‘हाम्रो लक्ष्य गोकर्णेश्वरलाई व्यवस्थित नगर बनाउने हो, ‘कन्भिन्स’ गरेर काम गर्छौं’

  २०७९ मंसिर २१ गते १५:१४     विकासन्युज

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दिपक कुमार रिसाल गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न रिसालले गरिरहेका छन् । रिसाल शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई व्यवस्थित गरी गोकर्णेश्वरलाई व्यवस्थित सहर बनाउने योजनामा होमिएका छन् । लामो समय गोकर्णेश्वर नगरपालिकामा नै प्रमुख सल्लाहकार बनेर काम गरेका रिसाल नगर भित्र कसरी काम गर्ने ? कुन योजनालाई बढी प्राथमिकता दिने ? नागरिकहरूका समस्या के कस्ता छन् ? लगायतका विषहरुसँग आफु राम्रोससँग जानकार भएको बताउँछन् । उनै मेयर रिसालसँग नगरको विकास, प्राथमिकताका विषय, व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् ।

तपाईं निर्वाचित भएर आएको ६/७ महिना जति भयो, यो अवधिमा के–के काम गर्नुभयो ? सर्वसाधारणले अनुभूति गर्ने खालका काम चए वा भएनन् ?

निर्वाचित भए पश्चात् नगरपालिका भित्र धेरै कामको सुरुवात भएको छ । निर्वाचित भएँ भने यी–यी काम गर्छु भनेर घोषणापत्रमा महत्वपूर्ण २० वटा भिजन तयार गरेको थिएँ । नगरपालिका भित्र बसोबास गर्ने नागरिकहरूको समस्या सम्बोधन गर्दै अगाडि बढेको छु । निर्वाचित हुनभन्दा अगाडि यस पालिकाको प्रमुख सल्लाकार पनि थिए । गोकर्णेश्वर नगरपालिकामा ९ वटा वडा छन् । उक्त वडाका वडा भवनहरू पूर्व मेयरको कार्यकालमा नै तयार भएको थियो । तर, नगरपालिकाको आफ्नै नगर भवन भने तयार भएको छैन । अहिले नगर भवन बनाउने तयारीमा पनि लागिरहेका छौं । जोरपाटी चोकमा नगरको ४ रोपनी जग्गा छ । उक्त जग्गामा २६ वर्षदेखि सानो बजार सञ्चालनमा छ । यसभन्दा अगाडि सो बजारलाई हटाउन सकिएन । सार्वजनिक जग्गामा बसेको तर सम्झौता चाहिँ गाविस हुँदै नगरपालिकाले नै गरेको थियो । एक सय ५८ वटा सटरमा त्यहाँ पसलहरू सञ्चालनमा छन् । निर्वाचित भएको केही महिना पश्चात् म पनि त्यी सटरलाई भत्काइदिन्छु भनेर डोजर लिएर गएको थिएँ । एउटा सटरमा २० देखि २५ लाख रुपैयाँ बराबरको सामान छ । त्यसलाई भत्काएँ पनि पूर्ण क्षति हुन्छ, हामीले लाखौं रुपैयाँको घाटामा बेहोर्नु पर्छ भनेर व्यापारीहरुले मलाई भन्नु भयो । उहाँहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिनुभएको छ । मैले त्यो सटर भत्काएपछि उनीहरूको रोजीरोटी गुम्छ, ठुलो क्षति पनि हुने कुराको महसुस गरेँ । त्यसपछि मैले सटर भत्काउन सकिन डोजर फर्काएँ ।

