नेपालको पहिलो ‘क्रुज सिप’ सञ्चालन; जहाजभित्रै विवाह, ब्रतबन्धदेखि रेष्टुरेन्टको सुविधा

  २०७९ माघ २ गते १३:०९     विकासन्युज

काठमाडौं । नारायणी नदीमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो । भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज सिप सञ्चालनमा आएको हो ।

तीन तला रहेको क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्ने बताइएको छ । पहिलो तलामा सभा समारोह, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाँउ छ भने माथिल्लो तलामा रेष्टुरेण्ट पनि छ । जहाजमा बार, भिआईपी क्याविन र शौचालयको पनि सुविधा रहेको छ ।

क्रुजसिपमा चढेर नदी छेउमा रहेका वनजंगल, धार्मिक क्षेत्र लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारीका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

उक्त क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । यात्रुलाई ढुंगेलले एक घन्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको बताए। यसका लागि ७ सय रुपैयाँ लाग्छ । यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए । ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो क्रुज सिप निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको ढुङ्गेलले बताए । उनले क्रुजमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा हुने बताए । क्रुज सिपमै बसेर विवाह, व्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइनेछ ।

नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् । क्रुजमा दुई इञ्जिन रहेका छन् । तीनघण्टाको प्याकेज बनाइएको छ। हिउँदमा देवघाटसम्म र वर्षामा गाजीपुसम्म पु¥याउने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.