महासंघको चुनावमा आर्थिक मन्दीको असर, बरिष्ठका आकांक्षीले पाएनन् उम्मेद्वार

  २०७९ माघ ८ गते १८:०४     विकासन्युज

काठमाडौं । आगामी चैत मसान्तमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले व्यवसायिक क्षेत्रमा रौनक ल्याउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना व्यवसायी दौडधुपमा लागेका छन् । तर, उनीहरुले उपाध्यक्षसहितको टिम बनाउन सकिरहेका छैनन् ।

एक बरिष्ठ उपाध्यक्ष पदको लागि वर्तमान उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, रामचन्द्र संघाई र पूर्व उपाध्यक्ष उमेशला श्रेष्ठ प्रतिस्पर्धाको तयारीमा छन् । उनीहरु मध्ये अञ्जन र उमेशलालले पदाधिकारीहरुको टिम लगभग तय गरेका छन् तर आकांक्षीद्वय दिनेश र रामचन्द्रले पदाधिकारीको टिम तयार गरेको छैनन् ।

अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूहबाट उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार बन्दैछन् ।

यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा कृष्ण शर्मा, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वार बन्दैछन् ।

दिनेश र रामचन्द्रको समूहबाट पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । ‘वरिष्ठमा चार जना उम्मेदवार हुँदैनन्, चारै जनाले टिम बनाएर चुनावमा जाने सम्भावना छैन, चार वटै टिम बन्ने हो भने २६० जना उम्मेद्वार हुनुपर्छ’ उपाध्यक्ष दिनेश श्रेष्ठले भने– ‘वरिष्ठ उपाध्यक्षमा २ जना उम्मेदवार हुन्छन्, त्यसपछि मात्र अन्य पदाधिकारी उम्मेद्वार तय हुनेछ ।’

जिल्ला उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् । वस्तुगत र जिल्ला उपाध्यक्षका आकांक्षी बढी भए पनि एशोसिएटतर्फ भए दुई जनाले मात्र आकांक्षा व्यक्त गरेका छन् । आर्थिक मन्दी भएको कारण व्यवसायीहरु संकटपूर्ण अवस्थामा रहेकोले पनि चुनावमा आकांक्षी कम देखिएको हुन सक्ने महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति हेमराज ढकाल बताउँछन् । आर्थिक मन्दीकै कारण महासंघको चुनावी माहोल पनि सुस्त रहेको उनले बताए ।

वर्तमान नेतृत्व मौन, पूर्व अध्यक्षहरु सक्रिय

आगामी निर्वाचनको विषयमा महासंघको वर्तमान नेतृत्व मौन देखिएको छ भने पूर्व अध्यक्षहरुको सक्रियता बढेको छ । महासंघको राजनीतिमा पुराना खेलाडी चण्डिराज ढकाल अहिले पनि उस्तै सक्रिय देखिन्छन् । उनी खुलेर उमेशलाल श्रेष्ठको पक्षमा लागेका छन् ।

पूर्व अध्यक्षहरु भवानी राणा, कुशकुमार जोशी, पूर्व उपाध्यक्ष किशोर प्रधान अञ्जन श्रेष्ठको पक्षमा लागेका छन् । पूर्व अध्यक्ष पशुपति मुरार्का, वर्तमान अध्यक्ष शेखर गोल्छाले पनि अन्जनको समूहले समर्थन गर्ने उपाध्यक्षमा आकांक्षी अरुण राज सुमाग्रीले बताए ।

यद्यपि, वर्तमान अध्यक्ष शेखर गोल्छा र अध्यक्ष हुँदै गरेका चन्द्रप्रसाद ढकाल चुनाव लक्षित कार्यक्रमहरुमा सहभागी भैरहेका छैनन् । आगामी निर्वाचनमा कुनै पनि उम्मेद्वारको पक्षमा आफू नलाग्ने अध्यक्ष शेखर गोल्छाले विकासन्युजसँग बताए । ‘गत निर्वाचनमा मेरो पक्षमा कार्यसमितिमा बहुमत सदस्य जिताउन मैले खुलेर चुनावी अभियानमा लाग्नु पर्यो, यस पटक म तटस्थ भूमिकामा हुन्छु’ उनले भने ।

महासंघको अगामी निर्वाचनपछि स्वत अध्यक्ष बन्दै गरेका चन्द्रप्रसाद ढकाल पनि निष्पक्ष भूमिका खेल्न चाहेका छन् । ‘निर्वाचनपछि सबैलाई मिलाएर लैजानसजिलो होस् भनेर अध्यक्षमा निर्वाचन नगर्ने, बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था गरिएको हो’ ढकाल भन्छन्– ‘विधानको मर्म अनुसार नै म अगाडि बढ्छु, कसैलाई समर्थन वा विरोध मबाट हुँदैन ।’

वरिष्ठ उपाध्यक्षका अकांक्षीहरु भने अन्तिममा चन्द्र ढकालले आफूलाई समर्थन गर्नेमा आशावादी देखिन्छन् । ‘उहाँले खुल्दीन भन्नु भएको छ, उहाँलाई पनि काम गर्न सजिलो मान्छे चाहिन्छ, अन्तिममा उहाँले मलाई समर्थन गर्नुहुन्छ’ वरिष्ठ उपाध्यक्षका एक आकांक्षीले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.