बिग मर्जर : विवाहसँगै बिमार बोक्दै बैंकहरु

  २०७९ माघ ५ गते १०:२९     सन्तोष रोकाया

काठमाडौं । अहिले बैंकहरुबीच मर्जरको लहर छ । ३२ वटामा रहेका वाणिज्य बैंक घटेर २२ वटामा झरिसकेका छन् भने अझै दुइटा बैंक घटेर २० वटामा झर्ने निश्चित छ । हिमालयन–सिभिल बैंक र लक्ष्मी–सनराइज बैंकले मर्जर सम्झौता गरेर एकीकृत कारोबारको तयारी गरिरहेका छन् । ती चार बैंकबीच मर्ज भइसकेपछि वाणिज्य बैंकहरुको कुल संख्या २० वटा कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजानुको मुख्य कारण भनेको पुँजी बढाएर संस्थालाई बलियो बनाउने, लागत घटाउने र बैंकिङ बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्नु नै हो । सुरुमा यस विषयमा ‘कन्भिन्स’ नभएका र मर्जरमा जान खासै चासो नदेखाएका बैंकहरु यस पटक भने हतार–हतारमा एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा सामले भए ।

यसअघि मर्जरको विषय बैंकहरुका लागि टाउको दुखाइको विषय बन्थ्यो । महिनौंसम्म मर्जरकै प्रक्रियामा रहेर अन्तितमा मर्जर भाडिएको विषय पनि ताजै छन् । तर, यस पटक भने मर्जर सम्झौता गरेको दुई/तीन महिनामै बैंकहरु एकीकृत कारोबार गर्न सफल भए । सेयर स्वाप रेसियोमा खासै ध्यान दिइएन । सञ्चालक समितिमा को–को बस्ने र कस्तो व्यक्ति बस्ने भन्दा पनि एउटा बैंकबाट कति संचालक बस्ने भनेर संख्या तोक्ने काम भयो । यसको दीर्घकालिन प्रभावको विषयमा भने न राष्ट्र बैंकले चासो देखायो नत बैंकहरु नै सजग भए ।

हतार–हतारमा काम गर्न खोज्दा बैंकहरु गाभ्ने र गाभिने मात्रै भएनन्, ती बैंकहरुमा भएका विवादहरु पनि गाभिए । केही सूचकमा ठूलो भएपनि गाभिने बैंकले कस्तो बैंकसँग गाभिदै छु भन्ने सोचनन् । क्रस होल्डिङ भए मात्रै पुग्ने किसिमले बैंकहरुबीच मर्जर भयो । बैंकको छवि कस्तो हो ? त्यो बैंकमा भएका सञ्चालकको चरित्र कस्तो हो ? बैंकमा काम गर्ने कर्मचारीको उत्पादकत्व र क्षमता के कस्तो छ ? लगायतका विषयले खासै प्राथमिकता पाएन । बस्, मर्जरलाई एउटा प्रक्रियाका रुपमा लिइयो । राष्ट्र बैंकको मर्जरको डण्डामा बैंकहरु निरिह भएर अनुशाशित भएको भान देखाए ।

धेरैले बैंक मर्जरलाई विवाहका रुपमा लिए । बैंक–बैंकबीचको इनर्जीलाई सिनर्जीका रुपका परिभाषित गरे । जसरी विवाहसँगै दुलाहा या दुलहीमा कुनै रोग देखिन्छ नी, त्यो रोग दुवैको लागि असह्य हुन्छ । जब निको नहुने रोग लाग्छ, जीवनभर पछुताउनु बाहेकको विकल्प त्यो जोडीसँग रहन्न । सक्नेले सम्बन्ध विच्छेद गर्छन् । हो, अहिलेको बैंकहरुबीचको विवाह पनि त्यस्तै किसिमको परिस्थिति सिर्जना नहोला भन्न सकिन्न । बैंकहरुबीच विवाहसँगै बिमार पनि ‘ट्रान्सफर’ भएको छ । हिजो एउटा सानो वाणिज्य बैंकमा भएको बिमार अब ठूलो बैंकमा पनि प्रवेश गरेको छ ।

