नेपालको इतिहासमा पहिलो दलित महिला अर्थमन्त्री भइन् ‘सीता कुमारी सुन्दास’

  २०७९ माघ ११ गते ९:१३     विकासन्युज

काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिका ७ मा दलित परिवारमा जन्मिएर राजनीति शुरु गरेकी सीता कुमारी सुन्दास नेपालको इतिहासमा पहिलो प्रदेश अर्थमन्त्री भएकी छन् । मंगलबार प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुन्दासलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा उनी गण्डकी प्रदेश स्याङ्जा –१ को (क) अन्तर्गत प्रदेश सभा सदस्यमा एमालेको तर्फबाट निर्वाचित भएकी थिइन् । सुन्दास प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला प्रदेश सभा सदस्य समेत हुन् । निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की अमृता थापालाई पराजित गरेकी थिइन्। प्रतिनिधि सभामा ८ जना र प्रदेश सभामा १४ जना महिला प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।

गत पुस २५ गते मुख्यमन्त्री अधिकारीसँगै सुन्दास लगायत ३ मन्त्रीले सपथ लिएपनि मंगलबार सम्म जिम्मेवारी पाएका थिएनन् । मन्त्रीपरिषदको बाँडफाँटमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाएका छन् । मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा विगतमा कायम भएको १२ बाट ५ घटाएर ७ वटा मन्त्रालय बनाएका छन् ।

को हुन सुन्दास ?
स्याङ्जा जिल्लाको साविक ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका वडा नं.७ मा २०२४ सालमा सुन्दासको जन्म भएको हो । बुवा गुमानसिँह र आमा चित्रकुमारीको सन्तान हुन उनी । उनका बुवा भारतीय सेनामा जागिरे थिए भने आमा घरायसी कृषि जीवनमा नै थिइन् । दलित समुदायभित्र तुलनात्मक रुपमा शिक्षित परिवारमा जन्मिएकी सुन्दासले आफ्नै आमाबाट अध्ययन प्रारम्भ गरेकी थिइन् । उनले गाउँमै रहेको जनता माविबाट एसएलसी, पुतलीबजारको त्रिभुवन आदर्श क्याम्पसबाट स्नातक र पृथ्वीनारायण क्याम्पस पोखराबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

आफ्नी आमा र दाई तत्कालिन नेकपा (माले)मा संगठित सदस्य भएको र सोही प्रभावका कारणले उनले पनि सोही पार्टीबाट राजनीतिक यात्रा शुरुवात गरेकी थिइन् । कक्षा ७ मा पढ्दै गर्दा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा जोडिएर उनको औपचारीक राजनीतिक यात्रा प्रारम्भ भएको थियो ।

पञ्चायती व्यवस्थाको विरुद्धमा भएको आन्दोलनमा उनको परिवारले सक्रियतापूर्वक सहभागिता जनाएको थियो । सोही क्रममा उनकी आमालाई ०४५ सालमा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको थियो । मुलुकमा पञ्चायती व्यवस्था सञ्चालन भइरहेको समयदेखि राजनीतिमा जोडिएकी सुन्दासले ०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । विद्यार्थी संगठनमा सक्रिय हुँदै नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय तहसम्म पुगेर उनले संगठनात्मक रुपमा काम गरेकी छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनापछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुखमा एक कार्यकाल पुरा गरेकी छन् । सो क्रममा उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्ष समेत भएकी थिइन् । सुन्दास अहिले नेकपा (एमाले)को केन्द्रीय सदस्य, गण्डकी प्रदेशको सचिव र स्याङ्जा जिल्ला इन्चार्जको भूमिका समेत निर्वाह गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.