दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स सिंगापुर पठाईयो

  २०७९ माघ १६ गते १०:४८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर पठाईएको छ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँच आयोगले उक्त ब्ल्याक बक्सको अध्ययन एवंम अनुसन्धानका लागि सोमबार सिंगापुर पठाएको हो ।

उक्त जहाजको ब्ल्याकबक्स लिएर संयोजक घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद वास्तोला तथा उक्त जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा गत माघ १ गते यती एयरलाइन्सको जहाज सेतीको खोँचमा खसेको थियो । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले माघ २ गते सो विमानको ब्ल्याक बक्स भेटाएका काठमाडौं पठाएका थिए ।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।

आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ ।

ब्ल्याक बक्स के हो

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ ।
ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ ।

‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने ।

प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.