सोलुखोला परियोजनाको निर्माण काम अन्तिम चरणमा पुगेको छ : अध्यक्ष पाठक

  २०७९ पुष ७ गते १३:२४     विकासन्युज

साहस ऊर्जा कम्पनीका अध्यक्ष हुन् हिमप्रसाद पाठक । विगत एक दशकदेखि हाइड्रो व्यवसायीका रूपमा काम गरिरहेका पाठक अहिले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काममा व्यस्त छन् । जलविद्युत क्षेत्रमा पाठक नेतृत्व निकै सफल मानिन्छ । साहस ऊर्जा कम्पनीले अहिले अगाडि सारेको सोलुखोला जलविद्युत आयोजना काम अन्तिम चरणमा पुगेको छ । सो आयोजनाको काम सम्पन्न गरेसँगै नयाँ परियोजना अगाडि बढाउने तयारीमा कम्पनी छ । सोही कम्पनीका अध्यक्ष पाठकसँग कम्पनीको वर्तमान वित्तीय अवस्था, कम्पनीले निर्माण गरिरहेका र आगामी दिनमा निर्माण गर्ने आयोजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेको छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः

साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

अहिलेसम्मको तथ्याङ्क हेर्दा साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था राम्रो नै देखिन्छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमा एक अर्ब ५ करोड रुपैयाँ पब्लिकबाट उठाएका छौं । संस्थापक सेयरधनीको २ अर्ब ४५ करोड रुपैयाँ रकम रहेको छ । हामीले ११ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छौं । उक्त संस्थाबाट लगभग १० अर्ब रुपैयाँको ऋण लिए चलाएका छौं ।

अब साहस ऊर्जाका लगानीकर्ताले कस्तो प्रतिफल पाउने छन् ?

साहस ऊर्जाका लगानीकर्ताहरूले औषतमा राम्रो नै प्रतिफल पाउनु हुनेछ । आजको दिनमा साहस ऊर्जाको दोस्रो बजारमा लगभग साढे ४ सय मूल्य छ । लगानीकर्ताले नगद लाभांश अथवा बोनस सेयर पनि पाउनु हुनेछ । यीमध्ये कुन दिने, कम्पनीले कति दिन सक्छ, त्यो भविष्यमा कम्पनीले निर्धारण गर्ने कुरा हो । आशा गरौं साहस ऊर्जामा लगानी लगानीकर्ता निराश बन्नुहुन्न ।

साहस ऊर्जाले कति वटा जलविद्युतका प्रोजेक्ट लिएर काम गरिरहेको छ ? नयाँ परियोजनाको काम अगाडि बढाउने सोचमा तपाईंहरु हो ?

अहिले साहस ऊर्जाले एउटा मात्र जलविद्युत आयोजनाको प्रोजेक्ट लिएर काम गरिरहेको छ । हामीले सोलुखुम्बुमा ८६ मेगावाट सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाएका छौं । अन्तिम चरणमा रहेको यो आयोजना काम सकेर नयाँ आयोजनाको काम थाल्ने छौं ।

हामी नयाँ परियोजनाको काम गर्ने तयारीमा छौं तर हामीले बाहिर यो परियोजना गर्ने भनेर घोषणा गरेका छैनौं । अहिले २/३ वटा ठाउँमा जलविद्युतका प्रोजेक्टको बारेमा अध्ययन गरिरहेका छौं । त्योमध्ये कुन परियोजना अगाडि बढाउने त्यसको बारेमा निकट भविष्यमा जानकारी गराउने छौं । सम्भवतः हामी डेढ २ सय मेगावाटको परियोजना अगाडि बढाउँछौं ।

सोलुखोला जलविद्युत आयोजना निर्माणका के के काम बाँकी छन् ? कहिले सम्पन्न गर्ने लक्ष्य छ ?

