अहिले साना ऋणीको डिफल्ट बढी छ, भविष्यमा ठूलाको बढ्न सक्छ : सुमन शर्मा

  २०७९ पुष ५ गते १०:२८     विकासन्युज

सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत-सनराईज बैंक लिमिटेड

पटक पटक अर्थतन्त्र संकटमा पर्दा पनि बैंकहरुको अवस्था विगत २ दशकमा राम्रो देखिन्थ्यो । तसर्थ लगानीकर्तादेखि जागिर खानेहरु सबैको पहिलो छनौटको क्षेत्रमा बैंकिङ क्षेत्र रह्यो । तर पछिल्लो समय बैंकिङ क्षेत्र तनावमा छ । कर्मचारी पनि तनावमा देखिन्छन् भने सेयरधनीको हात पनि खाली हुन थालेको छ । यसपालिको आर्थिक संकटले बैंकहरुलाई पनि नराम्ररी सताएको छ । त्यतिमात्र होइन, ऋणीहरु सडकमा ओर्लेर बैंकर्सको आलोचना गरिरहेका छन् । किन यस्तो अवस्था आयो र अबको विकास कसरी होला ? प्रस्तुत छ यहि विषयमा केन्द्रित भएर सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यस पटक ।

सनराईज बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निणर्य गर्यो, किन त्यस्तो भयो ?

पहिला बैंकमा पुँजी धेरै, बिजनेश थोरै थियो । अहिले पुँजी र बिजनेशको सन्तुलन मिलेको छ । माघ २०७७ देखि पुस २०७८ सम्मको अवधिमा हामीले करिब ४० प्रतिशतले बिजनेश ग्रोथ गर्यौ । त्यसको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको पहिलो त्रैमासमा तुलनामा ५४ प्रतिशतले व्याज आम्दानी बढेको छ । गत वर्ष हामीले २२ प्रतिशतले निक्षेप बढायौं, जबकी बैंकहरुको निक्षेप औसत ग्रोथ ८ प्रतिशतभन्दा कम छ । सो कारणले गत वर्ष बैंकको कुल व्याज आम्दानी उच्चदरले बढेको छ ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा डिफल्ट बढेकोले, इन्ट्रेस्ट सस्पेन्स तथा एनबीए (नन बैंकिङ एसेट) बढेको छ । त्यसको नकारात्मक असर वितरणयोग्य नाफामा परेको छ । सनराईज बैंकको मात्र डिफल्ट बढेको होइन । सबै बैंकको बढेको छ । किनकी अर्थतन्त्र संकटमा छ । कर्जा असुलीमा ठूलो समस्या छ । व्यापारीहरुले बिजनेस ३०/४० प्रतिशत घटेको बेलामा बैंकको कर्जा डिफिल्ट हुनु स्वाभाविक हो । गत वर्षकै कुरा गर्ने हो भने इन्ट्रेस्ट सस्पेन्ड पनि बढ्यो । कर्जा डिफल्ट पनि बढ्यो । लोन लस प्रोभिजन पनि बढ्यो । र, हामी जस्तो सानो बैंकको डिबेन्चर रिटेन्सन रिर्जभ ठूलो भयो । गत वर्ष ७५ करोड रुपैयाँ डिबेञ्चर रिडेम्सन रिर्जभमा राखेका छौं । यो रकम अन्तिममा सेयरधनीकै हो । डिबेञ्चरको अवधि सकिएपछि त्यो सेयरधनीले बोनस सेयरमा पाउनेछन् । गत वर्षको नाफाबाट सेयरधनीले जम्मा २ प्रतिशत मात्र लाभांश पाउने अवस्था रह्यो । त्यो कारणले हामीले लाभांश नबाँड्ने निणर्य गरेका हौं । वाह्य वातावरण राम्रो हुने वित्तिकै बैंकको अवस्थामा धेरै सुधार आउनेछ ।

बैंकिङ क्षेत्रमा यति ठूलो समस्या कसरी आयो ?

