राष्ट्रिय वाणिज्य बैंकको रणनीति : बोनस सेयर बढाउने, खराब कर्जा कम गरेर नाफामा अब्बल बन्ने

  २०७९ पुष २८ गते १९:०६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.बलराम पाठकले खराब कर्जा घटाउँदै लैजाने बताएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष डा. पाठकले बैंकको खराब कर्जादर घटाउँदै लैजनो रणनीति रहेको बताएका हुन् ।

‘राष्ट्रिय वाणिज्य बैंकले खराब कर्जा घटाउँदै लैजाने हो, बैंकको सुदृढिकरण खराब कर्जा घटाउने मुख्य काम हो, खराब कर्जा घटाउँदा मात्रै बैंकको पफर्मेन्स राम्रो हुन्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंक गत असार मसान्तसम्ममा बैंकको खराब कर्जादर ३.०७ प्रतिशत छ ।

अध्यक्ष डा. पाठकले आगामी दिनमा सेयरधनीहरुलाई बोनस सेयरमा जोड दिने बताए । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको र तरलता अभाव खेप्नु पर्ने भएकाले पैसा परिचालनका लागि नगद लाभांशमा जोड दिएको उनको भनाइ छ ।

‘आगामी दिनमा सकेसम्म बोनस सेयर धेरै दिने चाहना छ तर नेपाल सरकारलाई पैसाको धेरै खाँचो परेको हुँदा नगद धेरै दिइएको हो, सरकारले पनि नगद लाभांश दिनुस् भन्ने गरेको छ, बोनस सेयर दिनु हुँदैन भन्ने गरेको छ तर समय स्थिती अनुसार बोनस सेयर धेरै दिने कोसिस गरिनेछ,’ उनले भने ।

पछिल्लो समय बैंकले निरन्तर वार्षिक साधराण सभा गर्न सफल भएको उनले बताए । सरकारी बैंकमा चुस्त दूरुस्त काम हुने गरेको उनको भनाइ छ । पछिल्लो समय शाखा कार्यालय विस्तारका लागि ठूलो संख्यामा आवेदन आएको उनले जानकारी दिए ।

उनका अनुसार सरकारी बैंक भएकाले कर्मचारीलाई भर्ना गर्न गाह्रो छ । आफूखुसी काम गर्न नपाइने भएकाले चाहेपनि काम गर्न नसकेको उनले बताए ।

‘शाखा कार्यालय धेरै भएर मात्रै हुँदैन, थोरैमा पनि राम्रो विजनेश गर्न सकिन्छ तर राष्ट्रिय वाणिज्य बैंकलाई बाध्यता छ, प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा पनि गर्नुपर्छ, सरकारी निकायको आदेश/निर्देशन पनि मान्नुपर्छ, सबै नेपाली जनताको सुखदुखको सहयोगी पनि बन्नुपर्छ, सबै जिल्लामा पहुँच पनि पुर्याउनु पर्ने बाध्यता छ, अहिलेपनि १ सय बढी शाखा सञ्चालनका लागि आवेदन आएका छन्, सकेसम्म कर्मचारीको क्षमता हेरेर सेवा दिने कोसिस गर्छाैं,’ उनले भने ।

सेयरधनी डम्मरु बल्लब घिमिरेले तत्कालीन एनआईडिसी बैंकलाई प्राप्ति गरेपछि कर्मचारीमा ठूलो भेदभाव हुने गरेको बताए । एनआईडिसीबाट आएका कर्मचारीको सेवा सुविधा कम भएको गुनासो राखे । बैंकको सञ्चालक समितिमा ९९ प्रतिशत सदस्य सरकारको सिफारिमा आउने भएकाले सर्वसाधारण सेयरधनी धेरै पीडित हुने गरेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकको भन्दा धेरै लाभांश दिनुपर्ने उनको माग छ ।

‘राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालकहरु बारम्बार परिवर्तन भइरहेका छन्, सर्वसाधारणको सेयर हस्तान्तरणको प्रक्रिया सहज हुनुपर्याे, बैंकमा रहेको सेयरलाई न सर्वसाधारण सेयर भन्न सकिएको छ न सरकारको सेयर भनिएको छ, मेरो सेयर बक्री गर्न पाइँदैन, परिवारलाई हस्तान्तरण गर्न पनि पाउँदैन,’ उनले भने ।

सेयरधनी दामोदर प्रसाद रेग्मी बैंकले कमाएको नाफामा सरकारी सेयरधनी र सर्वसाधारण सेयरधनीको समान हैसियत हुनु पर्ने बताउँछन् । बैंकले नाफा धेरै कमाएको भएपनि सर्वसाधारण सेयरधनीहरुलाई थोरै दिने गरेको उनले बताए ।

‘बैंकले कमाएको पैसा सेयरधनीहरुलाई समान हैसियतमा बाड्नुपर्छ, साना सेयरधनीहरुलाई दिने प्रतिफल र ठूला सेयरधनीहरुलाई दिने प्रतिफलमा समान हैसियत हुनुपर्छ, साना सेयरधनीहरुलाई ठूलो अन्याय भएको छ, सेयरधनी सानो होस् वा ठूलो तर हैसियत बराबर हुन्छ,’ उनले भने ।

सेयरधनी राम गोपाल महर्जन निजी क्षेत्रका बैंकहरु मर्जरमा गइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकलाई चुनौति थपिएको बताउँछन् । बैंकको पूँजी थप र कर्मचारीलाई समय सुधाउँदो तालिम दिएर बैंकलाई उचाइमा पुर्याउनुपर्ने उनले बताए । साथै बैंकका सेयरधनीहरुले उच्च प्रतिफलको आश गरेको उनको भनाइ छ ।

‘हामी साना सेयरधनी भएपनि धेरै प्रतिफल पाउने आश हुन्छ, कर्मचारीलाई समय सहुउँदा तालिमको व्यवस्था गर्याे भने बैंकले फड्को मार्छ, बैंकको खराब कर्जा र तरल सम्पत्तिलाई सन्तुलन कायम गर्नुपर्छ, शाखा कार्यालय ७७ जिल्लामा पुगेको भएपनि मोनीटरिङमा कमजोर रहेको छ, शाखा कार्यालय विस्तार गर्दा नाफालाई जोड दिनुपर्याे, बैंकले बोनस सेयरलाई ध्यान दिनुपर्छ, आगामी दिनमा हाल कायम रहेको लाभांश दर घट्नु हुँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.