अब बैंकहरुको लाभांश घट्दै जान्छ, राष्ट्र बैंकको कडाइ स्वभाविक हो : सीईओ उपाध्यायसँगको कुराकानी

  २०७९ मंसिर २९ गते ११:३३     विकासन्युज

अहिले नेपाली बैंकिङ क्षेत्र सहज अवस्थामा छैन । बैंकहरु लगानीयोग्य पुँजीको अभावमा छन् । व्यवसाय विस्तार गर्न चाहने र नयाँ लगानी गर्न खोज्नेहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । ऋण पाए पनि बैंकहरुले चर्को ब्याज लिइरहेका छन् । नेपाल राष्ट्र बैंकले यतिखेरै बैंक तथा वित्तीय संस्थाको नियमनमा कडाइ गरिरहेको छ । लाभांशको सिजन भइरहेको बेला राष्ट्र बैंकले कडाइ गरेर विभिन्न बैंकका विविध किसिमका कमजोरीहरु देखाएर सचेत गराइरहेको छ । अर्कोतिर कतिपयले नेपाल बैंकर्स संघको कार्यशैली र क्षमतामाथि पनि प्रश्न गरिरहेका छन् । सोही संघको नेतृत्व गरिहरेका छन् अनिलकुमार उपाध्यायले । सरकारी लगानी रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायसँग नेपाल बैंकिङ क्षेत्रको वर्तमान अवस्था, नेपाल राष्ट्र बैंकको नियमन, बैंकहरुले गरिहरेका काम कारवाही र कृषि विकास बैंकको समग्र विजनेस लगायत विषयमा विकासन्युजका सन्तोष रोकाया र सीआर भण्डारीले कुुराकानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरिसकेको छ, समीक्षामार्फत् भएका व्यवस्थाप्रति बैंकरहरुको धारणा के हो ?

हामीले धारणा राख्ने होइन । राष्ट्र बैंकका नीति निर्देशन भित्र रहेर परिपालन गर्ने हो । हामी अन्य संस्थाले जस्तो धारणा राख्ने भन्दा पनि पालना गर्न तिर अग्रसर हुने हो । समय सापेक्ष सुझाव हामीले दिन्छौं ।

राष्ट्र बैंकले स्प्रेडदर घटाउँदा बैंकको नाफामा संकुचन आउने भनिन्छ नी ?

स्प्रेडदर घट्नु भनेको नाफामा सकुंचन आउनु हो । विगतमा कोरोना महामारीका कारण राष्ट्र बैंकले शुल्कमा कटौति गर्याे । अहिले यसलाई समय सापेक्षा गरिएको हो । आम्दानीको स्रोत वृद्धि गर्न खर्च कटौति गर्नुपर्छ । यी सबै विषयमा विश्लेषण गरि लागतमा नियमति ट्रान्सफर गर्नुपर्छ । स्प्रेडदर घटाउँदा केही फरक पर्दैन । राष्ट्र बैंकले स्प्रेडदर घटाउँदा अहिले गरिरहेको नाफाभन्दा अपेक्षित रुपमा अब नाफा वृद्धि गर्न गाह्रो हुन्छ । अहिले इण्डष्ट्रिको नाफा नै ४ प्रतिशत छ । यसकारण माथि जाने सम्भवना कम हुन्छ । तर, खर्चहरु वृद्धि भएको हुनाले कूल नाफामा असर गर्नु स्वभाविक हो । अहिले विभिन्न खालका प्रोभिजन, खर्च, मूल्य वृद्धि, कर्जाको लागत बढेको हुँदा नाफामा संकुचन पक्कै आउँछ । कति संकुचन आउँछ भनेर दोस्रो त्रैमासको वित्तीय विवरणमा स्पष्ट देखिन्छ ।

अहिले तरलतामा केही सहज भएको संकेत पनि बैंकहरुले गरेका छन्, कस्तो छ लगानीयोग्य पुँजी ?