कोरोना महामारी, विभिन्न देशमा कोरोनाका कारणले भएका लकडाउन, इन्धनको मूल्यवृद्धि लगायतको समस्याले विश्वभर मूल्य वृद्धि भयो । त्यसमाथि रसिया युक्रेन युद्धले विश्वभर नै बस्तु तथा सेवाको मूल्य ह्वात्तै बढ्यो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्यो । बैदेशिक व्यापार घाटा बढ्यो । विदेशी मुद्रा संचिति घट्यो । डलर विदेशमा धेरै गएपछि नेपालको बैकिङ क्षेत्रमा तरलता कमी भयो । बैंकहरुले निक्षेपको व्याज बढाए । निक्षेपको व्याज बढेको कारण बेसरेट बढ्यो । त्यसपछि कर्जाको व्याज पनि बढ्न थाल्यो । ८ प्रतिशतमा गएको होमलोनको व्याज १२ प्रतिशत पुग्यो । ९ प्रतिशतमा गएको बिजनेश लोनको व्याज १३/१४ प्रतिशत पुग्यो । कर्जाको व्याज ५० प्रतिशतसम्म बढ्दा ऋणीको आम्दानी सोही अनुसार बढेन । बरु कोरोना महामारीकै कारण कति ऋणि बेरोजगार भए होलान् । कतिको बिजनेश ठप्प भयो होला । यहि बेला नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयमा दिएको कर्जा सुविधाहरु हटायो । सबै किसिमले ऋणीहरुलाई नराम्ररी असर गर्यो र ऋण तिर्ने क्षमतामा ह्रास हुन गयो ।

मूल्यवृद्धिसँगै उपभोगमा गिरावट आएको छ । बजारमा मन्दी छाएको छ । बस्तु तथा सेवा बिक्री ज्यादै कम भएको छ । त्यसैले बैंकको कर्जा असुली पनि हुन सकिरहेको छैन । बैंकहरुको खराब कर्जा बढेको छ । कर्जा असुलीको सूचना, सम्पत्ति लिलामीको सूचना धेरै नै बढेको छ । सबै बैंकमा यो समस्या हुनुपर्छ ।

चालु आर्थिक वर्षको अन्त्य कस्तो होला ?

सीडी रेसियो टाइट नै भैराख्यो, ऋणीहरुको नगद प्रवाह रोकियो र बैंकहरुले व्याज असुल गर्न थप कर्जा दिन्छन् भने बैंकहरुको डिफल्ट पक्कै पनि बढ्छ । पहिलो त्रैमासमा जे अवस्था देखियो चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि खास सुधार हुने सम्भावना धेरै कम छ ।

पहिलो त्रैमासमा कर्जा डिफल्ट भएको छ र यो समस्या क्षणिक होइन भने दोस्रो वा तेस्रो त्रैमासमा उसले भुक्तानी गर्छ भनेर विश्वास गर्न गाह्रो छ । किनकी बैंकको कर्जा किस्ता नियमित गर्न व्यवसायीले अधिकतम प्रयास गरेका हुन्छन् । जसको कर्जा डिफल्ट हुन्छ, उ संकटमा परिसकेको हुन्छ । पहिलो त्रैमासमा संकटमा परेको ऋणिले दोस्रो वा तेस्रो त्रैमासमा किस्ता तिर्छन भन्ने सम्भावना कम हुन्छ । यदि बैंकले कर्जा मिलाउन ऋणीलाई थप कर्जा दिन्छ भने त्यसको असर पछि वृहत भएर आउँछ र सो कार्य गर्नु हुँदैन । अहिले घर जग्गाको किनबेच पनि ज्यादै कम भएकोले ऋणीले धितो बेचेर पनि बैंकको कर्जा तिर्न कठिन छ ।

