कतारमा समस्या परेका नेपालीको उद्दार गर्न त्रिपक्षीय सझदारी

  २०७९ मंसिर १६ गते १७:३९     विकासन्युज

काठमाडौं । कतारमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सझदारी भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने गरी सझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने गरी समझदारी पत्र भएको बताइएको छ । यस्तै, नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतमा असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने सहमति भएको छ ।

साथै वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुर्नएकीकरण कार्यमा सहयोग पुग्ने अपेक्षा नेपाल सरकारले गरेको छ ।

हस्ताक्षर गरेको सम्झौता पत्रको समय २ वर्षको हुने छ । साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडी बढाउने सहमति भएको छ ।

पत्रमा तिनै पक्षले आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ । सझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैया कडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.