कालो धनलाई सेतो धन बनाउने बढेपछि आन्तरिक रेमिट्यान्समा रोक, कम्पनी धमाधम बन्द हुने खतरा

  २०७९ माघ १८ गते ८:५६     विकासन्युज

काठमाडौं । कालोधनलाई सेतो धन बनाउन प्रयोग भएपछि आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ मा आन्तरिक रेमिट्यान्समा रोक लगाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेसँगै नेपालको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स गर्न नपाइने भएको हो । राष्ट्र बैंकका अनुसार विदेशबाट हुन्डीमार्फत आएको रकम नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा प्रयोग गर्ने बढेपछि रोक लगाएको हो ।

अब रेमिट्यान्स कम्पनीहरूले विदेशबाट स्वदेशमा रकम भित्र्याउन मात्रै केन्द्रित हुनुपर्ने राष्ट्र बैंकले बताएको छ । ‘पछिल्लो समय विदेशबाट हुन्डीमार्फत ‘कालो धन’ नेपाल भित्रिने क्रम बढेको छ, जसलाई आन्तरिक रेमिट्यान्सका रूपमा ‘सेतो’ बनाइने गरेको थियो, यसलाई रोक्न यस्तो व्यवस्था गरिएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

यसअघि प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँसम्म आन्तरिक रेमिट्यान्स गर्न पाइने व्यवस्था थियो । गत २०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमालाई १ लाख रुपैयाँबाट घटाएर अधिकतम २५ हजार बनाएको थियो । यस्तो व्यवस्था भएसँगै नेपालका विभिन्न स्थानमा रहेका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत एक स्थानबाट अर्को स्थानमा पैसा पठाउन पाउने छैनन् ।

राष्ट्र बैंकले विद्युतिय भुक्तानीलाई प्रोत्साहन गर्न खोजिरहेको छ । अब नेपालको एक ठाउँबाट अर्काे ठाउँसम्म भुक्तानी गर्न बैंक तथा वित्तीय संस्था वा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गर्नुपर्नेछ । राष्ट्र बैंकको यस्तो नीतिले रेमिट्यान्स कम्पनी बन्द हुने खतरा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.