सिमेन्टबाट ब्लक उत्पादन गरेर जीविकोपार्जन गर्दै सुनिल

  २०७९ पुष १ गते १४:१८     विकासन्युज

कञ्चनपुर । कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा थिए ।

वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उनी जागिरकै सिलसिलामा भारतमै रहन्थे ।

कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आएका उनी यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहेका छन् । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उनको भनाइ छ ।

‘कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,’ उनले भने, ‘भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।’ त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गरेका हुन् ।

‘कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,’ उनले भने, ‘त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।’

सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । ‘घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,’ उनले भने, ‘विगतमा बेरोजगार भएर घरमै बस्नु प¥थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।’

दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । ‘मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,’ उनले भने, ‘एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।’

अहिले प्रतिब्लक ४० देखि ४५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उनको योजना छ ।

‘ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ’;, यशोदा थापाले भनिन्, ‘भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.