त्यस पश्चात् मैले नगर भवन पनि बन्ने उनीहरूलाई पनि व्यवस्थापन गर्न सकिने वैकल्पिक उपायको खोजेँ । सोही ठाउँमा चामुण्डा सहकारीको साढे ३ रोपनी जग्गा छ । नगर र सहकारी सहकार्य गरी त्यो जग्गामा सटर बनाउने र व्यापारीलाई त्यहाँ सार्ने निर्णयमा पुग्यौं । सटरमा उहाँहरूलाई व्यवस्थापन गर्ने, त्यहाँ सारेर भाडा नगरपालिकालाई तिर्ने, उठेको भाडा सहकारीलाई दिने भन्ने कुरा भयो । त्यसबापत् नगरपालिकालाई कर पनि आउने भयो । व्यवस्थापन नगरले गरिदिने भएपछि उहाँहरूले पनि सहमति जनाउनु भयो । अहिले सहकारीको जग्गामा सटर तयार भएको छ । व्यापारीहरू नयाँ सटरका सार्ने काम जारी छ । मलाई लाग्छ अहिले ७० प्रतिशत नयाँ सटरको निमार्णको काम सम्पन्न भइसकेको छ ।

सटरका व्यापारीहरुको व्यवस्थापन भएसँगै नगर भवनको काम सुरु गर्ने तयारीमा छौं । नगर भवन कम्प्लेक्सको डिजाइनको हुने छ । नगर भवन बनी सकेपछि माथिल्ला दुई तलामा नगरको कार्यालय हुने छ । तल सटर हुन्छन् । उक्त सटर व्यवसायिक प्रयोजनको लागि दिन मिल्छ । नगर भवन २५ करोड रुपैयाँको लगानीमा तयार हुनेछ । यस्तै, हामीले नगर भित्र विकास निर्माणको काम क्रमिक रूपमा गर्दै जाने सोच बनाएका छौं ।

नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्याउन कस्तो योजना बनाउनुभएको छ, कसरी काम हुँदैछ ?

हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रा कामहरूको सुरुवात गरेका छौं । मैले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर घोषणा पत्रमा पनि धेरै विषयको समावेश गरेको छु । नगरपालिका भित्र नगर अस्पताल तयार भई सञ्चालनमा आइसकेको छ । उक्त अस्पतालको पछाडि सामुदायिक वनको जग्गा छ । धेरै प्रयत्न पश्चात् सामुदायिक वनको नगरले १५ रोपनी जग्गा प्राप्ति गर्यो । हामीले त्यो जग्गामा एक सय बेडको अस्पताल निर्माण गर्ने तयारी गरिरहेका छौं । सो अस्पताल निर्माण गर्नको लागि स्वास्थ्य मन्त्रालय २० करोड र नगरबाट १० करोड गरी जम्मा ३० करोड रुपैयाँको बजेट छुट्याएका छौं । अस्पतालको डीपीआर तयार भइसकेको छ । यसमा पुनः एक चोटि छलफल गरी ठेक्काको आव्हान गर्ने तयारीमा छौं ।

नगर अस्पतालबाट पनि अहिले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य बीमा गर्नको लागि डेढ करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याएका छौं । ६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका ‘क’ र ‘ख’ वर्ग र कृषि कार्ड भएकालाई स्वास्थ्य बीमा गर्नको लागि सो रकम राखेका हौं । नगर भित्र लगभग ५ सय भन्दा बढीसँग कृषि कार्ड उपलब्ध छ । हामीले हालसम्म ३ हजार भन्दा बढीको स्वास्थ्य बीमा गरिसकेका छौं । बीमा गर्ने काम जारी छ । स्वास्थ्य बीमा कार्यक्रमबाट पनि धेरैले लाभ लिनु भएको छ । नगरपालिका भित्र नेपाल मेडिकल कलेज पनि पर्छ । सो कलेजमा उपचार गर्दा यहाँका स्थानीय नागरिकले पैसा तिर्न सकेनौं, शुल्क कम गर्नको लागि भनिदिनु पर्याे भन्दै मलाई फोन आउँन थाल्यो । सबै बिरामीको उपचारमा खर्च कम गरिदिनु पर्याे भनेर मैले भन्ने कुरा आएन । कसरी हुन्छ त्यो कलेजसँग सहकार्य गर्नु पर्याे भन्ने सोच बनाए । र, यस विषयमा कलेजसँग पनि छलफल गरे ।

