सनराइज क्यापिटलको फोकस्ड इक्विटी फण्ड : लगानी गर्नेलाई १८७ प्रतिशत प्रतिफल दिने

  २०७९ माघ ११ गते १०:३१     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गरेको हो ।

क्यापिटलको उक्त फण्ड छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

योजना व्यवस्थापकको परिचय 

म्युचुअल फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड हो । कम्पनी रजिष्ट्रारमा वि.स.२०६७ असोज १७ मा दर्ता भएको थियो । कम्पनीले सोही मितिबाट मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।

कम्पनीले स्थापना वर्षमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गरेको थियो । हाल कम्पनीले यसका अलवा सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन सेवा तथा वित्तीय परामर्श सेवासमेत प्रदान गर्दै आइरहेको छ । साथै यस कम्पनीले वि.सं. २०७६ जेठ १० मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति प्राप्त गरेको थियो ।

कम्पनीले सनराइज म्युचुअल फण्ड अन्तर्गतको योजनाहरु सनराइज फर्स्ट म्युच्युअल फण्ड र सनराइज ब्लूचिप फण्डको योजना व्यवस्थापकको रूपमा काम समापन गसिकेको छ ।

कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ भने अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीमा सनराइज बैंकको १ सय प्रतिशत सेयर स्वामित्व रहेको छ ।

क्यापिटलको आगामी योजना 

कम्पनीले व्यवसाय तथा कार्यक्षेत्र विस्तार, आयमिक सोचका साथ अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह योजनाका साथ यस प्रकारको व्यवसायमा व्यवसायिक तथा प्रतिस्पर्धि संस्थाको रूपमा अघि बढ्ने रणनीति लिएको छ ।

यस्तै, व्यवसायर सेवा बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति र प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यस्थापकको व्यवसायको भविष्य रहेको छ ।

कम्पनीले चलु आर्थिक वर्ष २०७९/८० मा सनराइज फोकस्ड इक्विटि फण्ड सञ्चालनमा आउनेछ । साथै थप एक खुल्लामुखि म्युचुअल फण्ड योजना समेत सञ्चालनमा ल्याउने योजना राखेको कम्पनीले जनाएको छ ।

साथै, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले नियामक निकायबाट विशिष्टिकृत लगानी कोषको स्विकृति हासिल गरि प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटलका विभिन्न योजनाहरु समेत सञ्चालन गर्ने रणनीति लिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आईपीओ अहेड सेवा अन्तर्गत धितोपत्र बजारमा विभिन्न कम्पनीहरुको पहुँच लाई सहज पुर्याउने रणनीति अनुरुप निष्कासन तथा बिक्री प्रबन्धको कार्य क्षेत्रलाई थप विस्तार गर्ने रणनीति राखेको छ ।

लगानी व्यवस्थापन सेवाको दायरालाई थप फराकिलो बनाउने रणनीति रहेको छ । चालु आर्थिक वर्षमा कम्पनीले पहिलो पटक खुल्लामुखि म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याई विभिन्न संकलन केन्द्रहरु स्थापना गरी ग्राहक सेवालाई थप प्रभावकारी बनाइने कम्पनीको भनाइ छ । कम्पनीद्धारा आगामी वर्षहरुमा व्यवसायको आकारमा वद्धि गरि विभिन्न स्थानहरुमा साखा सञ्जाल विस्तार गरिनेछ ।

कहाँ लगानी गर्छ ? 

फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा, बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ ।

कम्पनीले कुनै एक संगठित संस्थाको साधारण सेयरमा संस्थाको कूल चुक्ता पूँजीको १० प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नेछ । तर संगठित संस्थाको कूल साधारण सेयरमा योजनाका आकारको कम्तीमा २० प्रतिशत लगानी योजना अवधिभर कायम राख्नु पर्नेछ ।

कुनै एक संगठित संस्थाले निष्काशन गरेको अग्राधिकार सेयर वा डिबेञ्चरको २० प्रतिशत भन्दा बढी नहुने गरी र कुनै एक संगठित संस्थाको धितोपत्रमा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको १० प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नेछ । साथै कम्पनीले अन्य सामूहिक लगानी कोष अन्तर्गतको योजनामा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको १० प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्ने कम्पनीले जनाएको छ ।

इकाईधनीहरुले १८७ प्रतिशत प्रतिफल पाउने 

क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल १८७ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ ।

फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष १३ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १५ प्रतिशत, तेस्रो वर्ष १७ प्रतिशत, चौंथों वर्ष २० प्रतिशत र पाँचौ वर्ष २१ प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले छैठौं वर्ष २२ प्रतिशत, सातौं वर्ष २४ प्रतिशत, आठौं वर्ष २५ प्रतिशत, नवौं वर्ष ३० प्रतिशत प्रतिफल दिने कम्पनीको प्रक्षेपण रहेको छ । तर, दशौं वर्षको प्रतिफल भने उल्लेख गरिएको छैन ।

इकाई बिक्रीबाट सङ्कलित रकम योजना ब्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई जोखिमको उचित व्यवस्थापन गरि उच्च प्रतिफल दिनेछ । साथै धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्य कम्पनीको रहेछ ।

संचालन पूर्व खर्च विवरण 

कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । कम्पनीले फण्ड निष्काशन पूर्व हुने खर्च विवरण र निष्काशनपश्चात् हुने खर्चको विवरण पनि इकाईधनीहरुका लागि सार्वजनिक गरेको हो ।

कम्पनीले निष्काशन ब्यवस्थापन शुल्क (योजनाको ०.२० प्रतिशत) ३० लाख रुपैयाँ, योजना दर्ता शुल्क १० लाख रुपैयाँ, धितोपत्र दर्ता आवेदन शुल्क २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क २५ हजार रुपैयाँ, सिडिएस दर्ता १ लाख ५० हजार रुपैयाँ, नेप्से सूचीकरण तथा निवेदन शुल्क १ लाख १५ हजार रुपैयाँ, विज्ञापन तथा प्रचार प्रसार खर्च २० लाख रुपैयाँ, सूचना तथा प्रकाशन खर्च ५ लाख रुपैयाँ, छपाइ तथा मसलन्द खर्च ३ लाख रुपैयाँ, बाँडफाँड खर्च २ लाख रुपैयाँ र सफ्टवेयरको वार्षिक शुल्क तथा अनुकुलन शुल्क २ लाख ७० हजार रुपैयाँ गरी कूल योजना निष्कासन खर्च ७५ लाख ८० हजार रुपैयाँ हुने अनमान गरिएको छ ।

यसका साथै कम्पनीको नियमित खर्च पनि सार्वजनिक गरेको छ । कम्पनीले कोष सुपरिवेक्षक शुल्क प्रति सुपरिवेक्षक अधिकतम कुल १५ हजार रुपैयाँ प्रति बैठक प्रदान गर्नेछ । यस्तै, योजना ब्यवस्थापन शुल्क वर्षिक खुद सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क वर्षिक खुद सम्पत्ति मूल्यको ०.२० प्रतिशत रहने कम्पनीले जनाएको छ ।

यसअघि निष्काशन गरेका फण्डको प्रतिफल 

कपनीले यसअघि सनराइज म्युचुअल फण्ड अन्तर्गतको योजनाहरु सनराइज फस्र्ट म्युच्युअल फण्ड र सनराइज ब्लूचिप फण्ड निष्काशन गरिसकेको छ ।

सनराइज फस्र्ट म्युच्युअल फण्डले आर्थिक वर्ष २०७६/७७ मा ७ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ५० प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, सनराइज ब्लूचिप फण्डले धितोपत्र बजारमा सेयरको मूल्यमा वृद्धि अपेक्षाकृत नभएको तथा इकाईको बाँडफाँड तेस्रो त्रैमासिकको अन्तिममा भई लगानी गरिएकोले लाभांश वितरण गरिएको छैन ।