यो आयोजना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । सिभिल संरचनाको काम लगभग ९९ प्रतिशत सम्पन्न भइ सकिएको छ । मेसिनहरू पनि जडान भइसकेको छ । प्रसारण लाइनको एउटा टावर बन्न बाँकी छ । त्यसको पनि फाउन्डेसन भइ सकेको छ । सो टावरको काम अबको २ हप्तामा बनि सक्छ । त्यो समयसम्म पावर हवासको परीक्षण गर्ने छौं । यसमा विशेष गरी ४ वटा काम हुन्छन् । जस्तो सिभिल इन्जिनियरिङ, हाइड्रो मेकानिकल, इलेक्ट्रिक माइक्रोस्कोप (इएम) र प्रसारण लाइनको काम । सो काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले हामी परीक्षणको चरणमा छौं । भएका परीक्षण अहिलेसम्म सफलता पूर्वक सम्पन्न भएको छ । टनेलमा पानी हालेर परीक्षण गरी सक्यौं । त्यसपछि हामी मेसिनमा पानी हानेर घुमाउँछौं ।

केही समस्या आएन भने एक महिना भित्र सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको काम सम्पन्न गर्नेछौं । र, बिजुली उत्पादनको काम सुरु हुने छ । उक्त आयोजना सुरु भएदेखि अहिलेसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अहिले यस आयोजनाको काम लगानीकर्ताबाट थोरै-थोरै पुँजी उठाएर सुरु गरेका छौं । यस परियोजना अन्य आयोजनाहरू भन्दा अलिक फरक पनि छ । सोलुखोला जलविद्युत आयोजनामा निजी क्षेत्रले स्वदेशी लगानीमा बनाएको सबैभन्दा ठुलो परियोजना हो । हाम्रो कम्पनी संस्थापक सेयरधनीको हिसाबले पनि सबैभन्दा ठूलो कम्पनी हो ।

साहस ऊर्जाले आगामी दिनमा के कस्ता परियोजनाहरू बनाउने सोच बनाएको छ ? कसरी अगाडि बढ्दैछ ?

हामीले जलविद्युतका यीभन्दा ठूला क्षमताका आयोजनाहरू गर्ने सोच बनाइ रहेका छौं । जलविद्युतको क्षेत्रमा यस कम्पनी अगाडि बढ्छ । विभिन्न ठाउँमा नयाँ परियोजना सुरु गर्नको लागि पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा अध्ययन अनुसन्धान गरी रहेका छौं । त्यसमध्ये कुन चाहिँ सजिलो हुन्छ, प्राविधिक र पुँजी दुवैले उपयुक्त हुन्छ, त्यही आयोजनाको काम अगाडि बढाउने हो । अहिले नै फाइनल भएको छैन । त्यसैले यही गर्दैछौं भनेर भन्न सक्ने अवस्था छैन ।

नयाँ आयोजनाहरूको लागि पुँजी कसरी जुटाउँदै हुनुहुन्छ ?

नयाँ आयोजनाको काम अगाडि बढाउनको लागि अवश्य पुँजी आवश्यकता हुन्छ । त्यो कति क्षमताको परियोजना हो ? त्यो अनुसारका पनि पुँजीको आँकलन गर्न सकिन्छ । नयाँ आयोजनामा पुँजी जुटाउनको लागि साहस ऊर्जामा हकप्रद सेयर दिन्छौं । त्यो कम्पनीको आईपीओ पनि आउँछ । नयाँ प्रमोटरहरुलाई पनि लगानी गर्ने अवसर दिन्छौं ।

विदेशी लगानी भित्र्याउने सोच धेरै नेपाली व्यवसायीले बनाउँछन् तर सफल भइरहेका छैनन् । यसमा यहाँहरुको योजना के छ ?