केही उदाहरणहरु हेरौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्यो । नेपाल बैंक गाभिनुभन्दा अगाडि तत्कालीन नेपाल बंगलादेश बैंकमा कर्जा अनियमिततादेखि सञ्चालकको व्यवस्थापनमाथि बाराम्बार हस्तक्षेप भएका विषय सार्वजनिक रुपमै आउँथे । नबिल बैंकसँग गाभिनै लाग्दा पनि एनबी बैंकका सञ्चालक लक्ष्मी बहादुर श्रेष्ठ मर्जर प्रक्रिया भाड्न भन्दै अदालत पुगे । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड समेत आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर सर्वोच्च अदालत पुगे । पछि अदालतले कारण देखाउ आदेश जारी गर्यो ।

यस्तै, एनबी समूहकै लगानी रहेको एनसीसी बैंक कुमारी बैंकसँग मर्जरमा गयो । यो विषयले पनि अदालतमा प्रवेश गर्यो । लक्ष्मी बहादुर श्रेष्ठले नै कुमारी बैंकमा मर्ज भएपछि सञ्चालक समितिमा आफ्नो छोरालाई राख्न माग गरे भने एनसीसी बैंकको नाममा रहेको हरिसिद्धिको १२५ रोपनी जग्गा आफूलाई फिर्ता गरिदिन माग गरे । पछि उनले सो मुद्दा फिर्ता लिए । बैंक कुमारीसँग मर्ज भयो । त्यति मात्रै होइन, एनसीसी बैंकमा सञ्चालकको मिलोमतोमै धेरै कर्जा प्रवाह भएको र त्यो कर्जा असुल हुन नसकेको विषय अहिले पनि छ । एनसीसी बैंकले डिएन एस इन्भेष्टमेन्टलाई दिएको कर्जाको विषय पनि सर्वोच्चमै विचाराधीन अवस्थामा छ ।

अब एनसीसी कुमारीसँग मर्ज भइसकेपछि एनसीसीको यो सबै झमेला कुमारी बैंकले झेल्नु पर्ने हुन्छ । यद्यपि, कुमारी बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिृकत रामचन्द्र खनाल एनसीसी बैंकले डीएनएस इन्भेटमेन्टलाई दिएको ७ करोड कर्जा असुल गरिसकेको र मुद्दा भने खेप्नु पर्ने बाध्यता रहेको धारणा राख्छन् ।

प्रभु बैंकले पनि सेञ्चुरीलाई गाभ्यो । सेञ्चुरीमा पनि त्यस्तै विवाद छ । तत्कालीन सेञ्चुरी बैंकले मौरिससको एक रेमिट कम्पनीबाट पाउनुपर्ने ६ लाख अमेरिकी डलर (करिब ७ करोड रुपैयाँ) प्राप्त गर्न नसकेपछि बैंकका सञ्चालकहरू नै विवादमा तानिए । यो विषय अझै टुङ्गिन बाँकी छ । अब यस विषयलाई सल्ट्याउनु पर्ने दायित्व प्रभु बैंकको काँधमा आइपुगेको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)बीच पनि मर्ज भयो । ग्लोबलको कमलादीमा निर्माण हुन लागेको भवनको विषयमा पनि एकताका ठूलै विवाद भयो । बैंक अफ काठमाण्डूको रकम मेलम्ची खानेपानीमा पनि डुब्यो । बिओकेले मेलम्चीको मुद्दा जितिसकेको छ । तर, पनि यी र यस्तै अनेकन विषय किनारा लगाउनका लागि ग्लोबल आइएमई बैंकले भिड्नु पर्नेछ ।

यस्तै, हिमालयन बैंक पनि सिभिल बैंकलाई गाभ्ने प्रक्रियामा छ । सिभिल बैंकमा पनि त्यस्तै विवाद छ । सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङले बैंकबाट सिभिल सहकारीमा पैसा लगानी गरेको विषय पनि बाहिरिएको छ । उनी अहिले सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा थुनामामा छन् । सिभिल सहकारीले सिभिल बैंकको पैसा प्रयोग गरेकै हो भने अब त्यसको असुलीमा हिमालयन बैंक लाग्नु पर्ने देखिन्छ ।

