सिमेन्ट र स्टील व्यवसायीले ऋण नतिरेपछि बैंकहरुको एनपीएल बढ्यो, नाफा कति ?

  २०७९ माघ ५ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंकहरुको चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि सन्तोषजनक नहुने देखिएको छ । अर्थतन्त्रमा सुधार हुँदै गएपनि बैंकहरुको दोस्रो त्रैमास भने सन्तोषजनक नहुने देखिएको हो ।

पुस मसान्तसम्म बैंकहरूको लोन रिकभरी (कर्जा असुली) मा सुधार नहुँदा दोस्रो त्रैमास पनि खासै उत्साहजनक नभएको बैंकरहरुको धारणा छ । पहिलो त्रैमासमा पनि रिकभरीकै समस्या भोगेका बैंकहरुले दोस्रो त्रैमासा पनि सोही समस्या भोग्नु परेको हो । रिकभरीम समस्या भएपछि बैंकहरुको खराब कर्जा (एनपीएल) पनि बढेको उनीहरुको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था लामो समयदेखि तरलताको अभाव भोगिरहेका छन् । बैंकहरुले नयाँ कर्जा लगानी गर्न सकेका छैनन् भने पुरानो कर्जाको ब्याज तथा सावाँ पनि असुल गर्न सकेका छैनन् । सोही कारण पनि दोस्रो त्रैमासमा पनि सुधार हुन नसकेको हो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र रुस–युक्रेनबीचको युद्धले अर्थतन्त्रमा एक किसिमको दबाब सिर्जना हुँदा उद्योग व्यवसाय र बैंकहरुलाई पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । यही समयमा नेपाल राष्ट्र बैंकले पनि विभिन्न नीति नियमहरुमा कडाइ गर्दा बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण उत्साहजनक नआउने उनीहरुको धारणा छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकहरुका लागि दोस्रो त्रैमास पनि चुनौतिपूर्ण नै रहेको बताउँछन् । उनका अनुसार दोस्रो त्रैमासमा रिकभरीको एकदमै ठूलो समस्या देखिएको छ । रिकभरीमा समस्या हुँदा बैंकहरुको नाफामा पनि त्यसले प्रभाव पार्ने उनको भनाइ छ ।

‘सबै बैंकहरुको यकिन तथ्यांक आइसकेको छैन, दोस्रो त्रैमासमा निक्षेप संकलनमा केही सुधार भएको देखिन्छ, यो त्रैमासमा निक्षेप ९५ अर्बले बढेको छ, नाफामा केही संकुचन आउँछ कि भन्ने हाम्रो अनुमान छ तर सबै बैंकहरुको यकिन तथ्यांक नआउँदा यति नै नाफा/नोक्सान हुन्छ भन्न सकिँदैन, रिकभरीमा भने दबाब छ,’ उनले भने ।

उनका अनुसार दोस्रो त्रैमासमा बैंकहरुको नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा केही घट्न सक्छ । दोस्रो त्रैमासमा बैंकहरुलाई स्प्रेडदर कायम गर्नु पर्ने दबाब पनि छ । यो सँगै पुँजी कोष निर्धारित तहमा राख्नु पर्ने, तरलता निक्षेप अनुपात २० प्रतिशत कायम गर्नुपर्ने र स्प्रेडदर घटाउनु पर्ने लगायतका कारणले बैंकहरुको आम्दानीमा ह्रास आएपछि नाफा पनि स्वतः घट्न सक्ने बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशतभन्दा बढी हुन नुहने नीति बनाएको छ ।

यस्तै, माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा पनि दोस्रो त्रैमासमा बैंकहरुलाई रिकभरीको चुनौति रहेको बताउँछन् । उनका अनुसार निर्माण र पर्यटन क्षेत्रका ऋणीहरुले व्याज नतिर्दा बैंकहरुलाई रिकभरीमा दबाब परेको हो ।

‘बैंकहरुको दोस्रो त्रैमास सकसपूर्ण नै छ, सिमेन्ट, स्टिल र पर्यटन व्यवसायमा प्रवाह भएको कर्जाको सावाँ तथा व्याज पनि असुल हुन सकेको छैन, यसले बैंकहरुको खराब कर्जा ०.७५ प्रतिशतसम्म बढ्न सक्छ, नाफा पहिलो त्रैमासको हाराहारी वा अलिकति घट्न सक्छ, यो समयमा सरकारको पुँजीगत खर्च पनि हुन सकेन, त्यसैले पनि बैंकहरुको दोस्रो त्रैमास सन्तोषजनक भएन,’ उनले विकासन्युजसँग भने ।

उनले पनि बैंकहरुको निक्षेप भने बढ्दै गएकोले तरलतामा सुधारको संकेत देखिएको धारणा राखे । उनका अनुसार अहिले बैंकहरुको ब्याज घटेको, राष्ट्र बैंकले स्प्रेडदर घटाएको र बैंकहरुले प्रवाह गरेको कर्जा असुली नभएको लगायतका कारणले बैंकको आम्दानी प्रभावित भई नाफामा पनि संकुचन आउन सक्छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले साढे ४९ अर्ब खुद नाफा गरेका थिए । दोस्रो त्रैमासमा पनि सोही हाराहारीमा नाफा हुने बैंकरहरुको धारणा छ । कात्तिक महिनामा भने बैंकहरुको नाफा असोजको तुलनामा बढेको थियो । वाणिज्य बैंकहरुले कात्तिकमा २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.