निर्वाचन पश्चात् स्रोत वा निक्षेप बैंकिङ्ग प्रणालीमा बढेको देखिन्छ । तथापी भुक्तानी गर्नुपर्ने दायित्व, रिफाइनान्स, सरकारले ८० प्रतिशतबाट ५० प्रतिशतमा झार्याे भने त्यसले कर, लगानीयोग्य रकम लगायत सबैले असर गर्छ । सीडी रेसियोमा ग्याप दिएपनि व्यवस्थापन हामीले गर्नुपर्छ । हामीसँग खुला रुपमा धेरै लगानीयोग्य रकम छैन । तथापी कतिपय बैंकसँग राम्रो पैसा छ । कतिपय बैंक सीडी रेसियो ग्रोथ गर्नु वा तरलता पद्दतीमा जानु पर्नेछ । अहिले राष्ट्र बैंकका नियामकीय दबाव छ । त्यसैले पोर्टफोलियो म्यानेजमेन्टमा बढी केन्द्रित भएका हो ।

दोस्रो त्रैमासमाा बैंकहरुको खराब कर्जा बढेको हो ?

बैंकहरुको खराब कर्जा बढेको छ । विगतमा बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गरे । राष्ट्र बैंकले कोरोना महामारीका बेला ‘रिल्याक्ससेन’ दिएको थियो । तर, अहिले सिस्टममा पैसा जुन अनुपातमा फर्किनु पर्ने हो, फर्किएको छैन । लोनेबल फण्ड भएन । एउटाबाट अर्काेमा जाने कुरा पनि भएन । अहिले मन्दीले पनि यो स्थिती आएको हो । दुइटा चुनाव सम्पन्न भए । यही बीचमा चाडपर्व पनि परे । विभिन्न खालका प्रतिबन्ध लगाइयो । विभिन्न सेवा सुविधा र आर्थिक गतिविधि नै चलायनमान भएनन् । अहिले आयातमा लगाइएको प्रतिबन्ध फुकुवा भएकाले चलायनमान हुने देखिएको छ । तर, पूर्ण रुपमा त्यो अवस्था नदेखिएको हुँदा डिफल्ट रेट बढेको देखिन्छ ।

साना कर्जाको नगद प्रवाह धेरै भएको छैन । किनकी त्यो वर्गको व्यवसायसँग क्यास फ्लो त्यति ठूलो देखिएको छैन । अहिले संकुचन पनि सँगसँगै आयो । आर्थिक कारोबारमा रेटलाई पनि सम्बोधन गरेन । कर्जा दिने र लिने भएको भए तिर्ने लिने ‘रोल ओभर हुन्थ्यो’ । तर, संकुचन आयो ।

बैंकिङ प्रणालीमा यो किसिमको सकस कहिलेसम्म रहला ?

हामीले ‘ग्लोबल सिनारियो’लाई पनि हेर्नुपर्छ । ग्लोबल अर्थतन्त्र आर्थिक मन्दीमा गइरहेको छ । अब आउने वर्ष आर्थिक मन्दी वा खाद्य संकट, इनर्जी संकट, मूल्य वृद्धि हुने देखिन्छ । रुस र यूक्रेन युद्धका कारण असर पर्छ । यी सबै कुराको चक्रले परिस्थती राम्रो देखिँदैन । यसको मतलब पुरै बिग्रेको पनि होइन । हामी सबै सरोकारवाला व्यक्ति वा जिम्मेवार निकायले आफ्नो भूमिकामा बसेर पद्दतीलाई बलियो बनाउने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, कुनकुन सेक्टरलाई सपोर्ट गर्ने हो त्यसलाई सहयोग गर्ने, आवश्यक परेकालाई राहत दिने र इमपावर गर्नुपर्छ । सबैसँग अपेक्षा गर्ने भन्दा पनि सहकार्य गरेर जाने हो । सानो मुलुक र सानो अर्थतन्त्र भएकाले यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

बैंकर्स संघले आयोजना गरेको एउटा सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका गभर्नरले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ भन्नुभयो, के अब त्रसित हुनुपर्ने अवस्था आएको हो ?

