स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारको रेसिपी बुक सार्वजनिक

  २०७९ माघ १५ गते १७:०८     विकासन्युज

काठमाडौं । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ।

पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएका छन् । यसका साथै रेसिपी बुकमा सेकुवा, चिया र खीरजस्ता सदाबहार व्यञ्जनहरुका लागि मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएका छन् ।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु वाह१ अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरुबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीका रुपमा प्रयोग गरिएको थियो ।

प्रयोगितामा विराटनगर, सौराहा र काठमाण्डौका होटलहरुका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरुले उत्साहका साथ सहभागी भएका थिए । प्रत्येक रेसिपीलाई काठमाण्डौका प्रोफेसनल सेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो ।

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोगको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो। यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ।

यसका साथै यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह१ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ। यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.