हुनत मर्जर प्रक्रियामा सामेल भएर एकीकृत कारोबार गरिसकेका यी बैंकहरुले विभिन्न सूचकहरु देखाएर नम्बर वानको ढोल बजाइरहेका छन् । प्रत्येक बैंकको एकीकृत कारोबार कार्यक्रमा ‘हामी नम्बर वान बन्छौं’ नभनेको कुनै बैंक छैन । तर, बैंकभित्र लामो समयदेखि रहेका विवाद सुल्झ्याउन र समाधानको बाटो खोज्ने विषयमा भने न कुनै सञ्चालकको आवाज सुनिन्छ नत बैंकका सीईओहरुको नै । नेपाल राष्ट्र बैंक पनि यस विषयमा रमिते बनेको छ ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल यो गम्भीर विषय भएको धारणा राख्छन् । ‘यस विषयमा राष्ट्र बैंकले धेरै सोच्नु पर्ने आवश्यकता छैन, बैंकहरुबीच मर्ज हुनु भनेको एक हुनु हो, हिजो एउटा बैंकमा भएको विवाद या कुनै मुद्दा मामिला नयाँ बन्ने बैंकले व्यहोर्छ, सबै सम्पत्ति गाभिसकेपछि ती विवाद तथा अल्झनहरु पनि स्वतः अवलम्बन गरेर अपनत्व महसुस गरेर काम गर्नु पर्छ,’ पोखरेलले विकासन्युजसँग भने ।

बैंक मर्ज भएपछि अघिल्लो बैंकमा भएका विवादहरु झन बल्झियो भने मर्ज भइसकेको बैंकले त्यो विवाद सल्ट्याउन नचाहेर त्यसबाट पछि हट्यो भने बैंकहरुबीच ‘डिमर्ज’ हुने सम्भावना कतिको हुन्छ भन्ने विकासन्युजको प्रश्नमा पोखरेलले जवाफ दिए, ‘अहिलेसम्म त्यस्तो घटना भएको छैन, त्यसको परिकल्पना गर्नु पनि हुँदैन, नभएको घटनालाई यस्तो हुन्छ भनेर भन्न सकिँदैन ।’

बैंक सञ्चालक के भन्छन् ?

बैंक मर्ज भइसकेपछि सबै विषयहरुको मर्ज हुने बैंकका सञ्चालकहरु बताउँछन् । उनीहरुका अनुसार विभिन्न वित्तीय सूचक मात्रै नभई बैंकका सबै (असल र खराब) चिजहरु पनि आफ्नै ठानेर गाभ्ने वा गाभिन्छन् ।

प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला बैंकले असुल गर्नु पर्ने ऋण, भएको नाफा लगायत सबै सम्पत्ति र दायित्वमा आइसकेको हुनाले यस विषयमा पछि कुनै थप विवाद नहुने धारणा राख्छन् । ‘सबै विषयहरु सम्पत्ति तथा दायित्वमा आइसकेको हुन्छ, केही विवाद भएपनि मिलेर समाधान गर्ने हो, नयाँ बनेको बैंकले आफ्नै विवाद हो भनेर लाग्नु पर्छ, मर्ज नै भइसकेपछि सबै कुराहरु मर्ज हुन्छन, बैंकमा मेरो या तेरो भन्ने हुन्न,’ उनले भने ।

उनका अनुसार बैंक नै एउटा भइसकेको अवस्थामा कुनै सेयरधनीलाई मन नपरेको खण्डमा बैंकबाट बाहिरिन सक्छन् तर बैंकनै डिमर्ज भएर पहिलेकै अवस्थामा फर्किने अवस्था भने नहुने धारणा राख्छन् ।

यस्तै, तत्कालीन एनसीसी बैंकका अध्यक्ष तथा कुमारी बैंकका सञ्चालक उपेन्द्र केशरी न्यौपाने बैंक तथा वित्तीय संस्था मर्जरले सबै हक अधिकार ग्रहण गर्ने भएकोले विवाद आयो भनेर चुप लागेर बस्न नहुने बताउँछन् । ‘मर्जरपछि हुने नाफा/नोक्सान सबै ग्रहण गर्नु पर्ने हुन्छ, व्यक्तिगत मुद्दा तथा विवाद भएको खण्डमा व्यक्तिले नै लड्छ तर संस्थागत भयो भने नयाँ संस्थाले नै लड्छ, ती सबै प्रक्रिया नयाँ बैंकले नै गर्छ, यसमा कुनै समस्या हुँदैन,’ वरिष्ठ अधिवक्ता समेत रहेका न्यौपानेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.