हामीसँग स्रोतहरुको सीमितता छ । सरकारको खर्चहरुको सीमित छ । सरकारको राजश्व संकलनमा कमी आएको छ । खर्चले आफ्नो सीमा लिइरहेको छ । अर्थ व्यवस्थामा सहयोग गर्ने भनेको विद्युत क्षेत्रले हो । यो क्षेत्रले स्रोतलाई सहयोग गर्ने हो । रेमिट्यान्स, पूँजीगत खर्च, सरकारले लिने वा निजी क्षेत्रले ल्याउने एफडीआई वा विदेशी मुद्रा हो । रेमिट्यान्स राम्रो आएको हुनाले हामीले भुक्तानी सन्तुलन गर्याैं । पर्यटकको संख्या पनि बढेको छ । चुनावका कारण र काम चलाउ सरकारले गर्दा पूँजीगत खर्च हुन सकेको छैन । अहिले अपेक्षित रुपमा सोचेको जस्तो गतिविधि सपोर्टेबल देखिएको छैन । अब पूँजीगत खर्चले गति लियो भने सहज हुनेछ ।

अहिले अर्थतन्त्रले गति नलिएको हुँदा पूँजी बजार संकुचन आयो । पूँजी बजार तल झर्नु भनेको आर्थिक गतिविधि कम हुनु हो । यहि बेलामा राष्ट्र बैंकका औजारहरु आउँदा व्यवस्थापन गर्न कठिनाइ भयो । लगानीयोग्य रकमको संकुचन र अपेक्षित माग कम भए । किनभने मूल्यवृद्धि आकासिएको छ । यो भन्दा धेरै वद्धि वा माथि अन्य मुलुकमा पनि छ । एक्सचेञ्ज रेटमा १४ रुपैयाँको फरक आएको छ । स्रोत अभाव, निक्षेप अभाव देखिन्छ ।

लागतको वृद्धि ४६ प्रतिशतबाट ५८ प्रतिशत पुग्दा १२ प्रतिशत बढेको छ । यी सबै विषय कहीँ न कहीँ गएर ट्रान्सफर हुन्छ । यसकारण पनि ब्याजदर अनुकल भएन । ठूलो भार खर्च वृद्धिमा देखिएको छ । माग र सेल्सको भार कम देखिएको हुँदा व्यवसायीहरुले यो बेलामा आफूलाई सन्तुलित राख्नुपर्ने स्थिती छ । यस्तो बेलामा जोखिम लिने कुरा पनि हुँदैन । किनभने जोखिम लिएर आक्रामक विजनेश गर्ने समय पनि होइन ।

कर्जाको माग आयो भने बैंकहरु लगानी गर्न तयार छन् ?

अहिले बैंकहरु लगानी गर्न सक्षम छन् । तर, पूर्ण रुपमा पहिलको जस्तो डिमाण्डबेस सप्लाइ हो । एक/दुइ वर्ष अघि प्रशस्त स्रोत थियो । त्यो बेलामा एग्रेसिभ रुपमा लगानी गरिएको थियो । तर, आक्रमक रुपमा लगानी गर्न सहज छैन ।

पुसमा बैंकहरुको ब्याजदर के हुन्छ ?

