पढाइसँगै पैसा, सात साथी मिलेर ल्याए ‘कलेज टिफिन’

  २०७९ माघ ३ गते १६:५१     विकासन्युज

काठमाडौं । विद्यालय या कलेजमा पढ्ने जोकोहीलाई पनि घण्टौंसम्म खाजाका लागि क्यान्टिन अथवा होटलमा पर्खिनु परेको अनुभव पक्कै हुनु पर्छ । खाजा खानैका लागि लामो समयसम्म होटलमा बसेकै कारण कक्षा कोठामा शिक्षक/शिक्षिकाको गालि नखाएकाहरु पनि सायद विरलै होलान् । तर, के गर्नु पेटको भोक मार्नै पर्यो । गालि खानै परेपनि खाजा खाएरै जाने हामी सबैको बाध्यता हुन्छ ।

यस्तै बाध्यता र विवशता नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) का विद्यार्थीहरु अर्जुन, विवेक र आयुशा लगायतहरुलाई पनि थियो । उनीहरुले सोचे, यो बाध्यताको अन्त्य कसरी गर्न सकिन्छ होला ? उनीहरुको दिमाखमा धेरै आइडिया आए । ती मध्यको एउटा आइडिया हो ‘कलेज टिफिन’ ।

‘हाम्रो आफ्नै अनुभवको कारण यो कन्सेप्ट ल्याएका हौं, कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ, सबै साथीहरुलाई खाजा बनाउन होटल/क्यान्टिनलाई समय लाग्छ, उता कक्षा सुरु भइसकेको हुन्छ, ढिलो गएपछि सर/म्यामहरुले कराउनु हुन्छ, यो समस्याको कसरी समाधान गर्न सकिन्छ भनेर हामीले कलेज टिफिन ल्यायौं,’ कलेज टिफिनका प्रमुख कार्यकारी अधिृकत विवेक ढकालले भने ।

विद्यार्थीहरूको समय बचत गर्ने उद्देश्यले कलेज टिफिन एपको लन्च गरेको ढकालले बताए । सो एप मंगलबार सार्वजनिक गरिएको छ । उक्त एप मार्फत् कलेज आसपासका रेस्टुरेण्टमा विद्यार्थीले खाना अर्डर गर्नसक्ने छन् ।

‘कजेज टिफिन एउटा प्लेटफर्म हो, जहाँ कुनै रेस्टुरेण्ट जानु भन्दा अगाडि यसै एप मार्फत प्रि–अर्डर गर्न सकिन्छ, रेस्टुरेण्टको मान्छे पहिला नै अर्डर थाहा पाइसक्छ, त्यसपछि अर्डर गरेको ठाउँमा पुगेर धेरै समय नकुरेरै खाजा खाएर समयमै फर्किन सकिन्छ,’ उनले भने ।

यो एउटा स्टार्टअप बिजनेस हो । यो एप कलेजका विद्यार्थी र रेस्टुरेन्टहरूलाई जोड्ने एउटा माध्यम हो । ‘विद्यार्थीलाई भोलि बिहान १० वा १२ बजे छुट्टी हुन्छ भन्ने थाहा हुन्छ, भोलि म यो खान्छु भनेर यस एप मार्फत आजै अर्डर गर्न सकियो, पैसा भने सोही समय तिर्नुपर्ने हुन्छ, हाम्रो एपमा लिस्टेड भएका रेस्टुरेन्टहरूको मेनु उपलब्ध हुन्छ,’ उनले भने ।

एपका फाउण्डर अर्जुन घिमिरे आफैले धेरै पटक खाजा खाँदा कक्षा छुटेकैले यो बिजनेस सोचेको बताउँछन् । ‘म अफै टिफिन समयमा बाहिर खाजा खान जाँदा कयौं दिन पढाइ छुट्यो, यो समस्याको समधान गर्नको लागि मैले विभिन्न उपयाहरु खोजिरहेको थिएँ, समय पनि बचोस, पढाइ पनि नछुटोस् र सँगै बिजनेस पनि होस् भन्ने योजना सोचिरहेको थिएँ, मैले कलेज टिफनको विषयमा धेरै सोचेँ, साथीहरुलाई योजना सुनाएँ, साथीहरुलाई पनि मन पर्यो, साथ दिए, अहिले सार्वजनिक गर्न सफल भयौं,’ घिमिरेले भने ।

पकेट खर्चबाटै बन्यो ‘कलेज टिफिन’

एनसीआईटी कलेजका सात जना विद्यार्थी मिलेर ‘कलेज टिफिन’ एप सञ्चालनमा ल्याएका हुन् । सो कलेजा स्नातक तह पढ्ने अर्जुन घिमिरे, विवेक ढकाल, आयुषा श्रेष्ठ, प्रिन्स कुस्वाना, सरोज ढकाल, सुसन अधिकारी र सुसन चापागाईं मिलेर यो एप सञ्चालनमा ल्याएका हुन् । उनीहरुले फरक–फरक जिम्मेवारी तोकेर काम अगाडि बढाएका छन् ।

सीईओ ढकालका अनुसार केही साथीहरूको आफ्नै स्टार्टअप बिजनेस पनि गरिरहेका छन् । नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेको उनीहरुको भनाइ छ । फाउन्डर घिमिरे कलेज टिफिन एप बनाउन ८ महिना समय लागेको बताउँछन् ।

‘हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं, एक लाखको हाराहारीमा खर्च भएको छ, यो एपले विद्यार्थीहरुको समय बचत हुनेमा हामी विश्वस्त छौं, यो एप सबै विद्यार्थीका लागि प्रभावकारी रुपमा काम गर्र्नेमा हामी ढुक्क छौं,’ उनले भने ।

अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । घिमिरेका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । सबै कलेजमा लागू भएको छैन । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने योजना रहेको उनको भनाइ छ । अहिले यस एपमा एनसीआईटी कलेज आसपासका ५/६ वटा रेस्टुरेण्टहरूलाई समावेश गरिएको छ । टिमले २/३ वर्ष भित्र आम सर्वसाधारणको लागि यो एप खुल्ला गर्ने योजना बनाएको छ ।

कसरी प्रयोग गर्ने एप ?

यो एपलाई प्ले स्टोरबाट डाउनलोड गरेर सञ्चालन गर्न सकिन्छ । डाउनलोड गरेपछि उक्त एपलाई ‘लगइन’ गर्नुपर्ने हुन्छ । लगइन गर्दा विद्यार्थीको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ भने कलेजको पनि छनोट गर्नुपर्ने हुन्छ ।

लगइन गरिसकेपछि एप भित्र सूचीकृत रेस्टुरेन्ट तथा होटलहरु देख्न सकिन्छ । अहिले एपमा सात वटा रेस्टुरेन्ट आवद्ध छन् । पछि ती रेष्टुरेण्ड बढ्दै जानेछन् । हरेक रेस्टुरेण्टमा पाइने खाजाको नामसहित मूल्य पनि एपमा राखिएको छ ।

कुन रेस्टुरेण्टको खाजा अर्डर गर्ने आफ्नो च्वाइस अनुसार छनोट गर्नु पर्छ । अर्डर गरेकै समयमा पैसा तिरेपछि आफुलाई पायक पर्ने समयमा खाजा खाएर समयमै फर्किन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.