अहिले पनि केही बैंकहरुले राम्रो गरेका छन् । देशको अर्थतन्त्र संकटमा छ । गत एक आर्थिक वर्षमा २८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति घट्यो । त्यसले अर्थतन्त्रमा बहुआयामिक असर गर्यो । बाध्य भएर सरकारले विभिन्न वस्तु आयातमा रोक लगायो । राष्ट्र बैंकले विभिन्न वस्तुको आयातलाई निरुत्साहित गर्यो । सरकारको राजश्व समेत घट्दो ट्रेण्डमा गयो । उद्योग वाणिज्य महासंघ लगायत व्यवसायिक संघ संस्थाहरु सडकमा ओर्लेर आन्दोलन गर्ने अवस्था आयो । यस्तो अवस्थामा पनि बैंकहरुले राम्रो नतिजा ल्याउँछन् भने त्यस बैंकको धेरै नै तारिफ गर्नुपर्छ । थोरै बैंकले राम्रो नतिजा ल्याए पनि धेरै बैंकहरुको नतिजा पहिला भन्दा बिग्रिएको नै छ ।

कर्जा डिफल्ट व्यवसायिकबाट बढी छ कि व्यक्तिगतबाट बढी ?

दुबैतिरबाट छ ।

व्यवसायिक क्षेत्रमध्ये पनि कुन क्षेत्रबाट बढी डिफल्ट आएको छ ?

समग्रमा साना ऋणी समस्यामा छन् । एसएमई र रिटेलको क्षेत्रबाट कर्जा उठ्न सकेको छैन ।

कर्पोरेट लोनभन्दा एसएमई लोन सुरक्षित भन्दै बैंकहरुले गएको दशकमा साना व्यवसायीहरुलाई प्राथमिकताका साथ कर्जा प्रवाह गरेका थिए । के अहिले त्यहि साना कर्जा बढी जोखिमपूर्ण भएका हुन् ?

स्वाभाविक रुपमा साना व्यवसायी कमजोर हुन्छन् । किनकी उनीहरुसँग एउटा मात्र व्यवसाय हुन्छ । त्यो संकटमा पर्दा उनीहरुसँग विकल्प हुँदैन । कर्पोरेट हाउसका ४/५ वटा यूनिट हुन्छन् । १/२ वटा यूनिट घाटामा जाँदै गर्दा अर्को १/२ वटा यूनिटले राम्रो नाफा गरिरहेको हुन्छ । यसका साथै पहिला कमाएको संचित नाफा पनि ऋणि कम्पनीसँग हुन्छ । त्यसकारण कर्जा तिर्ने क्षमताको हिसावले साना व्यवसायीसँग भन्दा ठूला व्यवसायीसँग नै बढी क्षमता हुन्छ ।

तर आर्थिक संकट लम्बिदै गयो भने ठूलो व्यवसायी पनि संकटमा पर्छन् । त्यतिबेला बैंकहरुले लागि साना ऋणीभन्दा ठूला ऋणी जोखिमपूणर् हुन्छन् । किनकी साना ऋणीसँग बैंकले जग्गा धितो पनि लिएको हुन्छ । कर्जा उठेन भने जग्गा धितो बेचेर पनि आफ्ना लगानी केही हदसम्म उठाउँछ । तर ठूला ऋणीले पर्याप्त धितो राखेका हुँदैन् । उनीहरुको कर्जा डिफल्ट भयो भने जग्गा धितो बेचेर धेरै कर्जा असुल नहुने सम्भावना बढी हुन्छ ।

व्यक्तिगत कर्जाको कुरा गर्नु हुन्छ भने कर्मचारीको तलब १० प्रतिशत बढेको होला । तर घर कर्जा वा गाडी कर्जाको व्याज ५० प्रतिशतसम्म बढेको छ भने उसले कहाँबाट पैसा ल्याएर कर्जा तिर्ने भन्ने समस्या हुन्छ ।

अहिले डिफल्ट भएका कर्जा भविष्यमा असुली हुने सम्भावना कति हुन्छ ? उनीहरुको धितोले धान्छ कि धान्दैन ?