जसलाई ब्याज दिइन्छ, त्यो ब्याज ट्रान्सफर गर्ने हो । त्रैमासिक रुपमा ब्याज परिवर्तन गर्न कुरा भएको छ । यो बीचमा परिवर्तन गरियो भने ट्रान्सफर गर्न सकिँदैन । त्यसकारण त्रैमास रुपमा ब्याजदरलाई रिभ्यू गर्ने हो । डिमाण्ड सप्लाई सम्भावना के छ भनेर यहि अवस्थामा बस्ने की घटाउने वा बढाउने भन्ने विषयमा छलफल हुन्छ । बीचमा बढाएर बैंकलाई खर्च मात्रै हुने हो । यतातिर निक्षेपकर्ताले कम पाउने अनि हामीले लगानीकर्ताहरुलाई ट्रान्सफर गर्न घटाउन सक्ने नभएकाले त्रैमासिक रुपमा फोकस गर्ने सोचेका छौं ।

बैंकहरु दबाबमा रेहको समयमै नेपाल राष्ट्र बैंकले पनि नीतिगत रुपमा कडाइ गर्याे, लाभांशमा पनि कडाइ गरेको छ, यतिबेला राष्ट्र बैंकले यो नीति अवलम्बन गर्नु उचित हो ?

हिजोका दिनमा नियमनकारी निकायले जुन स्पेशमा काम गर्न दियो त्यो स्पेसमा काम गरेर पोर्टफोलियो, ब्यालेन्ससिट, एसेट सिर्जना भएको थियो । अहिले आएर नयाँ निर्देशन, नयाँ टुल्स वा नयाँ औजार भित्र व्यवस्थित गर्दा मिसम्याच आएको हो । अहिले तरलता अभाव नै मुख्य समस्याका रुपमा देखिएको छ । हिजोका दिनमा त्यो स्पेश पाएको हुनाले सजिलोसँग काम भएको थियो । अब त्यो कुरालाई नियामकले नियमन गरेको हुनाले जोखिमलाई कभर गर्ने हो । यसकारण यसलाई व्यवस्थित गरेर लैजाने हो । राष्ट्र बैंकले नियमन गरेको कारण यो परिस्थिती श्रृजना भएको हो । यसलाई अस्वभाविक लिनु हुँदैन ।

त्यसो भए बैंकहरुले गलत गरेकै हुन् ?

हामीले सीसीडी रेसियोमा काम गरेका थियौं । हिजो नियामकले सहज व्यवस्था दिएको थियो । अब हामी सीडी रेसियोमा आयौं । हाम्रो दायित्व भनेको आफ्नो एसेट ‘लायबिलिटीज’को म्याचिङ गर्नु हाे । हामी प्रतिस्पर्धामा बढी गयौं । प्रतिस्पर्धा गर्दा दौडिदा दौडिदै सबै कुरा जित्न पाएको हुन्छ । जित्ने क्रम वा अब्बल बन्ने क्रममा यस्ता कुराहरुमा स–साना कुराहरुमा हामीले लुप होल गरिरहेका हुन्छौं । यसरी जाँदा अर्काे क्षेत्र बलियो बन्दै गएको भए के हुन्थ्यो ? लाभांश वितरण गरेको भए क्यापिटलमा रिजर्भमा पनि सपोर्ट गर्थ्याे होला । क्षमता बढाउनु पर्छ भनेर मर्जर आएको छ । किनभने यो पूँजीले पुगेन भन्ने राष्ट्र बैंकको बुझाइ हो । यसकारण मर्जर रणनीति पनि आएको हो । यसको सम्बन्ध काहीँ न कहीँ हामीले अर्काे साइडबाट पनि हेर्नुपर्छ । किनभने नेपालमा अब आर्थिक गतिविधि बढेको छ ।

ठूलाठूला परियोजनामा हामीले जानुपर्नेछ । जोखिम लिन सक्ने क्षमता पनि हुनुपर्छ । यी सबै कायम गर्न एउटा अब्बल बैंक, प्रतिस्पर्धी र ग्लोबल वा छिमेकी मुलुकसँग बैंकिङ्ग कारोबार गर्न सक्ने र ठूला कम्पनीसँग डिल गर्न सक्ने क्षमता हुनुपर्छ । यी सबै कुरालाई हेर्दा विश्वसनीय बैंकर सिस्टम बलियो बनाएर जानुपर्छ । ‘सिस्टम कस्ट’ उच्च छ । नियामक दबाव उच्च छ । कस्टमरको अपेक्षा उच्च छ । टेक्नोलोजी बेसका सिस्टम उच्च छन् ।

