शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

  २०७९ पुष २४ गते १०:२४     विकासन्युज

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ। स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो।

आर्थिक वर्ष २०७८-७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिकी अध्यक्ष घनकुमारी आलेले बताइन्।

कुल ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट ४९ लाख र स्थानीय उपभोक्ताबाट २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन्।

मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताइन्। ‘सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो’, उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.