मैले बैंकमा काम गर्न थालेको २५ वर्ष भयो । यस अवधिमा सन् २०११ ताका केही जग्गाको मूल्य केही घट्यो । अघिपछि कहिल्यै जग्गाको मूल्य घटेन, बढ्यो मात्र । कुनै वर्ष दोब्बर मूल्य वृद्धि पनि भएको छ । जग्गाको मूल्य कहिल्यै घट्दैन भन्ने मनोविज्ञान समाजमा स्थापित भएको छ । बैंकहरुले पनि जग्गा धितो राखेर नै कर्जा लगानी गरेका छन् । ठूला ऋणी डिफल्ट भए भने बैंकलाई बढी जोखिम हुन्छ । साना ऋणीको कर्जा अहिले डिफल्ट भए पनि केही जाग्गा धितो हुन्छ । तर अहिले जोखिम के छ भने ऋणको व्याज उच्च छ । यो अवस्था लामो समय रह्यो भने घर जग्गाको मूल्य पनि घट्न सक्छ । अहिले बैंकहरुले धेरै जग्गा लिलामीमा राखेका छन् तर जग्गा बिक्री भएका छैनन् । दुई वर्षअघि ५० लाखको जग्गा अहिले एक करोड मूल्य पर्ने भएको हो फेरी ५० लाखमा झरि हाल्छ नि भन्ने मनोविज्ञान पनि पाइन्छ । त्यस्तै भयो उच्च मूल्य भएको बेला जग्गाधितोको आधारमा कर्जा प्रवाह भएको छ भने ती कर्जा बढी जोखिममा पर्छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । विदेशी मुद्रा संचितिमा सुधार छ । विप्रेषण आयमा सुधार छ । पर्यटन क्षेत्रमा उत्साह बढ्दै गएको छ । सरकारले आयातमा गरिएको प्रतिवन्ध पनि खुलाएको छ । बैंकहरुमा तरलता पनि केही सहज भएको देखिन्छ । यी तथ्यहरुले आगामी दिनमा सुधारको संकेत गर्दैनन् ?

चिसो बढेको कारण भाइरल भयो, ज्वरो आएको हो भने छिटो निको हुन्छ । तर अल्सर भएको कारण ज्वरो आएको छ भने निको हुन कठिन पनि हुन्छ, बढी समय पनि लाग्छ । व्यवसायिक समूदायको कुरा सुन्दा अहिले अर्थतन्त्रमा सामान्य ज्वरो मात्र आएको छैन । यसको उपचार लामो विधिबाट हुनुपर्छ । सरकारको आर्थिक नीति र मौद्रिक नीतिको तहबाट समस्याको समाधान खोजिनुपर्छ । मौद्रिक नीतिले समस्या सम्बोधन गर्न प्रयास गरेको छ तर आर्थिक नीतिले समस्याको समाधान खोजेको छैन ।

अहिले निक्षेपको व्याज बढेको छ । मानिसहरु उपभोगमा भन्दा बचतमा आकर्षित भएका छन् । व्याज बढेकोले कर्जाको माग छैन । पहिलो ७/८ प्रतिशत व्याजमा कर्जा पाइन्थ्यो भने अहिले १४/१५ प्रतिशत पर्छ, त्यो पनि पाइँदैन । कर्जा प्रवाह नहुँदा लगानी बढ्दैन, नयाँ रोजगारी सिर्जना हुँदैन । लगानी बढाउने, रोजगारी सिर्जना र माग वृद्धि गर्ने गरी नीतिगत रुपमा काम गर्न जरुरी छ ।

चालु पुँजी कर्जा सम्बन्धि कर्जाविधिको ऋणीहरुले खुबै विरोध गरेका छन् । बैंकहरुको नजरमा यो कार्यविधि राम्रो हो कि खराब ?