यी सबै विषयले गर्दा हामी मर्जरमा जानु परेको हो । दुईवटा खर्चलाई एउटा खर्चमा ल्याउन सकिन्छ । थोरै लागतमा सिस्टम सञ्चालन गर्न सकिन्छ । थोरै खर्चमा बढी वस्तु उत्पादन गर्न सकिन्छ । बैंक दीगो पनि हुन्छ । सेयरधनीहरुलाई प्रतिफल पनि त्यहि आधारमा दिइन्छ । यहि कारण वा मिसम्याचले गर्दा मर्जरको बाध्यता आएको हो । कुनै बैंकसँग क्यापिटल, कुनैसँग आफ्नो पोर्टफोलियो, रिटर्न वा नाफा बढाउन मर्जरमा गएर हामी सुरक्षित हुन खोजिरहेका छौं । त्यसैले यहि नै गलत भयो भन्ने होइन की सुधारका बाटोमा जानुपर्छ ।

निजी लगानीका बैंकहरुबीच धमाधम मर्जर भइरहेको छ, सरकारी बैंकहरुलाई पनि अब मर्जरमा गएर प्रतिस्पर्धा क्षमता बढाउनु पर्छ जस्तो लाग्दैन ?

प्रमुख कार्यकारीको दायित्व भनेको बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने हो । सुशासन भित्र बसेर प्रुडेन्ट बैंक अभ्यास गर्ने हो । रेगुलेटर फ्रेममा बसेर काम गर्नुपर्ने हुन्छ । प्राइभेट बैंकमा प्राइभेट सेक्टरका प्रमोटरका हुन्छन् । सरकारी बैंकमा सरकारी सेक्टरका हुन्छन् । यसकारण सरकारको बढी भार भएको हुनाले मर्जर गरेर पूँजी वृद्धि गर्ने की आफैँ क्यापिटल बढाउने भनेर सरकारको नीतिगत निर्णयमा भर पर्ने कुरा हो । तर, हामीले पनि समय सापेक्ष बलियो हुनुपर्छ भन्ने हाम्रो सुझाव दिन्छौं । यसको आधार भनेको बैंकको पूँजी वृद्धि गर्ने हो । कार्य क्षमता, सिस्टम बलियो बनाएर जानुपर्छ । विज्ञहरु राखेर प्रुडेन्ट बैंक बनाउनुपर्छ । सरकारले ‘इन्जेक्ट’ गर्न आफैं क्यापासिटी बढाउँछु वा सर्वसाधारणको ‘राइट सेयर’बाट जाने भन्ने हुन सक्छ ।

तीन वटा सरकारी बैंक छन् । तीन वटै बैंकलाई दुइटा बनाएर जान्छु भन्ने योजना पनि बनाउन सकिन्छ । बजारको ‘टोटालीटी सिनारियो’ के हुन्छ ? सरकारी बैंक सक्षम छन् की छैनन् ? निजी बैंकसँग प्रतिस्पर्धा गर्न सक्छन् की सक्दैनन् ? सरकारी बैंकले कभरेज पुर्याउन सक्छ की सक्दैनन् ? त्यो किसिमको प्रतिस्पर्धा अनुभव गर्छ की गर्दैन ? त्यो अध्ययन गरेर जानुपर्ने भएकाले आजै सबै कुरा स्पष्ट भन्न सक्ने अवस्था छैन । सरकारको दृष्टिकोण कसरी सपोर्ट गर्ने भन्ने हो । पूर्ण स्वामित्वको बैंकलाई कसरी हेर्ने वा सेयर संरचनामा पब्लिक र प्राइभेटमा गएको संरचानामा कसरी जाने भनेर सरकारको निर्णय स्पष्ट आयो भने त्यहि अनुसार अघि बढ्ने हो ।

हालसम्म लाभांश घोषणा गरेका बैंकको अघिल्लो वर्षको तुलनामा घटेको छ, के अब बैंकले दिने प्रतिफल घट्दै जाने हो ?

