफल गर्न तयार छौं । नेपाल सरकार, राष्ट्र बैंक, अन्य सरोकारवालाहरुले लघुवित्तको विकल्प यो हुन सक्छ भनेर अर्काे विकल्प दिनु पर्याे। वित्तीय पहुँच पुर्याउने लघुवित्तभन्दा उत्तम संस्था छन् भने गर्दा हुन्छ । हामी टेबलमा बसेर छलफल गर्न तयार छौं । लघुवित्त साच्चै जरुरी छैन भने सरकारले बन्द नै गर्नुपर्छ । तर, उचित विकल्प हुनुपर्छ । हामी लघुवित्त संस्था हुनैपर्छ भन्दैनौ । आजका दिनमा ५९ लाख मानिस लघुवित्त संस्थामा जोडिएका छन् । गाउँगाउँको ५÷१० रुपैयाँ लघुवित्त संस्थामा जम्मा भएको छ । गाउँका ३३ लाख मान्छेले बिना धितो ऋण पाएर काम गर्ने अवसर पाएका छन् । चाहिएको बखत पैसा पाएका छन् । लघुवित्त संस्थाले कर्जा दुरुपयोग गरेको होइनन् नी त । एउटा ब्यक्तिले दुरुपयोग गर्छ भने संस्थालाई मात्रै गालि गरेर हुँदैन । मलाई बैंकले लाखौं रकम ऋण दिन तयार छ । तर म त लिँदैन । किनकी मैले त्यो उपयोग गर्दैन । मैले व्यापारमा व्यवसायमा लगानी गर्ने भए लिन्छु । त्यसैले ऋणीले पनि लिँदाखेरि सोच विचार गर्नुपर्छ ।

लघुवित्त जस्तै प्रकृति भएका सहकारी संस्था पनि छन्, कि सहकारी हुनुपर्छ की सहकारी हुनुपर्छ भनेर आवाज उठाउने पनि छन् नी ?

सहकारीको पनि आफ्नो सीमित दायरा छ । सहकारीले एउटा ठाउँमा अफिस भएर अधिराज्य भरि सेवा दिएका त छैनन् । दुर्गममा सहकारी पुगेका छैनन् । सहकारी डुब्क्लिकेशन हो की भन्ने देखिएको छ । ३० हजार सहकारीलाई कसले नियमन गर्ने हो ? त्यसमा पनि चुनौति छ । ६५ वटा लघुवित्तलाई नियमन गर्न त राष्ट्र बैंकलाई हम्मे–हम्मे परिरहेको छ । त्यसैले ३० हजार सहकारीलाई रेगुलेट गर्न त्यति सहज छैन । दुर्गममा बस्ने नेपालीले बैंकिङ्ग सेवा पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यो सहकारीले गर्ने भए लघुवित्तलाई फेज आउट गरौं । सहकारीलाई प्रमोट गरौं । वाणिज्य बैंकले नै दिन सक्छ भने अन्य संस्था चाहिएन । त्यसैले लघुवित्तलाई कसरी लैजाने भनेर राज्य स्पष्ट हुनुपर्छ । म लघुवित्त बैंकर्स संघको अध्यक्ष हुँदा नेपालको लघुवित्त नीति के हुनुपर्छ भनेर राष्ट्रिय रुपमा छलफल चलाउने सोच बनाएको थिएँ ।

पछिल्लो समय लघुवित्तको पुर्नरसंरचनाका विषयमा आवाज उठेको छ, किन आवश्यक परेको हो ?

लघुवित्त कन्सुलुडेसनको विषय हो । सानासाना धेरै संस्था भए यसलाई ठूलो बनाउनु पर्छ । बलियो बनाउनु पर्छ भनेर मर्जर र एक्विजीशन भइरहेका छन् । त्यो सकारात्मक विषय हो । अहिले लघुवित्तको संख्या पनि घट्दै छ । केही समयपछि लघुवित्तको संख्या ४० वटाको हाराहारीमा हुनेछन् । अब नेपालमा ३० वटा लघुवित्त भए पुग्छ । राष्ट्रिय स्तरको १० वटा र हरेक प्रदेशमा ३ वटा भएपछि पुग्छ । यति भएपछि स्वच्छ प्रतिस्पर्धा पनि हुन्छ ।

लघुवित्त संस्थाहरु मर्ज भइरहँदा कर्मचारी पनि बेरोजगार हुनु परेको छ, यसलाई कसरी हेर्नु भएको छ ?

मर्जर भएर २ वटा संस्था जोडिनु मात्रै होइन । त्यसको व्यवस्थापन सबैभन्दा ठूलो कुरा हो । मर्जर एकछिनको लागि जोडिनु पर्ने होइन । दीर्घकाल यसको प्रभाव कस्तो पर्छ, संस्थाको व्यवस्थापन कसरी गर्ने, खर्च कसरी कम गर्ने हो । साथै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने पनि चुनौतिका रुपमा देखिएको छ । सञ्चालकको स्वाप रेसियो अनुसार व्यवस्थापन हुन्छ । मर्जरअघि नै कर्मचारीको व्यवस्थापन हुनुपर्छ । कर्मचारीको मनोभाव बुझ्नु पर्छ । कोही कर्मचारी बाहिर जान चाहन्छन् भने भिआरएस दिनु पर्छ । बस्न चाहन्छन् भने सहज गर्नपर्छ । लिड गर्ने संस्थाले अर्काे संस्थाको कर्मचारीलाई डोमिनेट गरेको भन्ने गुनासो छ । यस्तो हुनुहुँदैन । कर्मचारीको व्यवस्थापन चुनौति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.