हामीले कलेजको डाटा हेर्दा ९० प्रतिशत बिरामीको उपचार खर्च एक लाख रुपैयाँसम्म भएको पायौं । र, नगरपालिका भित्र बसोबास गर्ने स्थानीय तथा भोटर लिस्टमा नाम भएकाहरूलाई सो कलेजमा उपचार गराउँदा छुट हुने व्यवस्था मिलाएका छौं । सो कलेजमा एक लाख रुपैयाँसम्मको उपचार गर्दा ७० प्रतिशत रकम नगर र अस्पतालले बेहोर्ने ३० प्रतिशत उहाँहरूले तिर्नुपर्ने व्यवस्था मिलाएका छौं । जुनसुकै बिरामीको उपचार गर्दा पनि ७० प्रतिशत रकम नगरले बेहोर्ने व्यवस्था मिलाएको हो । नगर भित्र यो सेवा केही दिन अघिदेखि सुरु भएको छ ।

यो सेवाको लाभ १/२ जानाले लिइसक्नु भएको छ । यो सेवा भएपछि स्थानीयहरू पनि निकै खुसी भएको पाएको छु । यो हाम्रो स्वास्थ्य क्षेत्रमा गरिएको पहिलो काम हो । यस्ता काम हामी गर्दै जाने छौं । नगरवासीलाई गुणस्तर स्वास्थ्य सेवा दिने हाम्रो प्रयत्न जारी छ । स्वास्थ्यको भवन निर्माण भई सञ्चालनमा आइसकेपछि उक्त सेवा नगरपालिका भित्र बसोबास गर्ने सबैलाई निःशुल्क गरी स्वास्थ्य बीमा पनि गरिदिने सोच बनाएको छु ।

महिलाहरूमा पछिल्लो समय आङ्ग खस्ने समस्या धेरै भएको पाइन्छ । यस कुरालाई मध्यनजर गर्दै नगरपालिकाले मेडिकल कलेजमा नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ । यस्तै, मोती र जल बिन्दु कसैलाई भयो भने पनि उपचार गरी दिन्छौं । आम्दा अस्पताल र नगरपालिका बीच स्तन र पाठेघर क्यान्सरको निःशुल्क परीक्षण गर्ने भनेर सम्झौता भएको छ । हामीले लगभग ६ हजार भन्दा बढीलाई यो सेवा दिइसकेका छौं ।

हामी शिक्षाको स्तरोन्नति हुनुपर्छ भन्ने तर्फ लागेका छौं । विद्यालयका प्राविधिक विषयको पढाई जरुरी ठानेका छौं । प्रत्येक सामुदायिक विद्यालयका एक–एक वटा प्राविधिक विषयको पढाइ हुने व्यवस्था मिलाउने सोचमा छौं । शिक्षाको स्तरवृद्धिका लागि छुटै दरबन्दी गरेर २६ जना शिक्षक राखेका छौं । सरकारी विद्यालयमा यहाँका स्थानीयले आफ्नो छोराछोरी पढाएको म देख्दिन । अब सरकारी विद्यालय पनि सबैको रोजाइको केन्द्र बनाउनको लागि छुटै अवधारणको अवलम्बन गरी काम गर्ने सोचमा छौं । स्थानीयले सरकारी विद्यालयकामा छोराछोरीलाई नपढाए पनि विद्यालयमा विद्यार्थीको चाप बढ्दो नै छ । नगर भित्रका प्रत्यके विद्यालयमा लगभग एक हजार भन्दा बढी विद्यार्थीको संख्या छ । तर, यहाँका स्थानीय चाहिँ पढ्दैनन् । विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थीहरू आएर पढ्नुहुन्छ । यो पनि एउटा राम्रो पक्ष हो । हामीले शिक्षामा राजनीति गर्दैनौं भनेका छौं । जो आए पनि विद्यालयका विद्यार्थी पढ्नु पर्याे ।

गोकर्णेश्वर नगरपालिकालाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के–के योजना बनाउनुभएको छ ?

