भिभिआईपीको टेबल/सोफामै सकिन्छ करोडौं बजेट, कुनको खर्च कति ?

  २०७९ माघ ४ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालका उच्च पदस्थहरुको कार्यालय व्यवस्थापनमै वार्षिक करोडौं खर्च हुने गरेको छ । उच्च पदस्थ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतको कार्यालय व्यवस्थापनमै करोडौंको खर्च हुने गरेको हो । आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा फर्निचर तथा मेसिनरी सामग्री व्यवस्थापन गर्दा राज्यले करोडौं रुपैयाँ खर्च गरेको छ ।

विकासन्युजलाई प्राप्त सूचनाअनुसार ६ वटा भीभीआईपी कार्यालयहरुमा फर्निचर तथा मेसिनरी सामग्री व्यवस्थापन गर्दा वार्षिक रुपमा करोडौं खर्च गरेकाे देखिएकाे छ । आर्थिक वर्ष ०७७/७८ मा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रपति निवासका निम्ति विभिन्न प्रकारका फर्निचर र मेसिनरी सम्बन्धी सामग्रीहरु खरिद गरेको थियो । सचिवालयले राष्ट्रपति निवासका लागि उक्त आर्थिक वर्षमा सिंगल बेड २, रेफ्रिजेरेटर २, डाइनिङ मेच १४, भ्याकुम क्लिनर ३, गलैंचा १, पेन्टिङ ३, म्याट्रेस १, वुडन ट्रली १, कफी मेकर १, जुस मेकर १, प्लेट वार्नर र एसीबी १ थान खरिद गरेको थियो । खरिद गरिएका मध्ये अधिकांश सामग्रीहरु टेन्डर प्रकृयाद्वारा खरिद गरिएको सचिवालयले जनाएको छ ।

दुई आर्थिक वर्षमा सबै भिभिआईपीका लागि साढे दुई हजारका दरले ३० वटा आइरन, ६४ हजार रुपैयाँको दरले २१ थान टेलिभिजन, १२ हजार रुपैयाँका दरले १५ थान वाटर डिस्पेन्सर, साढे १ लाखको दरले ४१ वटा एयर कन्डिसनर, २३ हजारका दरले १७ वटा भ्याकुल क्लिनर र ६ हजार रुपैयाँका दरले १०७ वटा साइट टेबल खरिद गरेका छन् । जसको मूल्य मात्रै करिब १ करोड पर्न जान्छ । अन्य धेरै सामान खरिद गरिएका छन् । जसको मूल्य करोडौं पर्छ ।

त्यस्तै, सचिवालयले राष्ट्रपति निवासकै लागि आर्थिक वर्ष ०७८/७९ मा पनि ठूलो संख्यामा फर्निचर तथा मेसिनरी सामग्री खरिद गरेको छ । सचिवालयका अनुसार राष्ट्रपति निवासका लागि उक्त आर्थिक वर्षमा टेलिभिजन ६, माइक्रोवेभ २, वासिङ मेशिन १, मिक्सचर २, पलङ ३, पेन्टिङ २ र सोफासेट ५ थान खरिद भएको छ ।

उपराष्ट्रपति निवासको लागि आर्थिक वर्ष ०७७/७८ मा सचिवालयले साइड टेबल ३४, सोफासेट ४९, पलङ १, डाइनिङ टेबल ३, औषधी छर्ने पम्प १, म्याट्रेस १ र सीसीटीभी सामग्री एकथान खरिद गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा उपराष्ट्रपति निवासकै लागि सचिवालयले पानी तान्ने पम्प २, भ्याकुम क्लिनर १, माइक्रो फोन ७, घाँस काट्ने मेसिन १ र एम्प्लिफाएर १ थान खरिद गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारको लागि सचिवालयले २ आर्थिक वर्षमा फर्निचर तथा मेसिनरी औजार सम्बन्धी ठूलो संख्यामा सामग्री उपलब्ध गराएको विकासन्युजलाई प्राप्त सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार आर्थिक वर्ष ०७७/७८ मा सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारको लागि काठको दराज १, अफिस मेच २, काठको अफिस टेबुल १, सोफासेट १, पलङ बेड १२, स्टिल दराज १, सूचना पार्टी १, कम्प्युटर १, घाँस काट्ने मेशिन १, एयर कन्डिसनर ५, किचेन र्याक १, युपिएस ८, भ्याकुम क्लिनर २, गलैंचा ३, स्ट्यान्ड फेन ३, होलिजिन हिटर २, काठको र्याक १, ग्याँस चुल्हो १, मल्टिमिडिया प्रोजेक्टर सामग्री ६, साउन्ड सिस्टम १, म्याट्रेस २, बोगेज एक्सरे स्क्यानर १, बुलेटप्रुफ ब्रिफकेस ५, पोर्टेबल मोबाइल जामर र हाइपावर मोबाइल जामर १–१ थान, रियाक्टेबल ब्यारियर टेप १ र साउन्ड सिस्टम ५ थान खरिद गरेको थियो ।

त्यस्तै सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारको लागि आव ०७८/०७९ मा पानी तान्ने पम्प २, भ्याकुम क्लिनर १, आइरन ३, स्ट्याण्ड पंखा १२, कन्भर्टर ४, नेटवर्किङ र्याक २, सिलाई मेशिन १, टुल बक्स १, फायर एक्स्टिङग्युसर १, टेबुल ३, दराज २, स्टिल दराज ५, टी टेबुल ७, पलङ ७, स्ट्यान्ड २ र सफ्टवेयर १ थान खरिद गरेको थियो ।

सचिवालयले राष्ट्रपति निवास, उपराष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सभामुख निवास, राष्ट्रिय सभा अध्यक्ष निवास, प्रधान न्यायाधीश निवास र मन्त्री निवासका लागि आवश्यक सामग्री उपलब्ध गराउने र नेपाल सरकारका केन्द्रीय तथा विभिन्न विभागीय कार्यालयहरुमा निर्माण तथा व्यवस्थापन सम्बन्धी विभिन्न कामहरु गर्ने गर्छ ।

सचिवालयका अनुसार आव ०७७/७८ र ०७८/७९ मा १४ प्रकारको मेसिनरी सामग्री आपूर्तिका लागि कुशल इन्टरप्राइजेजले ठेक्का पाएको थियो, भने अन्य सामग्रीहरु कोटेशन मार्फत खरिद गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.