हामीले आम्दानी गर्ने भनेको शुल्कमा हो । अहिले धेरै शुल्क घटिसकेको छ । दुई वर्ष अगाडि हेर्ने हो भने समयमा रिर्टन पाएनौं, पेनाल्टी लिन पाएनौं । डिटेल कारोबारमा पनि हामीले धेरै छुट दियौं । आम्दानी गर्ने सबै ठाउँमा हामी बाँधिएका छौं । विगतमा गरेको लगानीको नाफाको रिटर्न यस वर्ष आउने हो ।

पहिले हामीले रिफाइनान्स दिएर स्प्रेडदर २/३ प्रतिशतभित्र रहेर काम गरेका थियौं । अनि कसरी हामीले खोजेको जस्तो प्रतिफल आउँछ र ? हामीले हजोको विषम् परिस्थिती, संकटको बेलामा राज्यलाई सपोर्ट गर्नुपर्ने कुरामा मौद्रिक नीतिले राष्ट्र बैंकको नियमन भित्र रहेर सहयोग गरेका छौं । संकटमा सहयोग गरेको हुनाले सबै ठाउँबाट नाफा नै हुन्छ भन्ने हुँदैन ।

मर्जरमा गएको बैंक र मर्जरमा नगएकोले कसरी आफ्नो व्यवसायलाई वृद्धि गर्ने ? कुन सेक्टरमा आम्दानी बढाउने, कसरी खर्च घटाउने भनेर काम गरिरहेका छन् । आम्दानी गर्न खर्च घटाउने पनि माध्यम हुन्छ । विजनेश गरेर मात्रै होइन की पोर्टफोलियो म्यानेजमेन्ट गरेर, प्रोभिजनहरु राइट ब्याक गर्नुपर्ने हुन्छ । कतिपयको एसेट लायबिलिटीज मिसम्याच छ ।

कतिले आफ्नो पोर्टफोलियो बेचेर पनि आफूलाई अब्बल बनाएका छन् । कर्जा बिक्री गर्न पनि सक्छन् । धेरै औजारहरु हुन्छन्, जसले गर्दा एउटै गरेको पद्दती मात्रै प्रयोग नगरेर विभिन्न खालका औजारहरुलाई प्रयोग गरेर आफ्नो म्यानेजमेन्ट गर्ने हो । कुनै बैंकले आफ्नो ५/१० अर्बको कर्जा बेच्छु भन्न पनि सक्छ । जसको क्षमता छ, उसले खरिद गर्छ । हामी बैंकिङ्ग क्षेत्रमा बस्नेहरुले यस्तै काम गरेर आफुलाई प्रुडेन्ट बनाइरहेको मात्रै हुन्छ ।

बैंकहरुले अपितरिक्त प्रिमियम लिएको भन्दै राष्ट्र बैंकले फिर्ता गर्न लगायो, बैंकहरुले यतिसम्मको बद्मासी गर्ने रैछन् भन्ने विषय त बाहिरियो नि है ?

रेगुलेटरी मिसम्याच छ भने हामी हिजो पनि गल्तिमा सजाय वा कुनै न कुनै जरिवाना शुल्क तिरेका थियौं । हामीले रेगुलेटरी ‘भ्वाइलेन्स’ गर्ने भनेको निर्देशन पालनाभन्दा अलग रहेर काम गर्ने हो । हिजो पनि थियो आज पनि थियो र भोलि पनि हुने कुरा हो ।

अहिले अर्थतन्त्र असहज छ, यस्तो अवस्थामा नेपाल बैंकर्स संघले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्न सकेन भन्ने गुनासो पनि छ नी ?