गोकर्णेश्वरलाई सफा नगरको रूपमा देखाउनको लागि जोरपाटी चोकदेखि यता फुटपाथ बनाउने लगायतका आवश्यक पूर्वाधारको काम भइरहेको छ । ट्राफिक समस्याको समाधानको गर्नको लागि बस व्यवस्थापन भनेर ५० लाख रुपैयाँ बजेट राखेका छौं । अहिले डिभाइडर, लाइट राख्ने काम भइ रहेको छ । स–साना पूर्वाधार तयार गर्दै फोहोरलाई पनि व्यवस्थापन गरी नगरलाई सफा बनाउँदै जाने हो ।

हाम्रो नगरपालिका धार्मिक क्षेत्र पनि हो । यहाँ प्रसिद्ध गोकर्णेश्वर मन्दिर छ । धार्मिक पर्यटनको लागि एकदमै सम्भावना भएको ठाउँ गोकर्णेश्वर हो । नगर नजिकै बौद्धनाथ मन्दिर छ । पर्यटनको लागि सुन्दर ठाउँ भनेको सुन्दरी जल छ । त्यहाँ आन्तरिक वा विदेशी पर्यटनको लागि लक्षित गर्दै होमस्टेहरू पनि सञ्चालनमा आएका छन् । अहिले सबैको रोजाइको केन्द्रमा सुन्दरी जल र तारे भिर पर्छ । काठमाडौंवासीहरू सो ठाउँको उत्पादित खानेकुराहरू खानको लागि रुचाउनु हुन्छ । त्यहाँको स्थानीय उत्पादनसँगै लोकल कुखुरा खान, डाँडाबाट देखिने दृश्यहरूको अवलोकन गर्नको लागि तारे भिर पुग्नु हुन्छ । तारे भिर आन्तरिक र पर्यटनको लागि सम्भावना बोकेको ठाउँ भएकाले आर्थिक उन्नतिको लागि त्यहाँसम्म सहज रूपमा पुग्न सक्ने सडकको निर्माण गर्दैछौं ।

बर्खा लागेसँगै नगरपालिका भित्र ढलको समस्या, डुबान, बाढी पहिराको समस्या हुने गरेको छ, यी समस्याको दिगो व्यवस्थापनको लागि कस्ता योजनाहरू अगाडि सार्नु भएको छ ?

नगरपालिकाले प्राकृतिक प्रकोपका समस्याहरूलाई न्यूनीकरण गर्नको लागि बजेट पनि छुट्याएको छ । नगरभित्र बाढी तथा डुबानको समस्या चुनौतिको रूपमा देखिएको छ । यसको जोखिम न्यूनीकरण तथा दिगो समस्या समाधानको लागि नगरपालिका लागि रहेको छ । पहिला ढल निकास गर्ने पाइप साना साइजका थिए । ती पाइप घरबाट नै निस्किएको पानीले भरिन्छ । ढल पाइप सानो भएको कारणले बर्खा वा पानी परेको समयमा सहज रूपमा पानी निकास हुन सक्दैन । बाटोबाट खोला बगे जस्तो पानी बग्छ । वडा नं. ८ को प्रगति चोक र तरकारी बजारमा पानी पर्दा डुङ्गा चलाउन मिल्ने जस्तो हुन्छ । ढल व्यवस्थापन गरी बागमतीको पाइपलाइनमा जोड्नको लागि २ करोड रुपैयाँ बजेट छुट्टाएका छौं । यो कामको सुरुवात केही समयपछि हुनेछ ।

