घट्दो बजारमा लुम्बिनी जनरलको सेयर मूल्यमा उछाल, अझै बढ्न सक्ने

  २०७९ माघ १७ गते १८:२०     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य निरन्तर बढेको छ । पछिल्लो समय निरन्तर घटेको बजारमा कम्पनीको सेयर मूल्य भने निरन्तर सर्किट लेभलमा बढीरहेको छ ।

सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको कम्पनीको सेयर गत साताको बिहीबारदेखि बढीरहेको छ । रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएपछि दोश्रो बजारमा कम्पनीको सेयरको भाउ बढेको नेप्सेको तथ्यांकले देखाउँछ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको सेयर कारोबार गत माघ १२ गतेदेखि खुला गरेको थियो ।

गत माघ १२ गतेदेखि माघ १७ गतेसम्ममा इन्स्योरेन्सको सेयर मूल्य ४१.३६ प्रतिशत अर्थात प्रतिकित्ता १५७.९ रुपैयाँले बढीसकेको छ । यो अवधिमा जम्मा चार दिन सेयर कारोबार खुला भयो । यो चार दिनमा नेप्से परिसूचक भने ७१.९४ अंकले घटीसकेको छ । गत माघ ११ गते २१८३.६२ बिन्दुमा रहेको परिसूचक माघ १७ गतेसम्म निरन्तर घटेर २१११.६८ बिन्दुमा झरेको छ ।

रोक्कापछि खुलेको कारोबारको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४२०.२० रुपैयाँमा पुग्यो । त्यसपछिको कारोबारमा पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुग्यो । अर्को दिनको कारोबारमा पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०८.४० रुपैयाँ पुग्यो । र, माघ १७ गतेको कारोबारमा भने कम्पनीको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ५३९.९० रुपैयाँ पुगेको छ ।

किन बढ्यो कम्पनीको सेयर मूल्य ?

पछिल्लो समय घट्दो बजारमा पनि कम्पनीको सेयर मूल्य भने निरन्तर बढीरहेको छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने अन्तिम तयारीमा भएकोले कम्पनीको सेयर मूल्य बढेको एक जानकारले बताए । सगरमाथासँग १००ः८० को स्वाप रेसियोमा मर्ज हुन लागेको लुम्बिनीको सेयर मूल्य स्वाप रेसियोको आधारमा अझै बढ्नु पर्ने धेरैको बुझाइ छ । मंगलबारको बजारमा सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स क्रमश १००:८० को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज हुने गरी हुने गरी दुई कम्पनीबीच अन्तिम सम्झौता पनि भइसकेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । यता सगरमाथा इन्स्योरेन्सले पनि सेयरधनीलाई चुक्ता पुँजीको १२.४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.