फागुन १ गतेदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ प्रिमियर, पुँजी २ अर्ब ८० करोड पुग्ने

  २०७९ माघ १८ गते १६:१५     विकासन्युज


काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले सेड्युलअनुसार काम सकिएमा फागुन १ गतेदेखि नै एकीकृत कारोबार हुने बताए ।

‘अब सरकारी काम मात्रै बाँकी छन्, ती सबै काम समयमै सकिएमा फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने हाम्रो टार्गेट हो,’ सीईओ क्षेत्रीले भने ।

उनका अनुसार मर्जरको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाइसकेको छ । हाल नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार लगायतको सरकारी काम भइरहेको उनले बताए ।

मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ । यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ ।

दुई कम्पनीबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

मर्जरमा जानको लागि दुबै कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव समेत पारित गरिसकेको छ । उक्त सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश समेत पारित गरिसकेको छ । यससँगै प्रस्तावित ९ प्रतिशत बोनसपछि सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३९ करोड रुपैयाँ र १४.२५ प्रतिशत बोनसपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

दुई कम्पनीले गत असार २७ गतेनै एक आपसमा मर्ज हुन प्रारम्भिक सम्झौता गरेर मर्जरको प्रकृया अघि बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.