नगरको पर्ति जग्गा भवन निर्माण लगायतका अन्य प्रयोजनको लागि माग्नु हुन्छ । म चाहिँ त्यस्ता जग्गा दिने पक्षमा छैन । बरु त्यहाँ बिरुवा रोप्ने योजना बनाएका छौं । केही समय अगाडि नगरले ३ सय रोपनी जग्गामा ५ सय वटा लालिगुराँसका बिरुवा रोपेको थियो । बाढी पहिरो नियन्त्रणको लागि पनि बिरुवा रोप्दै जाने छौं । नगरपालिकाको तथ्याङक अनुसार नगर भित्र ४० वटा घर बाढी पहिरोका कारण जोखिममा छन् । सो ठाउँमा अहिले हामीले टेन्डर आव्हान गरेर जोखिम न्यूनीकरणको काम गरिरहेका छौं । यस्ता समस्याको समाधान छिट्टै गर्नेछौं ।

नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन नगरपालिकाले कसरी काम गरिरहेको छ ?

अहिले नगर जग्गा वर्गीकरण गर्नतर्फ लागेको छ । कृषि क्षेत्र र गैरकृषि क्षेत्र जग्गा वर्गीकरण गर्नतर्फ लागेको हो । यस विषयको जिम्मा नगर प्रमुखलाई दिएको छ । तर, मैले यसको जिम्मा वडा कार्यालयलाई दिएको छु । नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्रीको नियन्त्रणको निमित्त एउटा समिति नै बनाएर काम भइरहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउने भनिएको नयाँ सहरको आयोजना काम सुरु भयो भने व्यवस्थित शहरको विकासमा अझै सहयोग पुग्नेछ । यो आयोजनामा समावेश भएका नयाँ शहरहरू हाम्रो नगर भित्र पनि पर्छ । नयाँ शहर बनाउनको लागि प्राधिकरणले नगर भित्रका धेरै जग्गाको कित्ता काट रोकेर राखेको छ । सो स्मार्ट सिटीको काम अगाडि बढ्यो भने पनि धेरै राम्रो हुन्छ । यसले गर्दा व्यवस्थित शहरको विकासमा ठूलो सहयोग पुग्ने छ । नयाँ सहरको काम हुनुपर्छ भन्ने पक्षमा म छु । किन भने ३/४ आना जग्गाको कित्ता काट रोकिन्थ्यो ।

अहिले पालिकाहरूमा फोहोर व्यवस्थापनको विषयलाई ठूलो चुनौतीको रूपमा लिएको पाइन्छ । तपाईंहरुले नगर भित्रको फोहोरलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

हामी पूर्व मेयरको कार्यकालमा नै फोहोरको व्यवस्थापन गर्नुपर्छ भनेर लागेका थियौं । कसरी व्यवस्थापन गर्ने चुनौति छदै थियो । आधुनिक प्रविधिको मेसिन नभई फोहोर व्यवस्थापन गर्न सकिँदैन भन्ने लाग्यो । त्यही शिलशिलामा जापान पनि गयौं । जापान गएर मेशिन ल्यायौं । उक्त मेसिनले फोहोर जलाउने काम गर्छ । फोहोर पनि जलाउँन सुरु गर्यौं । तर, मेसिन राखेको ठाउँका बासिन्दाले विरोध गरे । काम रोकियो । उपयुक्त ठाउँ रोज्न सकस पर्याे । फोहोर सिसिडोल नै गयो । अहिले हामीले मेसिन राख्ने ठाउँको व्यवस्थापन गरिसकेका छौं । केही समयपछि सञ्चालनमा ल्याउने नगरको तयारी छ । त्यो मेसिन सारिसकेपछि सिसिडोल जाने फोहोर जलाएर नष्ट गर्ने योजनामा छौं । कुहीने फोहोर भने आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

सर्वसाधारण भएर यो काम भएन भन्नु र आफै पदमा पुगेर काम गर्नुमा के कस्तो फरक पाउनु भयो ?

