कृषि विकास बैंकको सीईओका लागि आवेदन खुला, मासिक तलव ४ लाख

  २०७९ पुष २५ गते ७:३५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । बैंकले सीईओ पदका लागि विज्ञापन आह्वान गरेसँगै खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट सीईओ पदपूर्ति गरिने बैंकले जनाएको हो ।

बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि रिक्त रहेको छ । बैंकले सोमबार एक सूचना प्रकाशन गरी २१ दिन अर्थात् माघ १५ गतेसम्म योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो ।

बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरु मध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

सीईओलाई मासिक पारिश्रमिक ४ लाख रुपैयाँ र कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम र अन्य सुविधाहरु प्रदान गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी उपमहाप्रबन्धक प्रताप सुवेदीलाई दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.