हामी नियामक भित्र रहेको बैंक हो । हामी कुनै छुट्टै स्वायत्त संगठन भएर फेडरेसन बनेको होइन । हाम्रो नियामक भनेको बोर्डले म्यान्डेट दिएको सीईओहरुको संघ हो । रेगुलेटर फ्रेमभित्र हामी बस्नु पर्ने भएकोले जथाभावि बोल्ने, जथाभावि जुलुस गर्ने, जथाभावि हिड्ने होइन । हामीले सुझाव दिने र निर्देशनको पालना गर्ने हो । सुझाव बेला–बेला दिन्छौं । सुझाव दिएर भएन भने विरोध गर्दै हिड्ने हाम्रो त्यो लेभल होइन । प्रत्यक्ष रुपमा हामीले केन्द्रिय बैंकको रुपमा राष्ट्र बैंकलाई सुझाव दिने हो । अन्य नियमनकारी निकायलाई पनि दिने हो । सरकारसँग बेला–बेला अनौपचारिक वा औपचारिक रुपमा बसेर सुझाव दिने हो । सुझाव दिएर प्रतिक्रियाहरु दिँदै हिड्ने खालको संस्था हाम्रो होइन ।

तपाईं सरकारी लगानी भएको बैंकको सीईओ हुनुहुन्छ, त्यही भएर पनि खुलेर विरोध गर्न नसकेको हो ? निजी बैंक र राष्ट्र बैंकको चेपुवामा पर्नु भएको हो ?

हाम्रो कार्य क्षेत्र तोकिएको छ । एनबिएको क्षेत्र र सीईओहरुको कार्य क्षेत्र आफ्नै छ । जवाफदेही बाहिर गए भने हामी अब्बल हुने भन्ने होइन । जवाफदेही बुझेको हुनाले हामी अब्बल छौं । हामीले के बोल्नु हुन्छ, के बोल्नु हुन्न भन्ने कुरा बुझेका छौं । हामीले बोल्ने कुरा सीमा भित्र बोल्छौं । हामीले दिने कुरा सीमित ठाँउमा दिन्छौं । यो दियौं भनेर हामीले विज्ञप्ति गरेर हिड्ने होइन । दिने ठाउँमा हामीले दिइसकेका हुन्छौं । हामीसँग जे कुरा छ त्यहि दिने हो । अन्य इकाइ जस्तो हाम्रो स्वतन्त्र इकाइ होइन ।

कृषि विकास बैंकमा सीईओ भएर काम गरेको पुस १० गते ४ वर्ष पुग्दैछ, यो ४ वर्षलाई कसरी समीक्षा गर्नु हुन्छ ?

म आइसकेपछि एक/डेढ बर्ष नर्मल थियो । मेरो कार्यकाल केही चुनौतिपूर्ण नै रह्यो । उच्च बेस रेटलाई मार्केट अनुरुप बनाउन सक्षम भएँ । ५१ वर्षमा गरेको पोर्टफोलियो भन्दा ४ वर्षको अवधिमा करिब ७५ प्रतिशत कर्जाग्रोथ गरेका छौं । स्रोतमा पनि वृद्धि गरेका छौं । खराब कर्जाको मात्रा कम गर्न सफल भएको छ । खराब कर्जा १.६८ प्रतिशमा झारेको छ । यद्यपि, यो आर्थिक वर्षमा आएर निष्क्रिय कर्जा बढेको छ । त्यसलाई यही आर्थिक वर्षमा नै घटाउने योजना छ ।

विगतमा राम्रो नाफा गर्दै आएको भए पनि गत आर्थिक वर्षमा पूँजी बजारको सुंकचन वा गिरावटले गर्दा ठूलो मात्रामा (लस बुकिङ) घाटा व्यहोर्नु पर्याे । त्यो हामीले बेचेको भन्दा पनि बुक एकाउण्टलाई रियल प्राइज फेज भ्यालुमा गर्नुपर्ने भएकाले ठूलो लस बुक गर्नु पर्याे । हामीले जे छ त्यहि कुरालाई चित्रण गरेको हो । ग्राहक संख्या म आउँदा ११ लाख जति थिए । अहिले १७ लाख पुगेका छन् ।