बैंकहरुबीचको प्रतिस्पर्धा र केही उद्योगी व्यवसायीहरुको उच्च महत्वकांक्षाको कारणले चालु पुँजी कर्जा प्रवाह र उपयोग दुबैमा बेथितिहरु भेटिन्छन् । सबैले गलत काम गरेका थिएनन्, तर केहीले कर्जाको गलत प्रयोग गरको पाइएको छ । त्यसलाई रोक्न जरुरी थियो । राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर नयाँ कार्यविधि जारी गरेको छ ।

वर्किङ क्यापिटल गाइडलाइन्सप्रति बैंकहरुको धेरै गुनासो छैन । किनकी बैंकमा काम गर्ने कर्मचारीहरु पारदर्शिता चाहान्छन् र सुरक्षित कारोबार चाहान्छन् । त्यसकारण समग्रमा बैंकर्सहरुले वर्किङ क्यापिटल गाइडलाइन्सलाई ठिकै मानेका छन् । केही केही सुधार जरुरी छ । जुन विषयमा बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका पनि छन् ।

व्यवसायीहरुले त चालु पुँजी कर्जा कार्यविधि २ वर्षको लागि स्थगित गर्न माग गरेका छन् नि ?

समस्या पालेर राख्नु हुँदैन । कसैले यो नियम २ वर्षअघि आउनु पर्दथ्यो पनि भन्न सक्छन् । कसैले २ वर्षपछि लागू गरेको भए हुन्थ्यो पनि भन्नसक्छन, जतिबेला देशमा धेरै लिक्विडिटी थियो । समयबारे विवाद जायज होइन । समस्या छ, सुधार पनि आवश्यक छ भन्ने सबैको बुझाई हो भने समस्या घटाउँदै जाने बाटो नै उपयुक्त हो । केही बुँदामा परिमार्जन आवश्यक छ, राष्ट्र बैंकले पनि संशोधनको संकेत गरेको छ ।

बैंकर्सहरु प्रति बिजनेशम्यानहरु निकै आक्रोशित देखिन्छन् । बैंकर्स र बिजनेशम्यानबीच यो तहको तिक्तता किन आयो ?

बैंकहरु हेभिली रेगुलेटेड छन् । हामीहरु राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर काम गरिरहेका छौं । हामी पब्लिक फोरममा जे पायो त्यो बोल्दैनौं । तरलता छैन, बैंकले कर्जा दिएनन् भनेर गाली गरिन्छ । व्याजदर वृद्धि भयो, बैंकर्सको आलोचना भयो । आयात बढ्यो, बैंकर्सलाई गाली गरेका छन् । तरलता अभाव हुनुमा पनि बैंकर्स दोषी छैनन्, व्याजदर बढ्नुमा पनि बैंकर्स दोषी छैनन्, आयात बढ्नुमा पनि बैंकर्स दोषी छैनन् । यो सब माग र आपूर्तिको परिणाम हो । माटोको मोल र हिराको मोल किन फरक छ ? जुन वस्तु सजिलै पाइन्छ, माग थोरै छ, त्यो सस्तो हुन्छ । जुन वस्तु बिरलै पाइन्छ, माग धेरै छ, त्यो महँगो हुन्छ । यो त बजारको नियम हो ।

बैंकहरुले निक्षेपको व्याज योभन्दा बढ्नु राम्रो होइन भनेर अडान नलिएको भए अहिले के हालत हुन्थ्यो ? निक्षेपको व्याज १५ प्रतिशत नाघ्थ्यो होला, कर्जाको व्याज १८ प्रतिशत नाघ्थ्यो होला । त्यो अवस्था आउन नदिन बैंकर्सले खेलेको भूमिकाबारे न व्यवसायीहरु बोले, न पत्रकारहरुले नै लेखे । बैंकर्सहरु बोल्दैन भनेर उनीहरुमाथि चौतर्फी आक्रमण भएको छ । र वाणिज्य बैंकहरुलाई सफ्ट टार्गेटको रुपमा व्यवहार गरिएको छ ।

हिजो बेसरेट ७ प्रतिशत हुँदा बैंकहरुले ९ प्रतिशतमा कर्जा लगानी गरे । अहिले १० प्रतिशत बेसरेट हुँदा कर्जाको व्याज १४ प्रतिशत बनाए भन्ने व्यवसायीको गुनासो छ । यो प्रुडेन्ट बैकिङ भएन नि ?

