बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो

  २०७९ माघ १६ गते ९:५४     विकासन्युज

बन्दीपुर  । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ ।

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लामो ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको  हो ।

चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो । बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ ।

चालु आवमा पनि ३७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । कश्याप कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदो लक्ष्यअनुरूपको काम हुन नसकेको अध्यक्ष थापाले बताए ।

अन्य दिनमा करिब एक सय जनाको हाराहारीमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गरे पनि बिदाको दिनमा दुई सयदेखि तीन सयसम्म हुने गरेको उनले बताए ।

उक्त दूरीको मिनी ग्रेटवाल फिनिसिङपश्चात् गाउँपालिकाले छलफल गरी टिकट शुल्क कायम गरेर मात्रै पर्यटकलाई प्रवेश अनुमति दिने लक्ष्य बनाएको छ । कूल लागत सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको उनले बताए ।

नेपाल सरकारको चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ ।

उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । दुईतिर पर्खाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षक बत्ती जडान गर्ने योजना रहेको उनले बताए ।

मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

जिल्लाको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिने हुनाले यहाँ पुग्ने जो कोही पर्यटक लट्ठै हुने गर्दछन् ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.