हामी अहिले नै विदेशी लगानी भित्र्याउने सोचमा छैनौं । स्वदेशी लगानीबाट आयोजनाको काम हुन सक्छ भने विदेशी लगानी आवश्यक छैन । पाँच सय मेगावाटसम्मको जलविद्युत आयोजनाको काम अगाडि बढाउनका लागि स्वदेशी लगानी पर्याप्त छ । स्वदेशमा नै कन्स्ट्रक्सन, म्यानपावर, ठेक्दार पर्याप्त छन् भने विदेश जानु पर्ने आवश्यकता नै देख्दिन ।

स्वदेशी लगानीले पुगेन भने मात्रै विदेशी लगानी भित्र्याउने छौं । ठूला आयोजनाका काम गर्नुपर्याे भने विदेशी लगानी पनि भित्र्याउनु पर्ला । भविष्यमा आवश्यकता पर्यो भने जानकारी दिएर मात्रै भित्र्याउने छौं ।

अब तपाईंहरुको प्राथमिकता आफै परियोजना विकास, लगानी र निर्माणका काम मात्र गर्ने कि अरूले लगानी गरेको परियोजना निर्माणमा ठेक्का लिएर पनि काम गर्ने ?

हामी विशुद्ध विकासकर्ता मात्र हौं । मैले सुनेको छु अन्य कम्पनीहरू आफै विकासकर्ता, ठेकेदार लगायत भएर काम गरेको । तर, हामी त्यसरी अगाडि बढ्दैनौं । साहस ऊर्जा भोलिका दिनमा पनि ठेक्काको काम गर्दैन ।

विद्युतको उत्पादन बढ्दो छ । योअनुसार बजार विस्तार नहोला, बिक्रीको समस्या होला भन्ने चिन्ता लगानीकर्तामा बढेको हो ?

यो चिन्ता लगानीकर्तामा बढ्नु स्वभाविक हो । केही हुन्छ कि भनेर चिन्ता उहाँहरूमा बढी हाल्छ । नेपाल सरकारले पनि विद्युत उत्पादनसँगै यही खपत हुने ठाउँ विकास गरे अझ राम्रो हुन्थ्यो । उद्योगको विकास, विस्तारमा पनि जोड दिनु पर्याे । सरकारले पनि कसरी बढी मात्रामा विद्युत खपत हुन्छ, त्यता तिर लाग्नु पर्याे । त्यही किसिमका नीति नियम बनाउनु पनि आवश्यक देखिन्छ । आवश्यक मात्र विद्युत खपत भइ हाल्छ । घरमा बत्ती बलेकै छ, अब लोडसेडिङ मुक्त भयो भनेर हामी बसेका छौं । त्यो मात्र हैन । जाडोका समयमा हिटर, गर्मीको समयमा एसी चलाउने हरेक इलेक्ट्रिक सामान प्रयोग गर्दा पनि विद्युत् धान्न सक्ने क्षमता चाहिन्छ । उत्पादन अनुसारका विद्युत् खपत नेपालमा नै भयो भने अझ राम्रो हुनेछ ।

भारत र बंगलादेश बजार नेपाली विद्युतको लागि कत्तिको विश्वासिलो र दीगो बजार हुन् ?

अहिले उत्पादन भइ खपत नभएको बिजुली भारतमा निर्यात हुँदै आएको छ । हामीलाई बढी भएको बिजुली निर्यात नै गर्नुपर्छ । जस्तो की सुन पसलेले सुन बेचर मात्र धनी हुने हैन । उसले गहना बनाएर पनि बेच्नु पर्याे । त्यसो भयो भने म्यानपावर बढी हुन्छ, रोजगारी सिर्जना हुन्छ । बिजुली उत्पादन गरेर बेच्नुभन्दा यही खपत गर्याे भने अझ राम्रो हुन्थ्यो । त्यसको लागि ठुलादेखि साना उद्योगको कलकारखानाको स्थापना भई सञ्चालनमा आउनु पर्याे । अहिलेको लागि भारत र बंगलादेश बजार नै नेपाली विद्युतको लागि विश्वासिलो र दीगो बजार रूपमा रहेको छ । अरू ठाउँ छैन ।

निकट भविष्यको थप योजनाहरु के छन् ?

