२०७९ माघ १२ गते १९:३९ विकासन्युज
काठमाडौं । आत्मदाह गरी मृत्यु भएका प्रेम प्रसाद आचार्यको ५० लाखको जीवन बीमा भएको खुलेको छ । उनको सन नेपाल लाइफ इन्स्योरेन्समा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरेको खुलेको हो ।
मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल मार्फत आफ्नो जीवन बीमा सन नेपाल लाइफमा गरेको खुलाएका थिए । कम्पनीले पनि उनले दुई वर्षअघि नै बीमा गरेको बताएको छ ।
तर अब उनको परिवारले दावी भुक्तानी पाउँछ की पाउँदैनन् होला ? चासोको विषय बनेको छ ।
जीवन बीमा पोलिसीअनुसार सुसाइड अर्थात आत्महत्या मार्फत मृत्युको बाटो रोजेका सबै बीमितको केशमा दावी भुक्तानी हुँदैन । तर आचार्यको केशमा भने उनको परिवारले बीमाको दावी भुक्तानी पाउने भएका छन् ।
आचार्यले बीमा गरेको दुई वर्ष बढी भइसकेकोले उनको परिवारलाई दावी भुक्तानी दिइने कम्पनीले बताएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल पनि मृतक आचार्यको सुसाइड केस लागू नहुने बताउँदै उनको परिवारलाई नियमअनुसार नै सबै रकम भुक्तानी गर्ने बताउँछन् ।
‘आचार्यले विगत २ वर्ष अघिदेखि नै बीमा गर्नुभएको थियो, त्यसैले उहाँले बीमा गरेवापतको रकम पाउनुहुनेछ, यसमा सुसाइडकेस लागू हुँदैन,’ सीईओ अर्यालले बताए ।
पोलिसीअनुसार कुनै पनि बीमितले बीमा गरेको दुई वर्ष भएको छैन, तर उसले सुसाइडमार्फत देह त्याग गरेको खण्डमा भने कम्पनीले उसको परिवारलाई कत्ति पनि बीमाको दावी दिँदैन । तर बीमा गरेको दुई वर्ष नाघेको केशमा भने उक्त बीमितका परिवारलाई भने दावी भुक्तानी दिइने व्यवस्था छ ।
कम्पनीका अनुसार आचार्य र उनकी श्रीमती नानुका अधिकारीको गरी कूल १ एक करोड रुपैयाँ बराबरको बीमा गरेका छन् । तर उनको परिवारले कहिले र कति रकम पाउँछन् भन्नेमा भने हाल एकीन भइ सकेको छैन ।
झापा बिर्तामोडको शाखाबाट बीमा गराएका मृतक आचार्यको फाइल बिर्तामोडमा भएकाले कति रकमको दावी भुक्तानी दिने विषयमा हाल एकीन नभएको उनको भनाई छ ।
‘ओरजिनल फाइल बिर्तामोडबाट मगाएको छु, त्यो आईसकेपछि पाउनु पर्ने रकम भुक्तानी गरिन्छ,’ सीईओ अर्यालले विकासन्युजसँग भने ।
यससँगै कम्पनीले मृतक आचार्यको परिवारलाई उनले तिरेको पछिल्लो किस्ताको अपडेट र नियमअनुसार पाउनु पर्ने रकम हस्तान्तरण गर्ने छ ।
काठमाडौंको बुढानिलकण्डमा बस्दै आएका इलामका व्यवसायी आचार्यले व्यवसाय संकटमा परि बैंकको ऋण तिर्न नसकेपछि आत्मदाहको बाटो रोजेको उनले लेखेको स्ट्याटसमा उल्लेख छ । उनले गत माघ १० गते काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि नै आफ्नै शरीरमा पेट्रोल खन्याएर आफैंमाथि आगो लगाएका थिए । र, उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
सामाजिक सञ्जालमा लेखेको स्ट्टाटसमार्फत आचार्यले सरकारसँग विभिन्न २५ बुँदे मागसमेत गरेका छन् । उनले उठाएका विषयहरुको छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ । छानबिनका क्रममा आएका नतिजाको आधारमा सरकारले आवश्यक कदम चाल्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.