डिजिटल बैंकिङ, मोबाइल बैंकिङमा ५ लाख छन् । म आउँदा हजारमा मात्रै थियो । भिजा कार्ड, डेबिट कार्ड, क्यूआर, किसानहरुलाई किसान कार्ड सार्वजनिक वितरण गरेका छौं । अनलाइन बैंकिङ सुरु गर्यौं । देशभरिका शाखालाई अनलाइमा ल्यायौं । विदेशमा नेपालीहरुले खाता खोल्न सक्नुहुन्छ । जे जति बजारमा उपलब्ध हुने वा अरु बैंकले गरेको सबै कारोबारलाई हामीले विस्तार गर्न सफ भयौं । ४ वर्षको नियमित वार्षिक साधारण सभा गर्याैं । औषत २२ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सफल भयौं ।

धेरै किसान, उद्योगी व्यवसायीहरुको ठूलो हिस्सा हामीसँग जोडिएको छ । बैंकिङ व्यवसायलाई सम्पूर्ण कारोबारमा विस्तार गर्याैं । आफ्नै पहिचान पनि दियौं । हामीले मूल्यलाई बजार अनुकुलको प्राइसिङ, कर्जा, निक्षेपको प्राइस ल्याउन सफल भयौं । अझै धेरै गर्न सकिन्थ्यो तर विषम् परिस्थिती आइपर्याे ।

थोरै कर्मचारीमा यति धेरै काम गर्न सफल भएको हुनाले आफ्नो कार्यकालमा पूर्ण सन्तुष्ट छु । सर्वसाधारणलाई देख्न लायकको काम गरेको छु । डिजिटल सिस्टममा छौं । विदेशबाट पनि नेपालीले खाता खोल्न चाह्यो भने खाता खोल्न सकिन्छ । मुद्दती, बचत, चल्ती खाता सबै खोल्न सकिन्छ ।

ग्राहको विश्वास जित्न सफल भएका छौं । सरकारी बैंक भएर पनि हामीले एभरेज (कुनै वर्ष २५, ३०, १५) २२ प्रतिशत बढी लाभांश दिन सफल भएका छौं । नियमित रुपमा वार्षिक साधारण सभा गर्न सफल भएका छौं । अहिले पनि हामीले राम्रो प्रतिफल दिने क्षमता राख्छौं । वितरणयोग्य नाफाको लेभल बढी नै छ ।

कार्यकाल सकिएपछि तपाईंलाई कृषि विकास बैंक वा अन्य बैंकको सीईओका रुपमा देख्न पाउँछौं वा बैंकिङ बाहिरै बस्नुहुन्छ ?

डेभलपमेन्ट जस्तो बैंकलाई वाणिज्य बैंकमा पूर्ण रुपमा रुपान्तरण भयो । सबै शाखाहरु कमर्सियल वा अनलाइन भएको थिएन । सबै ठाउँमा अहिलेका डिजिटल प्रडक्ट पुगेका थिएन । ती सबै हामीले पुरा गरेको हो । जनशक्ति नयाँ आएका छन् । पुराना र नयाँ जनशक्तिलाई मिक्स गर्ने हो भने अब हामी प्रुडेन्ट बैंक बन्ने योजना छ । सिग्निफिकेन्ट ग्रोथ र रिजल्ट ओरिएन्टेड । सबैले कृषि विकास बैंक नै रोज्ने स्थानमा ल्याएका छौं । सबैको पहुँच बढेको छ । सबै कुरा मोबाइलमा दिन सफल भएका छौं । ३४ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको छुँ । यो अनुभवलाई कतै न कतै साट्न योजना बनाइ हाल्छु नी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.