अनुमति विना सञ्चालित वस्तु विनिमय बजार कम्पनीलाई कारवाही गर्ने

  २०७९ माघ १५ गते ७:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनीलाई कारबाही गर्ने भएको छ । सेबोनले एक सूचना प्रकाशन गरी सेबोनको अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याए गैर कानुनी हुने र कानुनी कारबाही गर्ने बताएको हो ।

‘पछिल्लो समयमा कुनै संस्था तथा कम्पनीबाट वस्तु विनिमय बजार सम्बन्धी कारोबार भईरहेको भन्ने जानकारी प्राप्त भएको छ, यसमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ, वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ,’ बोर्डको सूचनामा उल्लेख छ ।

साथै, बिना अनुमति संचालित वस्तु विनिमय बजार तथा व्यवसायी मार्फत वस्तु विनिमय बजार सम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्ताहरुलाई बोर्डले आग्रह गरेको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । बोर्डले हालसम्म वस्तु विनिमय बजारसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको बताएको छ ।

बोर्डले वस्तु विनिमय बजार संचालन गर्न पूर्व स्वीकृतिका लागि गत असोज २ मा निवेदन आह्वान गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालिन आदेशले सम्पूर्ण प्रकृया स्थगित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.