क्यापिटलको संचालक र व्यवस्थापक टिम 

क्यापिटलको संचालक समितिमा ३ जना संस्थापक र २ जना स्वतन्त्र संचालक गरी ५ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट अपछ कुमार यादव छन् । उनी सनराइज बैंकको तर्फबट अध्यक्ष बनेका हुन् । यस्तै, सनराइज बैंकको तर्फबाट ईश्वर कुमार पाठक सञ्चालक रहेका छन् । यस्तै, सञ्चालकमा सतिश कुमार कर्ण र संगिता कडारिया रहेका छन् ।

प्रा.डा. पुष्प राज शर्मा र सतिश कुमार कर्णको पदावधि गत बैशाख ५ मा सकिएको थियो । सर्वेन्द्र मिश्रको मंसिर १६ मा राजिनामा स्विकृत भएको थियो । सतिश कुमार कर्ण गत भदौ १३ गते पुनः स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजय लाल श्रेष्ठ कार्यरत छन् । ४४ वर्षिय श्रेष्ठसँग एमबिएसम्मको शैक्षिक योग्यता छ । वि.सं. २०७४ जेठ १० गतेदेखि हालसम्म क्यापिटलमा सीईओको रुपमा कार्यरत छन् । सीईओ श्रेष्ठसँग वि.सं. २०६८ फागुन ५ देखि वि.सं. २०७४ जेठ ९ सम्म एनसिएम.मर्चेण्ट बैंकिङ्गमा प्रबन्ध सञ्चालकको रुपमा काम गरेको अनुभव छ । साथै, वि.सं. २०६२ जेठ ४ देखि वि.सं. २०६८ फागुन ४ सम्म एन.आइडिसि क्यापिटल मार्केट्समा अधिकृत तहदेखी नायब महाप्रबन्धक तहसम्मको कार्यानुभव श्रेष्ठले सँगालेका छन् ।

यस्तै, प्रमुख संचालन अधिकृत तथा कम्पनी सचिवमा बिजेन्द्र न्हछुें प्रधान रहेका छन् । ४५ वर्षिक प्रधानको शैक्षिक योग्यता एमबिएससम्म रहेको छ । प्रधान वि.सं. २०७४ जेठ १० देखि हालसम्म क्यापिटलमा प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत छन् । यसअघि एनसिएम मर्चेण्ट बैंकिङ्ग र एनआइडिसि क्यापिटल मार्केट्समा काम गरेको अनुभव उनीसँग रहेको छ ।

यस्तै, प्रशासन तथा मानव संशाधन विभाग प्रमुख बिन्दी श्रेष्ठ एमए तथा एमबिएससम्मको शैक्षिक योग्यता रहेको छ । उनी वि.सं. २०७४ जेठ १० देखि हालसम्म क्यापिटलमा कार्यरत छिन् । उनीसँग एनसिएम मर्चेण्ट बैंकिङ्ग र एनआइडिसि क्यापिटल मार्केट्समा काम गरेको अनुभव रहेको छ ।

योजना व्यवस्थापकको रेटिङ्ग 

केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ । कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

कोष सुपरिवेक्षक 

म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर रहेका छन् । उनीसँग नेपाल राष्ट्र बैंकमा अधिकृत विशिष्ट श्रेणीमा ३६ वर्षभन्दा बढीको अनुभव र हाल विभिन्न शैक्षिक संस्थाहरुमा प्रध्यापकको रूपमा कार्यरत छन् ।

यस्तै, पूर्व गृह सचिव चण्डी प्रसाद श्रेष्ठ रहेका छन् । नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा २८ वर्षभन्दा बढीको अनुभव उनीसँग रहेको छ ।

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य, वरिष्ठ अधिवक्ता प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शमा कोष सुपरिवेक्षकमा रहेका छन् ।

बजारबाट उच्च प्रतिफल आर्जन गर्ने 

सनराइज फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्नेछ । फण्डले बजारको वर्तमान अवस्था अध्ययन गरी तथा भविष्यमा हुनसक्ने परिस्थितिलाई मध्यनजर गरी उच्च प्रतिफल आर्जन गर्नेमा क्यापिटलले काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.