पहिला म नगरको सल्लाहकार थिएँ । दिएको सल्लाह अनुसार काम नभएको पनि हुन सक्थ्यो । अहिले नगर प्रमुख छु । निर्णय गरेर कार्यान्वयनमा योजनाहरू लान सक्छु । पदमा भएपछि तुरुन्तै डिसिजन गर्न सकेँ । सल्लाह दिनुमा र आफै काम गर्नुमा धेरै फरक छ । कतिपय कुरामा सल्लाह दिन सजिलो होला काम गर्नको भने समस्या पर्ला । जस्तो मैले नगर भवन बनाउने ठाउँ डोजर लगाएर खाली गरेको भए पनि हुन्थ्यो । अहिले अन्य पालिकामा मारामार छ । मलाई मारामार गर्नु छैन । सबैलाई व्यवस्थित र व्यवस्थापन गरी अगाडि बढ्नु छ । फुटपाथका ठेला–गाडा राखेर व्यापार व्यवसाय सञ्चालन गर्नेहरूको नगर क्षेत्र भित्र पनि बाक्लो नै थियो । मैले ठेला–गाडा हटाइन । तर, हटाउनको लागि समय दिएँ । अहिले नगर क्षेत्र भित्र ठेला–गाडा राख्ने समयको निर्धारण गरेका छौं । बिहान ७ बजे सम्म र बेलुका ७ बजेदेखि ठेला–गाडा राख्ने समय तालिका बनाएका छौं । समय तालिकाको पालना नगरे नगर प्रहरी उठाएर ल्याउनु हुन्छ । यसको पनि हामी बिस्तारै व्यवस्थापन गर्दै जानेछौं । व्यवस्थापन गर्दै जाने, धेरै बल प्रयोग नगर्ने पक्षमा छु ।

ठेला–गाडा सञ्चालन गर्न नपाउँदा उहाँहरूको बालबालिकालाई पढाउन पाएनौं भनेर मलाई फोन गर्नु हुन्छ । म भन्छु–अन्य ठाउँमा सक्दिन सामुदायिक विद्यालयमा म निः शुल्क पढाई दिन्छु । आर्थिक अवस्था कमजोर छ भने बालबालिकाको किताब कापी किन्दे भने पनि म किन्दिन तयार छु । तर, ठेला–गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन । एक जनाले गर्दा १० हजारलाई अवरोध गर्न पाइँदैन भनेर भनेको छु ।

अन्त्यमा, तपाईंको कार्यकालपछि अर्थात् अबको ५ वर्षपछि गोकर्णेश्वर नगरपालिका कस्तो बन्ला ?

यहाँका नागरिकहरूको आर्थिक स्थिति बलियो बनाउने हो । यस नगरपालिका सुन्दर र सफा सहरको रूपमा विकास हुनेछ । खानेपानीको सुविधा सम्पूर्ण घरमा पुर्याउने हाम्रो लक्ष्य हो । मेलम्ची र सुन्दरी जलको पानी यही नगर भएर आउँछ । सुन्दरी जलको पानी नगरको सबै ठाउँमा पुग्छ । जसले त्यो पानी खान पाउनु भएको छैन । त्यसको पनि हामी व्यवस्थापन गर्छौं । एक वर्ष सम्पूर्ण नागरिकहरूको घरमा खानेपानीको व्यवस्थापन गर्ने नगरको लक्ष्य हो ।

खेलकुदको लागि पनि नगरपालिकाले उतिकै चासो दिएको छ । एउटा स्टेडियम निर्माण गर्न ३ सय रोपनी जग्गा छ । त्यसका लागि एक करोड रुपैयाँ छुट्ट्याएका छौं । ३ वटा कभर्ड हल निर्माण गर्ने सोचमा छौं । जस मध्ये सुन्दरी जलमा निर्माण हुने भनिएको कभर्ड हल टेन्डरमा गइसकेको छ । उक्त हल ६ करोडको लगानीमा निर्माण हुने छ । हामी सुविधायुक्त नगर बनाउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.