हिजो ७ प्रतिशत बेसरेट हुँदा ९ प्रतिशतमा कर्जा दिन्थ्यौं । अर्को बैंकले ८ प्रतिशत मै कर्जा दिने भयो, कि ८ प्रतिशत बनाउनु पर्यो कि अर्को बैंकमा जान्छौं भनेर वार्गेनिङ गर्थे । बेसरेटभन्दा कम व्याजदरका कर्जा लगे भनेर राष्ट्र बैंकले कतिलाई सचेत पनि गरायो । के त्यतिबेला व्यवसायीले म ९ प्रतिशत व्याजमा कर्जा लिन्छु भनेका थिए ? ? यो सबै डिमाण्ड एण्ड सप्लाईले निर्धारण गर्ने कुरा हुन् ।

केही बैंकहरुले पुराना ऋणीलाई एक/डेढ प्रतिशत मात्र व्याज बढाएका छन् । कुनै बैंकले पुराना ऋणीलाई ४/५ प्रतिशत नै व्याज बढाईदिएका छन् । यस्तो हुनुमा माग र आपूर्ति असर मात्र नभई व्यवस्थापकीय कौसलता, ऋणीप्रति बैंकर्सको सोचले पनि काम गरेको देखिन्छ नि ?

समग्रमा बैंकहरुको स्प्रेडदरको सीमा ४.४ प्रतिशत मात्र हो । कसैलाई बेसरेटमा ५ प्रतिशत प्रिमियम लिएका पनि होलान् र कसैलाई बेसरेट प्लस २ प्रतिशत पनि होला । औषतमा हुने ४.४ प्रतिशतभन्दा माथि कुनै पनि बैंकले लिएका छैनन् । कुनै कर्जामा १७/१८ प्रतिशत व्याज पनि होला । त्यसको जोखिम पनि बढी छ भनेर होला । कसैले अहिले पनि ११/१२ प्रतिशत व्याजमा कर्जा पाएका होलान्, जसको जोखिम कम छ भनेर होला । राष्ट्र बैंकले पर्सनल ओडी, अटो लोन र सेयर लोनमा बढी क्यापिटल चार्ज तोकेकोले पनि यी कर्जाको व्याज महाँगो भएको हो ।

अन्त्यमा, धेरै बैंकहरु मर्जमा गए । अब त वाणिज्य बैंकमध्ये सबैभन्दा सानो बैंकमा सनराईज बैंक देखिन थाल्यो । मर्जबारे बैंकले के सोचिरहेको छ ?

उहाँहरुले लगानीको प्रतिफल रेट र लगानीको सरक्षणलाई प्राथमिकता दिनुहुन्छ जस्तो लाग्छ, बैंकको साइज कत्रो भन्दा पनि । यो सामानय आर्थिक सिद्धान्त हो । यस बैंकले व्यापार निकै बढाएकोले गर्दा देशको आर्थिक अवस्था राम्रो भएमा अर्थात ऋणिको आर्थिक स्थिति सुध्रिएमा यस बैंकको प्रतिफल दिने क्षमता ह्वात्तै बढेको पाउनुहुनेछ । यो बैंक पारदर्शि र सुरक्षित छ । उचित पार्टनर पाएमा हामी मर्जमा जानेछौं । बैंकको साधारणसभा र सञ्चालक समितिले पनि उचित पार्टनर पाए मर्जमा जाने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.