सरकारी बैंक पनि मर्जरमा जानुपर्छ, संस्थानको खर्च कटौती गर्नुपर्छ

  २०७९ माघ १० गते १८:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारी बैंकहरु पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताएका छन् । निजी बैंकहरु धमाधम मर्ज भएको अवस्थामा बजारमा प्रतिस्पर्धी बनेर अघि बढ्नको लागि तीन सरकारी बैंकहरु स्वेच्छिक रुपमा मर्जरमा जान उपयुक्त हुने उनले बताए ।

‘बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन, बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ, कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न ? भन्ने हामीलाई शंका लागिरहेको छ, यो आवश्यकतालाई पनि महशुस गरेर छलफल नेपाल सरकारसँग र तीनवटा सरकारी बैंकहरु हुनुहुन्छ, सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ,’ उनले भने ।

तर राष्ट्र बैंकले कुनै पनि बैंकलाई मर्जरको बाध्यत्मक व्यवस्था नगरेको उनी बताउँछन् । साथै, उनले बैंकिङ व्यवसाय चुनौतिपूर्ण रहेको स्पष्ट पारेका छन् ।

‘एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ, बैंकको एक वर्षको प्रोभिजन सकियो, त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ, बैंकका कर्मचारीहरु संवेदनशील भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ,’ उनले उदाहरण दिँदै भने ।

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै गर्भनर अधिकारीले साे बताएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानले फजुल खर्च कटाउनु पर्ने बताएका छन् । अहिलेको आर्थिक अवस्थालाई चित्रण गर्दै उनले सार्वजनिक संस्थाहरुलाई आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आग्रह गरेका हुन् ।

‘यतिबेला हामीले सरकारी कार्यालय, मन्त्री तथा मन्त्रालयले मात्रै होइन, सार्वजनिक संस्थानहरुले पनि मितव्ययीता अपनाउनुपर्ने, फजुल खर्च कटाउनुपर्ने र श्रोतहरुको उचित उपयोग गर्नुपर्ने अवस्थामा छौं,’ उनले भने ।

अर्थतन्त्रमा भएका समस्याहरुका बावजुत अर्थतन्त्र चलायमान बनाउन, रोजगारी श्रृजना गर्न, आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्रीले पौडेलले सरकारी बैंक नाफामा मात्र केन्द्रित नभई विपन्न समुदायको उत्थानका लागि बैंकले आफ्नो भरपुर आधार तय गर्नुपर्ने बताएका छन् ।

उत्पादनशील क्षेत्रमा पुँजी प्रवाह गर्न बैंकले सहयोग गर्ने र नाफामा भन्दा पनि गुणस्तरीय सेवाको सेवाको रुपमा उत्कृष्ट बन्न बैंकलाई शुभकामना दिएका छन् । सरकारी बैंक कमजोर नभएको र यसलाई कसरी प्रतिस्पर्धी बनाउन सक्छौं, लक्षित वर्गसम्म सेवा कसरी अघि बढाउन सक्छौं त्यसमा जोड दिनुपर्नेमा उनको सुझाव छ ।

त्यस्तै, उनले कम्पनी तथा कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट बाहिर निस्किन आग्रह गरेका छन् । र, व्यवसासिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिस्पर्धाबाट ल्याउनुपर्ने मान्यतामा आफू रहेको बताउँदै आफू अर्थमन्त्रालयमा रहदासम्म सरकार तथा कुनैपनी क्षेत्रबाट राजनीतिक हस्तछेप नहुने समेत प्रतिवद्धता गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबीबीले उपयुक्त रणनीति बनाउन आवश्यक रहेको बताएका छन् । सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलो हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

‘‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्दर्भमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.