चार वर्षपछि पोखरा र भैरहवा विमानस्थल यात्रुले भरिभराउ हुन्छन् : महानिर्देशक अधिकारीसँगको कुराकानी

  २०७९ पुष २५ गते १६:५१     विकासन्युज

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस १७ गतेदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । दुई ठुला विमानस्थल निर्माण भएर सञ्चालनमा आएतापनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएतापनि अहिले उडान विहीन भएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटन नै आन्तरिक उडान बाट भएको थियो । दुई ठुला विमानस्थलमा किन अन्तर्राष्ट्रिय उडान हुन सकेनन ? आवश्यक उपकरण सञ्चालनमा भारतको अवरोध, आन्तरिक उडानको भाडादर लगायतका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीसँग विकासन्युजले कुराकानी गरेको छ ।

गत जेठबाट नियमित उडान भएको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन ?

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुनुको मुख्य कारण नै खराब मौसम हो । अहिले हामीले आइएलएस सिष्टम सञ्चालन गर्न सकेका छैनौं । उक्त सिष्टम सञ्चालन नहुँदा बिहान लाग्ने बाक्लो तुवालोले उडान तथा अवतरण ठप्प भएको हो । जजिरा एयरलाइन्सले बिहान उडान गर्ने गरेको थियो । बिहानको समयमा मौसम खराबकै कारण जजिराले उडान पोष्टपोन्ट गरेको हो । अन्य वायुसेवा कम्पनीलाई हामीले भैरहवाबाट उडान गर्न आग्रह गरेका थियौं । कोभिडका कारण खोसिएको व्यवसाय पहिलेकै रुपमा नआएको हुँदा उहाँहरुकै आग्रहमा हामीले फोर्स उडानलाई नियमित गर्न सकेनौं । सन् २०२६ मा मात्रै पुरानै अवस्थामा फर्कने हामीले अनुमान गरेका छाैं ।

आइएलएस सिष्टम सञ्चालनमा भारतकै अवरोध हो ?

हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिष्टम जडान गरिसकेका छौं । सञ्चालनका लागि केही कामहरु बाँकी हुँदा सञ्चालन नभएको हो । हामीले नेगोसेसन गर्न बाँकी छ । सिष्टम अहिले पनि अपग्रेड भैरहेको छ, सञ्चालन मात्रै हुन नसकेको हो । उक्त सिष्टम सञ्चालन गर्न हामीले मित्रराष्ट्र भारतबाट अनुमति लिएर मात्रै पब्लिक गर्नुपर्ने हुन्छ, उताबाट अनुमति नपाउँदा तत्काल रोकिएको हो
नेपाल आउने बाटो भारतसँग समन्वय नगरी छैन । उक्त सिष्टम सञ्चालनका लागि समन्वय भैरहेको छ, अब छिट्टै सञ्चालन हुने अपेक्षा छ । भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिसकेका छन । उताको सहमति मात्रै कुरेका हौं ।’

भैरहवामा जहाज कहिलेदेखि चल्छन ?

अहिले चिसोका कारण तराईमा सितलहरका कारण बाक्लो हुस्सो लाग्ने गरेको छ । मौसम अलि सफा भएपछि उडान सुरु भैहाल्छ । मौसमका कारण उडान रोकिएको हो, अन्य कारण छैन, मौसममा सुधार आउनासाथ धमाधम उडान भैहाल्छ । भारत सरकारसँग उडान अनुमतिको कुरा बाइल्याटर एग्रिमेन्ट हो, यसमा क्यानले केही गर्न सक्ने अवस्था छैन । पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री लगायतका उच्च निकायबाट कुरा भैरहेको छ, हामीले आधिकारिक रुपमा पत्र पठाइसकेका छौं, अहिलेसम्म उताबाट केही जवाफ आएको छैन । हामी लागिरहेका नै छौं । अब यसको समाधान कुटनीतिक तवरबाट हुनुपर्छ ।

अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ र माग कम हुँदा मूल्य घट्छ तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ कम माग भयो भने घट्छ, यस्तो किन ?

आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खादा हवाई भाडादर महंगो भएको हो । एक त हवाई इन्धनको मूल्य छ, अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ, उनीहरु व्यापार गर्न आएका हुन । मोनोपोली हुन नदिन सरकारले वायुसेवा कम्पनी सञ्चालन गरेको हो । यसमा निगमले हस्तक्षेप गर्न सके दुर्गमका बस्ने सेवाग्राहीले पनि जहाज चढ्न सक्छन् । नेपाल वायुसेवा निगम जहाज थन्काएर उडान नगर्ने, नेपाल आयल निगम हवाई इन्धनमा मात्रै ४० प्रतिशतभन्दा बढी नाफा राख्ने, अनि महंगो हुँदैन हवाई टिकट ? चर्काे शुल्क खाएर पनि निजी वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।

प्राधिकरणले भैरहवा र पोखरा विमानस्थल बनाउन लागेको ऋण तिर्न सक्छ ?

वार्षिक रुपमा प्राधिकरणको आम्दानी २० अर्ब बढी छ । जसमा हाम्रो खर्च ९ अर्ब हाराहारीमा आउँछ । वार्षिक रुपमा ९ अर्ब हामीसँग बचत हुन्छ, ऋण तिर्न समस्या नै छैन । हामीले वार्षिक रुपमा सरकारलाई १ अर्ब बराबर आयकर, ६ अर्ब सञ्चालन खर्च र विभिन्न आयोजनाका लागि लिइएको ऋणको ब्याज २ अर्ब भुक्तानी गर्ने गरेका छौँ । वार्षिक २० अर्ब हाराहारीमा आम्दानी गर्ने प्राधिकरणको ऋण करिब ३८ अर्ब बराबर छ । जसमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंक र चीन सरकारमो मिनिस्ट्री अफ कमर्शबाट २२ अर्ब, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली विकास बैंकको ७ अर्ब र नयाँ परियोजनाका लागि करिब ९ अर्ब हाराहारीमा हामीले ऋण लिएका छौं । उक्त ऋणको हामीले वार्षिक रुपमा सावाँ र व्याज भुक्तानी पनि गर्दै आएका छौं । दुई विमानस्थल बनाउन लिएको ऋण तिर्न क्यान सक्षम छ ।

भर्खर सञ्चालनमा आएका दुई विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो भरिभराउ देख्न सम्भव छ ?

नेपालको हवाई क्षेत्र कोरोना अगाडीकै अवस्थामा फर्कन हामीले अझै पर्खनु पर्ने देखिएको छ । कोरोना अगाडिकै तुलनामा हवाई क्षेत्र फर्कन हामीले सन् २०२६सम्म पर्खनु पर्ने विभिन्न आंकलन गरिएको छ । विश्वभर असर गरेको कोरोनाकै असर गौतमबुद्ध र पोखरा विमानस्थलमा देखिएको हो । काठमाडौंको जस्तो यात्रुको भीड लाग्न हामीले केही समय पर्खनु पर्छ । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं विमानस्थल सञ्चालन गर्दा पनि यस्तै अवस्था थियो । यो प्रश्न काठमाडौं विमानस्थल निर्माण भएको भोलिपल्टै सोधिएको भए पनि त्यसबेला पनि सान्दर्भिक हुने थिएन । धेरै लामो पखाईपछि मात्र काठमाडौं विमानस्थल चलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.