१० कराेड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु, मुटु रोगीको उपचारमा सहज हुने

  २०७९ माघ ५ गते १४:२८     विकासन्युज

काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् ।

अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उनले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिए । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो विग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गरे ।

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताइन् । उनले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले मुलुककै पुरानो र ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताए । उनले चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा क्याथल्याब सेवाको विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गरे । हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नशा खोल्न) क्याथल्याब आवश्यक पर्दछ ।

क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउने गरिन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा सुरु गरिएको बताए ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार यहीअस्पतालमै गर्न सकिने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये दैनिक चार/पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ । कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो ।

‘अब हामीले क्याथल्याब सञ्चालन गरेपछि कुनै पनि मुटुका बिरामीको उपचार यही अस्पतालमा गर्न सक्षम भएका छौं,’ निमित्त प्रमुख प्रशासकीय अधिकारी बस्नेतले भने । उनका अनुसार नौ करोड ७० लाख रुपैयाँको लगतमा स्थापना गरिएको सो क्याथल्याव आइतवार शुरु गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.