हाम्रो धेरै ठुलो योजना छैन । जलविद्युतका ठुला परियोजना अगाडि बढाउने हो । हात हालेको प्रोजेक्ट राम्रोसँग गर्ने र लगानीकर्तालाई उच्च प्रतिफल दिने हो । लगानीकर्ताको लगानीको सुरक्षा गर्ने हो ।

१० वर्षअघि जलविद्युत क्षेत्रप्रति नेपाली लगानीकर्ताको सोच र अहिलेको सोचमा कति फरक आएको छ ?

अहिले सबैभन्दा ठूलो विषय ऊर्जा रहेछ । ऊर्जामा पनि हाइड्रोपावर नेपालमा रहेछ, हाइड्रोपावरको विकल्प छैन रहेछ भनेर धेरैले बुझेका छन् । त्यसैले पहिलाको तुलनामा अहिले यस क्षेत्रमा पनि आकर्षण बढेको देख्छु ।

तपाईं जलविद्युत उत्पादनको क्षेत्रमा कसरी आईपुग्नु भयो ? केले तपाईलाई आकर्षित गर्यो ?

उत्पादन मूलक क्षेत्रमा जानुपर्छ भनेर म यस क्षेत्रमा लागेको हुँ । जलविद्युतको क्षेत्रमा म लागेको ११ वर्ष भयो । सुरुमा मैले गुल्मीमा ५ मेगावाटको हुग्दी जलविद्युत आयोजनामा काम गरेको थिए । उक्त आयोजनाको निर्माण अवधि ३६ महिना तोकेका थियौं । तर १७ महिनामा सबै काम सक्यौं । कतिपय प्रोजेक्ट बजेट भित्र पनि बनेका छैनन् । अनुमानित बजेटभन्दा पनि केही कममा नै उक्त आयोजनाको काम सम्पन्न गर्यौं । बैंकको ऋण पनि लिनु परेन । त्यसबाट केही कुरा सिक्यौं र अरू ठूलो प्रोजेक्ट गर्न सकिन्छ भनेर सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनामा लागेको हौं । हामी पहिला ५ मेगावाटको प्रोजेक्ट गर्दा २५ मेगावाट भन्दामाथि नेपालमा विद्युत् खरिद सम्झौता (पीपीए) थिएन । एक सय मेगावाटसम्मको पीपीए गर्नको लागि मुख्य कार्यविधि बनाउनु पर्याे । त्यो कार्यविधि बनाउँदा यही ८६ मेगावाटको आयोजनाको मुख्य भूमिका छ । यसको नै पहिलो पीपीए भयो । हामीलाई अरू साथीहरूले पनि सहयोग गर्नु भयो । अहिले एक सय मेगावाटसम्म पीपीए हुन्छ भने त्योभन्दा माथि नेगोशेसनमा गई रहेको छ ।

हाइड्रोपावरको विकासमा देखिएका समस्या तथा यस क्षेत्रमा सरकारले गर्न नसकेका काम केके छन् ?

समस्या हजारौं छन् । समस्याका बीचमा निजी क्षेत्रले यो लेबलसम्म काम गर्न सफल भएको छ । निजी क्षेत्रबाट यतिको प्रयास भएको थिएन भने नेपालमा ऊर्जा संकट जुन अवस्थामा थियो त्योभन्दा काहालि लाग्दो स्थितिमा पुग्थ्यो । आज लोडसेडिङबाट राहात पाएका छौं । ऊर्जाको लागि निकै ठुलो सम्भावना बोकेको ठाउँ पनि नेपाल हो । चाहने हो भने ठूला ठूला आयोजनाको काम अगाडि बढाउन सकिन्छ । अहिले स–साना मेगावाटका आयोजना मात्र अगाडि बढेका छन् । मलाई लाग्छ कर्णालीमा १०/१२ हजारको एउटै प्रोजेक्ट बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.